arrow

यार्सागुम्बा संकलन गर्न खुले मुगुका पाटनहरु

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८० जेठ ६ शनिबार
yarsha-collection-mugu.jpg

मुगु । मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ्ग गाउँपालिकाका विभिन्न  वन क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनको लागि शुक्रबारदेखि वन प्रवेश खुल्ला गरिएको छ । 

यार्सागुम्बा संकलनका लागि जिल्लाबासी र बाहिरी जिल्लाहरुबाट आउने सर्वसाधारणलाई वन प्रवेश खुलाइएको हो । 

वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताहरुले मात्र वन प्रवेश अनुमति पाउने मुगुमकार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए । 

यार्सागुम्बा संकलनका लागि पाटन क्षेत्रमा प्रवेश गर्न आउनेहरुमध्ये जिल्ला भित्रका संकलकहरुलाई प्रतिब्यक्ति २ हजार र बाहिरी जिल्लाका संकलक प्रति व्यक्ति २ हजार ५ सयका दरले कर गाउँपालिकाले तोकेको छ । 

गाउँपालिकाको वडा नं १ र २ मा पर्ने वन तथा पाटन क्षेत्रहरु रिमाड, ठूलो कुइकी, सानो कुइकी, च्यार्खुलेख, छापाखोला, टाँकेमा बढी यार्सागुम्बा पाइन्छन् । 

मुगुमा रहेका दर्जन बढी पाटनहरुमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाभरका स्थानीयका साथै छिमेकी जिल्लाहरु जुम्ला, कालिकोट,बाजुरा, हुम्लाबाट पनि सयौँ जना आउने गरेका छन् । 

कर्णालीबासीलगायत मुगालीहरुको बर्सेनि खर्चको स्रोतका रुपमा रहेको यार्सागुम्बा विगत २ वर्षयता कोरानाले गर्दा संकलन तथा बिक्री बन्द हुँदा स्थानीयहरु आर्थिक समस्या झेल्दै आएका थिए । 

चीनसँग जोडिएको नाक्चेलाग्ना नाका नेपाल सरकारले पूर्णरुपमा खोल्न प्रयास नगर्दा संकलक तथा व्यापारीहरुले समयमै यार्साको उचित मूल्य पाउन सकिरहेका छैनन् ।  

एक महिना यार्सा संकलन गरे पनि संकलक तथा व्यापारीहरुले साउन महिनाको अन्तिम साताबाट चीनबाट ह्याजिमारमा लाग्ने हाट बजार खोल्दासम्म पर्खनु पर्ने बाध्यता छ । 

उच्च हिमाली क्षेत्र, अक्सिजनको कमी, छिनछिनमा परिरहने हिउँ र चिसोका कारण बर्सेनि पाटन क्षेत्रमा दर्जन बढीको मृत्यु हुने गरेपछि यो वर्षदेखि गाउँपालिकाले कर तिरेर वनक्षेत्रमा प्रवेश गर्ने संकलकहरुको दुर्घटनामा परे उपचार र मुत्यु भए परिवारलाई राहत पुगोस् भनेर यार्सा बिमा गरिदिएको छ भने पाटन क्षेत्रमा कुनै दुर्घटना भए समयमै उद्धार, आपराधिक समूहलाई नियन्त्रण गर्न विगत वर्षहरु भन्दा बढी सुरक्षाकमीहरु खटाइएको छ । 


यो सिजनमा मुगुका गाउँ गाउँबाट तन्नेरी उमेरकादेखि ६० वर्ष सम्मका सबै यार्सागुम्बा टिप्न पाटनक्षेत्रतिर जाँदा गाउँघरमा बालबालिका र जेष्ठ नागरिकहरुमात्र देखिने गर्दछन् ।

मुगुका पाटनहरुमा पाइने यार्सागुम्बा ३ गुणस्तरका पाइन्छन् जसलाई स्थानीयहरु छुटाउन १,२,३ नम्बरका भन्ने गर्दछ । यो वर्ष पाटनहरुमा १ नम्बरको ७ सय, २ नम्बरको ४ सय र ३ नम्बरको यार्साको रेट २ सय रहेको यार्सा व्यापारी तथा मुगु गाउँका स्थानीय र्छोतेन लामाले बताए । 

उनले भने, ‘यो रेट पाटनमा यार्सा संकलकहरुबाट खरिद गर्दा पर्ने मूल्य हो यहाँबाट व्यापारीहरुले काठमाडौं, पोखरा, नेपालगञ्जग र विदेशतिर लैजाँदा कति मूल्यमा बिक्री गर्छन् त्यो आफूहरुलाई थाहा हुँदैन ।’

पाटनहरुमा यार्सा संकलन गर्न पुगेका संकलकहरुले संकलन अवधि १ महिनाभित्र यार्सा संकलनबाट न्यूनतम १ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ