- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला मिसन ग्रास रुट अन्तर्गत आएका सुझावको बारेमा गम्भीर रुपले छलफलको तयारी भएको छ ।
पार्टीको तल्लो तहबाट आएको सुझावलाई केन्द्रीय कमिटीले त्यसलाई छलफलको विषयमा मात्र बनाएको छैन, भोलिका दिनमा एमालेले लिनुपर्ने बाटोसमेत तय गर्नुपर्ने भएकाले पनि छलफल गहन ढंगले अघि बढ्ने नेताहरुले बताएका छन् ।
खासगरी मुलुकमा नयाँ पार्टीको उदय भएपछि मुलुकका दुई ठूला दल एमाले–कांग्रेसले धक्का महसुस गरेका बेला एमालेले तल्लो तहसम्म पुगेर सुझाव संकलन गरेको थियो ।
त्यस क्रममा तल्लो तहका नेता-कार्यकर्ताले पार्टी ‘केन्द्रका नेताबाटै बिग्रिएको र नेताहरु नै बढी पारदर्शी, शुद्ध र नैतिकवान हुनुपर्ने सुझाव दिएका छन् । संगठन सुदृढीकरण र चुनावको तयारीका लागि चलाएको ‘मिसन ग्रासरुट’ अभियानमा ठूलो संख्यामा सुझाव आएको नेताहरूले बताएका छन् ।
फागुन पहिलो साताबाट थालिएको अभियान २३ बैशाखमा सकिएको थियो । त्यस लगत्तै बिहीबारबाट केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर पार्टीको के कस्तो अवस्था छ भनेर अध्ययन गर्न र भावी निर्वाचनलाई लक्षित गरेर पार्टीका सबै शीर्ष नेताहरुलाई तल्लो कमिटीसम्म पठाएका थिए ।
अभियानका क्रममा करिब एक लाख सुझाव आएका छन् । हिजो केन्द्रीय कमिटीमा पेश भएको सुझावले पार्टीका शीर्ष नेताहरुलाई पारदर्शी हुन सुझाव दिएको स्रोतको दाबी छ ।
तल्लो तहले दिएको सुझावकै आधारमा पार्टीको भावी कार्यक्रम तय गर्ने एमालेको योजना छ । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा बनेको नयाँ समीकरणले सत्ता–राजनीतिबाट बाहिरिए लगत्तै एमालेले पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा तीन सय ६० केन्द्रीय नेता जिल्ला–जिल्लामा परिचालन गर्ने गरी ‘मिसन ग्रासरुट’ अभियान शुरु गरेको थियो ।
तत्काल सत्तामा फर्कने बाटो बन्द भएपछि एमाले नेतृत्वको नजर र कोसिस बलियो संगठन र सम्भावित मध्यावधि निर्वाचनको तयारीतिर केन्द्रीत देखिन्थ्यो । तर उपनिर्वाचन परिणामले एमालेलाई मध्यावधि निर्वाचनमा जान झस्काएको छ ।
मंसिरको निर्वाचनमा एक्लै बहुमत ल्याउने एमालेको मिसन भने फेल भएको थियो । ओलीको प्रस्तावमा १० पुसमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड अन्ततः पुरानै गठबन्धनतिर फर्किँदा ६३ दिन सरकारमा बसेर एमाले बाहिरिएपछि कुनै पनि बेला मध्यावधि निर्वाचन हुनसक्ने एमालेको बुझाइ थियो ।
एमाले नेताहरूले अभियानलाई २०७५ मा पार्टी एकता र नेकपा एकीकरण भङ्गसँगै भद्रगोल र अराजक बनेको संगठनलाई पुनःव्यवस्थापन गर्ने, पार्टीलाई पुरानै लयमा फर्काएर बलियो बनाउने र त्यसकै जगमा अर्को चुनावको तयारीमा लागेको बताउँदै आएका छन् ।
१७ चैतमा कैलालीमा आयोजित कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेलले एमाले मिसन ग्रासरुटमार्फत अर्को चुनावको तयारीमा केन्द्रित भएको खुलासा गरेका थिए ।
‘अहिले म तिथिमितितिर जान्नँ । यति भनेँ कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो,’ उनको भनाइ थियो, ‘हामी अहिले आउने चुनावमा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा लागेका छौँ ।’
सात सय ५३ वटा पालिकाबाट कार्यकर्ता र जनताको तहबाट करिब एक लाख सुझाव आएको छ । त्यसलाई आधार मानेर पार्टीले भावी दिनमा कार्यक्रम तय गर्ने भएको छ ।
एमाले पोलिटव्यूरो सदस्य ठाकुर गैरेका अनुसार पालिकास्तरमा पाँचवटा मुख्य समस्याको पहिचान गरिने र त्यसमध्ये पनि प्राथमिकताका आधारमा समस्या पहिचान गरिएका छन् ।
भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य, किसानको समस्या र सेवा प्रवाह सुशासनसँग सम्बन्धित समस्याबारे हरेक पालिकामा जनताबाट सुझाव लिइएको छ । स्थानीय बुद्धिजीवीहरूसँग बेग्लै भेटघाट र अन्तरक्रिया गरेर कम्तीमा त्यस क्षेत्रको तीनवटा सुझाव लिइएको छ । यसरी आएका करिब एक लाख सुझावलाई ध्यानमा राखेर पार्टीले यो वर्षका लागि कार्यक्रम बनाउने पनि केन्द्रीय कमिटी बैठकको उद्धेश्य रहेको छ ।
अभियान लिएर गाउँ पसेका नेतालाई एमाले कार्यकर्ताले केन्द्रीय तहमै शुद्धीकरण अभियान चलाउन सुझाव दिएका थिए । ग्रासरुटमा खटिएका नेताहरूका अनुसार केन्द्रीय कमिटी र त्यसभन्दा माथिका तहका नेतामा व्यक्तिवाद, महत्वाकांक्षा, अवसरवाद देखिएको, पार्टीमा गुटबन्दी झाँगिएको, नेताहरूले गुट बनाएर पार्टीलाई कमजोर बनाउने गरेको, नेताहरूकै कारण पार्टी विभाजित भएकाले पहिले केन्द्रीय तहबाट शुद्धीकरण अभियान चलाउनुपर्ने सुझाव दिएको स्रोतको दाबी छ ।
ग्रासरुटमा खटिएका थुप्रै नेताले पार्टीले टोलसम्म राजनीतिक प्रशिक्षणसहित संगठन पुनःव्यवस्थित गर्ने अभियान चलाए पनि माथिबाटै शुद्धीकरण भएको अवस्थामा मात्र पार्टी बलियो बन्ने सुझाव दिएको छ ।
पार्टीका तलका कमिटीहरू नियमित, व्यवस्थित र संस्थागत छैनन्, विधानसम्मत छैनन् । बैठकहरू नियमित बस्दैनन्, असंगति छ । लामो समयदेखि पार्टीको आन्तरिक जीवनमा सैद्धान्तिक र वैचारिक काम ठप्प हुँदा पार्टीपंक्तिमा अलमल छ भन्ने जस्ता सुझाव आएको स्रोतको दाबी छ । जनताको एजेन्डामा केन्द्रित भएर जनसंघर्षको काम अगाडि बढेका छैनन्, संगठन संस्थागत छैन , जसले गर्दा नीतिका हिसाबले अब के गर्ने अलमल छ, त्यसमाथि गुटबन्दी भएको र ग्रासरुट अभियानमा यी सबै पक्ष सुधार्नुपर्ने कार्यकर्ता र मतदाताबाट सुझाव आएको पनि स्रोतले जनाएको छ ।
अभियानमा राजनीतिक र सांगठनिक कामलाई प्राथमिकताका साथ निरन्तर चलाउनुपर्ने सुझाव आएको नेता–कार्यकर्तामा सामूहिक भावनामा कमी देखिएको छ, परिभाषित काम नगर्ने, अवसर र पद प्राप्तिका लागि मरिहत्ते गर्ने, नेताहरूको परिक्रमा गरेर पद हत्याउने, जनसंगठन सामुदायिक मुद्दाबाट अलग हुने, तर संसदीय अवसरवाद हावी हुँदा गैरसंसदीय फाँटको काम कमजोर बनेको अनुभूति भएको जस्ता सुझाव आएको भन्दै विहिबार प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख भएको स्रोतको दाबी छ ।