arrow

केपी ओलीले मदन भण्डारी हत्याको राजनीति गर्न अझै छाडेनन्, भन्छन् – अब खोजबिन हुन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
kp-sharma-oli-2080-02-03.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मा दिने कुरा भएको बताएका छन् । 

बल्खुमा आयोजित ३० औं मदन आश्रित दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विराटनगरका उमेश गिरीलाई हत्या गर्ने जिम्मेवारी दिन खोजिएको खुलासा गरेका हुन् ।

‘मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँ (मदन–आश्रित) हरूको हत्या भएको थियो । त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तवार्ता दिनुभएको छ, केही अगाडि । उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो,’ ओलीले भने, ‘नाम तोकेर भन्नुभएको छ, फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर, यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’

विराटनगरका ‘डन’ गिरी हालै जेलमुक्त भएका छन् । उनीसँग मदन भण्डारीको हत्याको योजनाका बारेमा आएको प्रस्तावको खोजी गरेमा अपराधी नजिकसम्म पुग्न सकिने ओलीले जनाएका छन् ।

महान सपना बोकेर पनि तीनलाई पूरा गर्न नपाउँदै हत्या गरिएका मदन भण्डारी आदर्श व्यक्ति भएको ओलीले जनाएका छन् । उनले मदन भण्डारीले प्रतिपादित गरेको जनताको बहुदलीय जनवाद (जबज) ले विश्व कम्युनिष्ट आन्दोलनलाई नै सही बाटो देखाउन सफल भएकोसमेत जनाएका छन् । 

मदन र विद्या

किन खुलेन दुर्घटनाको रहस्य ? 
नेपाली राजनीतिका चर्चित व्यक्तित्व मदन भण्डारीको निधन भएको ३० वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । 

राजनीतिको निकै नै उच्चतम बिन्दूमा आएका बेलामा र जनताले निकै आशा गरिरहेका बेलामा अचानक तिनै भरोसालायक र नीतिमा स्पष्ट राजनेताको पोखरामा भएको महिला संगठनको कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा चितवनको दासढुंगामा जीप दुर्घटनामा परेर निधन भएको थियो । 

उनको दुर्घटनामा परेर निधन भएको सत्य हो । दुर्घटना भएको सत्य हो । त्यो दुर्घटना नियोजित थियो वा भवितव्य त्यो अहिलेसम्म भने खुलेको छैन । 

मदनकी पत्नी विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भइन् । उनलाई साथ दिने केपी शर्मा ओली दुई पटक प्रधानमन्त्री भए । नियोजित अर्थात् हत्या हो भने सबैभन्दा ठूलो पदमा रहेकाहरुले जसरी पनि पत्ता लगाउन सक्छन् । 

नेपाली राजनीतिमा दबाबले पनि काम गर्छ । यदि हत्या हैन भने पनि धेरैका अभिष्टहरु पूरा भएका छन् । अब सत्यतथ्य बाहिर आउनु पर्छ । तीन दशक भइसक्यो अब कहिले ? 

मदन भण्डारीको नाम बेचियो
मदन भण्डारीको पार्टी नेकपा एमालेले २०५० सालदेखि अहिलेसम्म एमालेले मदन भण्डारीको नाम बेचिरहेको छ । बहुदल आइसकेपछि एकाएक सर्वसाधारणको समीपमा रहेर नेकपा मालेका पूर्व महासचिव मदन भण्डारीले भाषण गर्दा यस्तो लाग्थ्यो कि नेपालमात्र होइन विश्वलाई नै समृद्ध पार्न भगवानले नै उनलाई यो धर्तीमा पठाएका हुन् । मदन भण्डारी हुँदा एक गासमात्र खाएका गरीवगुरुवाले पनि हाँसुीखुशी उनलाई आशीर्वाद दिन्थे । 

मदन भण्डारी विचारलेमात्र होइन व्यवहारले पनि अब्बल थिए । सादा जीवन उच्च विचार उनको नीति नै थियो । उनले तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच राखेर मैदानमा आउने हो भने चुनावमा जितेर देखाइदिने भाषण गरेर सबै नेताहरुको ध्यान आकृष्ट गर्न सफल भएका थिए । 

उनको वाहीवाही सम्भवतः कसैलाई पच्ने अवस्थाकै थिएन । उनी तिनै मदन भण्डारी थिए जसले ०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई ७५१ मतले हराएर तत्कालीन काठमाडौं क्षेत्र नम्बर १ बाट सांसद बन्न सफल भएका थिए । 

भट्टराईको ओज त्यतिबेला निकै चुलिएको थियो । ०४६ चैत २६ गते बहुदल आइसकेपछिका अन्तरिम प्रधानमन्त्री बनेका भट्टराईकै नेतृत्वमा नेपालको संविधान २०४७ आएको थियो । 

त्यो संविधानलाई लामो समयसम्म विश्वकै उत्कृष्ट संविधान भन्दै आएको अवस्था थियो । तिनै भट्टराईलाई हराएर मदन भण्डारीले आफ्नो ओजलाई झनै बढाएका थिए । 

तिनै मदन भण्डारीको ओज र उनको ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तले जरो गाड्दै गइरहेको थियो । यस्तो लाग्थ्यो नेपालको सबैभन्दा शिखरमा एक दिन उनै पुग्नेछन् । 

मदन भण्डारीसँगै एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भयो । आश्चर्य रुपले जीपका चालक दुर्घटनाबाट बाँच्न सफल भए । 

त्यो घटनाले कम्युनिष्टमात्र होइन देशमा विकास चाहने हरेक दलका नेतालाई झस्कायो । पत्याउने गाह्रो भयो । उनलाई दैवले नै चुँडेर लग्यो । अल्पायुमा उनको निधन स्वभाविक थिएन । 

कसैलाई पनि विश्वास लागेन कि त्यो दुर्घटना भवितव्य थियो । अधिकांशलाई लाग्यो त्यो दुर्घटना गराइएको थियो । 

एमालेले सरकारलाई छानबिन गरी सत्यतथ्य पत्ता लगाउन दबाब दियो । एमालेले तत्कालीन सरकारको नेतृत्व गरिरहेको काँग्रेसलाई नै हत्याको दोष लगायो । सरकार नै हत्यामा सामेल भएको आरोप काँग्रेसले बेहोर्यो । 

तर अर्को वर्ष नै एमालेको सरकार आयो । एमालेले अब त सरकारमा भएपछि मदन भण्डारी र जीवराज आश्रितका हत्यारा पत्ता लगाउला भन्ने अनुमान ‘अबुझ’ जनताले सोचे । 

सरकारमा भएका बेलामा एमालेले यो कुरालाई उठाउने कष्ट नै गरेन । त्यसो त त्यतिबेला हत्याको छानबिन गर्न केपी शर्मा ओलीको अध्यक्षतामा आयोग नै गठन भयो । 

त्यो आयोगले भलै सरकारबाट सहयोग नभएको आरोप लगायो काम भने गर्न सकेन । अर्थात् यो विषयलाई राजनीतिक मुद्दामात्र गराइयो । 

नेपाली सर्वसाधारण त्यतिबेला अझ बढी झस्किए जतिबेला चालक अमर लामाको पनि रहस्यमय तरिकाले हत्या भयो । ०६० सालमा अमर लामालाई मारियो । 

अमर लामा नै चालक थिए उक्त दुर्घटना हुँदा । ०६० सालसम्म अर्थात् १० वर्षसम्म जीवित हुँदा उनले कतै पनि त्यो घटनाबारे साँचो कुरा बताएनन् । रहस्य खुल्ने खतराले लामाको हत्या गरिएको भन्ने पनि आयो । 

तिनै लामाका हत्यारा पनि अहिलेसम्म पत्ता लाग्न सकेनन् । तीनै जनाको मृत्यु रहस्यमयी भइरहेको छ । तर शंका उपशंका भने पहिलेदेखि नै गर्दै आरोप प्रत्यारोप लाग्दै आएको छ । विशेषगरी एमालेभित्रै पनि शंका गर्दै नेताहरुले आपसमा हिलो छ्याप्ने काम गरेकै हुन् । 

३० वर्षसम्म पत्ता लाग्न नसकेको हत्याराको कुरो अब पत्ता लाग्ने सम्भावना विरलै छ । दुर्घटना नै थियो भने अमर लामालाई किन चुप लाग्न लगाइयो ? हत्या थियो भने किन खुल्न सकेन ? के हत्याराहरु अहिले पनि स्थायित्वमै छन् त ? 

प्रश्न विद्यादेवी भण्डारीलाई 
०३९ सालमा तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसँग विद्याले भूमिगत अवस्थामै विवाह गरेकी थिइन् । उनका दुई छोरीहरु पनि छन् । जेठी छोरी उषाकिरण र कान्छी निशाकुशुम हुन् । 

विद्यादेवी राजनीतिक रुपले अग्रस्थानमा थिइनन् । तर मदन भण्डारीको निधनपछि उनी अगाडि आइन् । उनी शोकमै रहेका बेलामा काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा उम्मेदवार भइन् । 

प्रतिद्धन्द्धी फेरि पनि कृष्णप्रसाद भट्टराई नै भए । तर जितिन् विद्याले । त्यसपछि विद्याले कहिल्यै पछाडि फर्कन परेन । निरन्तर उनी एमालेको नेतृत्व तह वरिपरि रहिन् । महिला संगठन प्रमुख भइन् । पार्टीको उपाध्यक्ष भइन् । राष्ट्रपति पनि भइन् । 

विद्या दुई पटक राष्ट्रपति भइन् । उनको जस्तो अवसर नेपालको कुनै पनि व्यक्तिले पाउन सकेको छैन । उनी मुलुकको सर्वोच्च स्थानमा रहँदा पनि उनका पतिका हत्यारा पत्ता लगाउन सकिएन । 

विद्याले जहिल्यै दुःखेसो पोख्ने गर्छिन् कि मदन भण्डारीको हत्या नै भएको हो । यदि हत्या भएको हो भने सर्वोच्च पदमा भएको व्यक्तिले यो घटनालाई पत्ता लगाउन किन संयन्त्र प्रयोग गर्न सकेन । 

०५० सालमा जुन घटना भयो त्यतिबेला सरकार एमालेको थिएन । त्यसैले सहयोग भएन होला अनुसन्धानका लागि त्यसपछि पटक पटक सरकार एमालेका बने । खोइ त ? अब त एमालेलाई प्रश्न गर्ने बेला आएको छ खोइ त मदन भण्डारीका हत्यारा पत्ता लगाउन पर्दैन ?

तिनै मदन भण्डारीको नीति र व्यक्तित्वकै कारण विद्यादेवी राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिन् । तर आज तिनै विद्याले हत्यारा पत्ता लगाउनका लागि कुनै पहल नगर्नु राजनीति शिवाय के हुन सक्ला ?

विद्या दुई पटक राष्ट्रपति भइसकेपछि के मदनलाई भुलेकै हुन् ?

केपी शर्मा ओलीलाई प्रश्न 
केपी शर्मा ओली मदन भण्डारीको दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिका अध्यक्ष हुन् । उनले केही पनि पत्तो लगाएनन् । केवल असहयोगी दोष तत्कालीन कांग्रेस सरकारलाई लाग्यो । जबकि कांग्रेसले केही गरेजस्तो कतैबाट पनि आएन । 

तर मदन भण्डारीका हत्यारा पत्ता लगाउन भन्दै दवावस्वरुप संसद अवरुद्ध गर्नेदेखि सडक तताउनेसम्मको काम एमालेले गरेको थियो । 

आजको दिनसम्म आइपुग्दा एमालेका चार जना त प्रधानमन्त्री नै भए । स्वर्गीय मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली । 
माधव र झलनाथले त एमाले पनि छाडेर अहिले नेकपा एकीकृत समाजवादी पार्टी खोलेका छन् । यी दुवैले अझै पनि मदन भण्डारीलाई आदर्श नै मान्छन् । 

केपी ओली प्रधानमन्त्री भएपछि यो घटनालाई उजागर गर्छन् कि भन्ने लागेको थियो । त्यो सम्भावना उनले पनि ल्याएनन् । ओली दुई पटक प्रधानमन्त्री भइसकेका छन् । उनले अझै पनि हत्यारा पत्ता लगाएरै छाड्ने बताउन छाडेका छैनन् ।  

आखिर के यो पनि राजनीतिकै पाटो हो त ? होइन भने ओलीलाई दुई पटक राज्यको कार्यकारी हुँदा कुन शक्तिले रोक्यो हत्यारा पत्ता लगाउन ? होइन भने मदन भण्डारीको नाम जोडेर राजनीति गर्न अब बन्द पो गर्ने हो कि !

जेठ ३ आउँदा मदन भण्डारीको जनताको बहुदलीय जनवाद जबजले ठाउँ पाउँछ । एमालेका नेताहरु फेरि मदनलाई सम्झिरहेका छन् । तर हत्यारा कहिले पत्ता लाग्छ ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ