arrow

वीपी र पुष्पलालको पूर्णकदको सालिक एकै स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
bp-koirala-11.jpeg

झापा ।  मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक अनावरण गरिएको छ । 

वीपी-पुष्पलाल बाटिका तथा सहिद स्मृति प्रतिष्ठानले सालिकको निर्माण गरेको हो । आइतबार साँझ दुवै महापुरुषको सालिक अनावरण गरिएको हो । देशका प्रथम निर्वाचित प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको पूर्णकदको सालिक पहिलो पटक एकै ठाउँमा स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष रामबहादुर तामाङले बताए । 

सालिकको अनावरण गर्दै मेचीनगर नगरपालिका प्रमुख गोपाल बूढाथोकीले नेपालको इतिहास बोकेका दुईविपरीत विचारका महान नेताहरूको यो सालिकले विशेष महत्व राख्ने बताए । कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्य, प्रदेश एकका निवर्तमान प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीलगायतले वीपी-पुष्पलाल बाटिका र सहिद उद्यानका बारेमा चर्चा गरेका थिए ।

विसं २०४८ देखि शीर्ष व्यक्तित्वको नाममा बाटिका स्थापना गरिएको थियो । हरेक वर्ष वीपी-पुष्पलाल बाटिकामा नेपाली कांग्रेस र नेकपा (एमाले)ले उनीहरूको स्मृतिमा वृक्षरोपण गर्दै आएको छ ।

वडा नम्बर ६ को कार्यालय नजिकै रहेको १२ कठ्ठा जग्गामा फैलिएको सालिक तथा पार्क निर्माणका लागि पर्यटन कार्यालय काँकडभिट्टाले रु चार लाख ६० हजार, मेचीनगर-६ वडा कार्यालयले रु ५० हजार, मेचीनगर नगरपालिकाले रु एक लाख ८० हजार, कोशी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट रु ३५ लाख ८६ हजार र अध्यक्ष तामाङले रु दुई लाख ५८ हजार खर्च भइसकेको छ ।

उद्यानमा मुख्य बाटोको दुवैतर्फ फूल रोप्ने, ड्रेन निर्माण, बाटोमा टायल्स र मार्बल लगाउने, मेरो काँकडभिट्टा लेखन, बेञ्च निर्माण, सिँढी निर्माण, म्युजिक सिस्टम जडानले आन्तरिक तथा बाह्य पर्टकको मन लोभ्याउने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ