arrow

विपद् न्यूनीकरणका लागि सेनाको भूमिका प्रशंसनीय : मुख्यमन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का घटना न्यूनीकरण, खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका उच्च प्रशंसनीय रहँदै आएको बताएका छन् । 

गण्डकी प्रदेश सरकार र नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर तथा व्यास नगरपालिका-५ स्थित कालीभञ्जन गण (ई) को आयोजनामा आज व्यास नगरपालिका-१० मादी नदीमा आयोजित विपद् नमुना अभ्यास ‘अभ्यास गण्डक उद्धार-१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्का घटनामा प्रतिकार्यका लागि सुरक्षाकर्मी, विभिन्न सरोकारवाला निकाय र स्थानीयवासीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । 

मुख्यमन्त्री पाण्डेले नेपाली सेनाको उच्च जनशक्ति, कुशल व्यवस्थापन, पूर्वतयारी, तैनाथी, स्रोत र साधन तत्काल परिचालनले विपद् न्यूनीकरणमा नेपाली सेना सशक्त रहँदै आएको इतिहासले पुष्टि नै गरेको बताए । 

उनले भने, “विसं २०७२ को भूकम्प होस् वा विमान दुर्घटनामा नेपाली सेनाको प्रदर्शन उच्च र प्रशंसनीय रहेको छ । विपद् प्रतिकार्य कुनै व्यक्ति वा संस्थाले मात्र गरेर सम्भव छैन, यसका लागि सामूहिक प्रयास आवश्यक छ ।”

विपद् व्यवस्थापनमा प्रदेश सरकारले समन्वयात्मक र अभिभावकीय भूमिका निर्वाह गर्दै आएकाले यसमा प्राथमिकता दिएर बजेट विनियोजन गरिएको मन्त्री पाण्डेले उल्लेख गरे ।

नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति एवं उपरथी दीपक बानियाँले नेपाली सेनाले प्राकृतिक घटनामा जनताको जिउधनको सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गरे । 

गण्डकी प्रदेशमा विगत तीन वर्षमा बाढीपहिरो, आगलागी र हिमपहिरोबाट दुई सय १८ जनाको मृत्यु भएकाले यस प्रदेश विपद् जोखिमको सूचीमा परेको उनले उल्लेख गरे । 

प्रतिकार्य योजना बमोजिम नेपाली सेनाले सबैसँगको समन्वयमा विपद्का घटनामा सहयोग पुर्याउँदै आएको बताउँदै उपरथी बानियाँले गत आर्थिक वर्षमा १८ वटा सचेतनामूलक अभ्यास सञ्चालन गरिएको जानकारी दिए ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विपद्का घटना न्यूनीकरण सबैको सामूहिक प्रयासबाट सम्भव हुने बताए । 

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले तनहुँ जिल्ला विपद्को सूचीमा अग्रस्थानमा रहेकाले नमूना अभ्यासले पनि विपद् जोखिम न्यूनीकरणमा सहयोग मिल्नेमा जोड दिए ।



नयाँ