- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । कोशी प्रदेशमा बजेट सम्बन्धी दुई ओटा अध्यादेश जारी गरिएको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले अध्यादेश जारी गरेका हुन् ।
यसअघि प्रदेश प्रमुख खापुङले बुधबार मात्रै प्रदेश सभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका थिए ।
उनले बुधबार नै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । प्रदेश सरकारले बुधबार गरेको सिफारिसअनुसार प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।
बर्खे अधिवेशन अन्त्य भएसँगै अल्पमतमा परेका एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई अध्यादेशबाट आउँदो आर्थिक वर्ष २०८०–०८१ को बजेट ल्याउन बाटो खुलेको हो ।
संविधानअनुसार असार १ गतेसम्ममा प्रदेश सभामा सरकारले बजेट पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर सरकारले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरेर प्रदेश सभालाई छलेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।
यद्यपि कार्की नेतृत्वको सरकार अल्पमतमा छ ।
९३ सदस्यीय प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेकाले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
प्रदेश सभामा रहेका कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादी का ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ प्रदेश सांसदमध्ये कम्तीमा एक जना प्रदेश सांसद आफ्नो पक्षमा ल्याउन मुख्यमन्त्री कार्कीले जोडबल गरिरहेका छन् ।
कोशीमा एमालेकै सरकार टिकाउन एमालेले मधेस प्रदेशमा जसपा नेतृत्वको सरकारलाई सघाएको छ ।