arrow

एमालेले सत्तरी वर्षे पर्खाल भत्काएपछि बामदेव दङ्ग, ओली स्वागत गर्न आतुर [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
kp oli.jpg

काठमाडौं ।  राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतम नेकपा (एमाले) मा प्रवेश गर्न तयार भएका छन् । 

पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निणर्य गरेलगत्तै उनले बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिए ।

तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्षसमेत रहिसकेका गौतमको सर्त छ । विगतमा आफूलाई रोक्नकै लागि सो प्रस्ताव ल्याइएको गौतमको बुझाइ छ ।

उनले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गरे । एमाले आफूले निर्माण गरेको पार्टी हो भन्दै गौतमले त्यसलाई माया लाग्ने बताए ।

उनले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताए । उनले केही दिनभित्र पार्टी सदस्यता नवीकरण गर्नेसमेत बताए । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताए ।

उनले भने, ‘यदि उहाँहरुले मलाई खबर गर्नु भयो । तपाईलाई अहिले पनि निलम्बन भएको छ । आगामी महाधिवेशनसम्म निलम्बन भइरहन्छ । तपाई आउनु पर्‍यो भन्नु भयो भने म र मसित रहेका जेजति साथीहरु छन् त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौैं । यही अवस्थामा जान्छौं । अरु केही पर्दैन अब । उहाँहरुले मलाई नै रोक्नका निम्ति त्यो उमेर हद ल्याउनु भएको हो । मैले त्यसबेला के भनेको थिएँ भने ७० वर्ष यहाँ भएका सबै पुग्नु हुन्छ एक दिन ।  एउटा ७० वर्ष पुग्नुअघि अध्यक्ष भइहाल्यो भने अरु बाँकी रहेका ७–८ जना ७० वर्ष पुगिहाल्छ । उनीहरु त आउट हुनैपर्छ । त्यसो भएर ७० वर्ष सबैको निम्ति आउँछ । मेरो निम्ति मात्रै आउन लागेको होइन । राख्नु हुन्छ भने राख्नुस भन्ने मेरो त्यो प्रतिक्रिया थियो । मसहित उपस्थित भएको बैठकबाट यो प्रस्ताव उहाँहरुले पारित गर्नु भएको थियो  अव ४/५ वर्षमा ७० वर्ष पुग्ने नेताहरु १०/१२ जना छन् । त्यो हट्यो भने त्यसभित्र भएका धेरै अध्यक्ष पनि हुन पाउँछन् । महासचिव पनि बन्न पाउँछन् । हटेन भने एउटा बन्छ ।  १०/१२ जना नेताहरु जो अनुभवी छन् । उनीहरु हट्छन् । यसरी अन्तिममा गएर अनुभवी नेताहरु त्यहाँ समाप्त हुन्छन् । र, अनुभव नभएको व्यक्तिहरु माथि आउँछन् । साँच्चीकै राम्रो पनि गर्न सक्लान् । तर पुरानाले मात्रै त्यो अनुभव साटन सक्छन् । राम्ररी दिन सक्छन । तर अरुहरुले त्यो गर्न सक्दैनन् । त्यस्तो पार्टी संस्कार र संस्कृतिविहिन हुन सक्छ । समृद्ध बन्न सक्दैन । यही निलम्बनकै अवस्थामा म जान सक्छु । तर मेरो चाँही प्रस्ताव के हो भने त्यो हटनैपर्छ भन्ने हो । किनकी त्यो मानवता विरोधी छ । नेपालको संविधानको विरुद्धमा छ । र, यो उमेर हद भनेको शारिरीक अवस्था हो । शारिरीक अवस्थाको आधारमा पार्टीमा बस्न पाउने, नपाउने भनेको विभेद हो । विभेद भनेको अपराधजन्य कानुन विरोधी गैरकानुनी काम हो । उहाँ (ओली)ले आउनुस् भन्नु पर्छ । किनभने पार्टी उहाँसँग छ । म भन्थेँ । मसँग पार्टी छैन अहिले । नेकपा एमाले मसित छैन । त्यसो भएर पार्टी जोसित छ । उहाँहरुले भन्ने हो । मैले अरु धेरैसँग सोधेँ-उहाँहरु कसैले पनि बोल्नु भएन । निलम्बन भईसकेपछि पनि मैले सोध्न खोजेँ । उहाँहरुले भन्नु भएन । मेरो सदस्यता त्यहीँ छ । मैले निर्माण गरेको पार्टी हो । मैले त्यसलाई माया गर्छु । र, मेरो पार्टी सदस्यता किन छ भने मैले बनाए यो बीचमा । तर त्यो पार्टी कम्युनिष्ट पार्टी पूणर् रुपमा भईसकेको थिएन । हो त्यस्तो अवस्थामा पार्टी त्यही रहिरहोस् भनेर राखिराखेको छु मैले । उहाँहरुले हटाई दिनुभएको पनि छैन । र, पोहोर सालको नविकरण भएको छ । अहिले श्रीमतिलाई पठाएर पार्टी सदस्यता नविकरण गराउँछु । बामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन । पार्टीमा योगदान दिन जाने हो ।’

यसैबीच, पार्टी अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताए । बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे  उमेर हद हटाउने हो भने बामदेव गौतमले एमाले आउने कुरा गर्नु भयो नि भनी प्रश्न गरेका थिए ।  ओलीले अब थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिए ।

उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताए । ओलीले भने, ‘उहाँले सदस्यता ती छ भन्नु भयो होइन । अनि, कुरा बाँकी छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन ।  एमालेमा जान्छु भन्नु भएको छ । त्यो ठीक छ । ठीक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठीक भएको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ