arrow

सरकारको विकल्प एमाले भन्ने विषय छायाँमा परेको केपीको ठम्याइ, रीस रास्वपा र राप्रपामाथि  

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
kp-sharma-oli-2080-01-28.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी सरकारको चिन्ता देखिएको छ । लामो समयपछि बसेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा राप्रपा र रास्वपाको अस्वभाविक उदयले अहिलेको सरकारको विकल्प एमाले हो भन्ने विषयलाई छायाँमा पारेको उल्लेख गर्दै आगामी सरकारको चिन्ता गरेका हुन् । 

उपनिर्वाचन परिणामले वर्तमान सत्ताको विकल्प एमाले हो भन्ने तथ्य खण्डित हुन पुगेको ओलीको निष्कर्ष रहेको छ । उनले राजनीतिक प्रतिवेदनमा बारा २, चितवन २ र तनहुँ १ मा भएको निर्वाचनमा एमालेले संख्यात्मक क्षति नब्यहोरे पनि वर्तमान सत्ताको विकल्प एमाले हो भन्ने ‘निर्विवाद तथ्यमा प्रश्न उठेको उल्लेख गरेका छन् । 

उपनिर्वाचनमा एमालेको मत घट्नुको कारणको खोजी गर्न पनि उनले मातहतका कमिटीलाई निर्देशन दिएका छन् ।  उनले नवोदित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई लोकरिझ्याइँको राजनीति गरेको विचारविहीनको संज्ञा दिएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको मत बढ्नुको कारण सामाजिक असन्तुष्टिको लाभ उठाएको ओलीको बुझाइ छ । ‘निर्वाचनबाट परम्परावादी–दक्षिणपन्थी शक्तिले पनि संसदमा आफ्नो उपस्थितिलाई उल्लेख्य ढंगले बढाएका छन् । 

पछिल्ला दिनमा जबर्जस्ती धर्मान्तरणले सिर्जना गरिरहेको सामाजिक असन्तुष्टि, प्रदेशहरूमा देखिएको बेथिति र राजनीतिक अस्थिरताको विषयलाई मुद्दा बनाएर यो शक्ति हिन्दू राज्य, संघीयताको खारेजी र राजसंस्था पुनःस्थापनाका मागमा अघि बढिरहेको छ,’ ओलीले प्रतिवेदनमा भनेका छन् ।

ओलीको प्रतिवेदन पढ्दा उनी सत्ताबाट बाहिर आउँदाको छटपटीलाई स्पष्ट पारेका छन् । उनी कसरी हुन्छ सत्तासँग नजिक रहन चाहन्छन् । अर्थात् सरकार सञ्चालनको प्रकृया सहभागी हुन चाहन्छन् । 

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने छ । बिहीबारबाट  शुरु भएको केन्द्रीय कमिटीको बैठक शनिबारसम्म चल्नेछ । केन्द्रीय समिति बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए । 

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार बिहीबार पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन शुक्रबार प्रस्तुत गरिनेछ  । त्यसपछि प्रतिवेदनउपर समूहगत छलफल हुनेछ । एमालेले बैठकमा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा। पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्नो आयोगका प्रतिवेदन पेस गरेका छन् । 

यस्तै मिसन ग्रासरुटका विषयमा भूगोलका पाँच प्रदेशका संयोजकहरूले पनि प्रतिवेदन पेस गरेका छन् । जसमध्ये सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन पेस गरेका छन् । यस्तै गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वयन कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले शुक्रबार पेस गर्ने छन् । 

यी प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिने प्रचार प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए । समूह छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव पेस गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ