arrow

सत्तासमीकरणमा क्षयीकरणको संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
deuba-prachanda-madhav-upendra-ranjita.jpg

काठमाडौँ । एमालेबाट विभाजित भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लामो समयदेखि समाजवादी केन्द्र व्युँताउने भनिरहेका छन् । संसदमा १० सिट मात्रै आएपछि झन् उनका लागि यस्तो केन्द्रको आवश्यकता परेको हो । 

अर्कोतर्फ माओवादी केन्द्रको हालको संसदमा ३२ सिट मात्रै रहेको छ । सो पार्टीलाई पनि शक्ति सञ्चयका लागि साना दलहरुको आवश्यकता परेको र ती दलहरुलाई मिलाएर बलियो शक्ति निर्माण गर्नेतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ । चार दिनअघि भक्तपुरको एक कार्यक्रममा समाजवादी केन्द्रको स्थापना गर्ने वा पुरानो नेकपा व्युँताउने बताएका माधव नेपालले त्यसको पूर्णताका लागि दौडधुप गरिरहेका छन् । 

साथै सरकारको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्डले पनि समाजवादी केन्द्र बनाउने र नेकपा व्युँताउने प्रयास भैरहेको बताउँदै समाजवादी केन्द्रलाई पूर्णता दिने बताएका छन् । 

माधव–विप्लव–वामदेव–उपेन्द्रसहित केही दिनमा समाजवादी मोर्चा घोषणा हुने दाबीसमेत गरेका थिए । ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो हिजोको एकता टिक्न सकेन । फेरि एकताको प्रयास गर्दैछौँ । समाजवादी मोर्चाको दस्तावेज टुंग्याएका छौँ । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ’, उनले भने । 

यही बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू राणा देउवासहित सिंगापुर पुगेका छन् । देउवा दम्पत्ति उपचारको क्रममा सिंगापुर पुगेकै दिन प्रधानमन्त्री प्रचण्डले पनि समाजवादी केन्द्र निर्माण गर्ने वा नेकपा व्युँताउने अभिव्यक्ति दिएका थिए । 

‘यसमा राजनीतिक महत्व छ । देउवा देशबाहिर भएका बेला प्रचण्डले समाजवादी मोर्चा निर्माण गरी नेकपा व्युँताउने अभिव्यक्ति दिएका छन् । यसबाट सत्ता समीकरणमा क्षयीकरण त हुँदैछैन भन्ने प्रश्न उठेको छ’, नेकपा एसका एक नेताले भने ।

हाल तत्कालीन नेकपाका केही सचिवालय सदस्यले समाजवादी केन्द्र निर्माणका लागि कसरत गरिरहेका छन्  । हाल माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानमा रहेका नेताले पार्टी एकता गर्ने वा संयुक्त रूपमा अघि बढ्ने तयारी गरेका हुन् । 

कांग्रेसभित्र आन्तरिक असन्तुष्टि बढिरहेको र कांग्रेस रुपान्तरणको अभियान चलिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड, एसका अध्यक्ष नेपालले अस्तित्व रक्षाका लागि पनि समाजवादी केन्द्र निर्माण वा पुरानो नेकपा व्युँताउने कसरत थालेको स्रोतको दाबी छ । केही नेताहरुमा नेकपा व्युँतिने र समाजवादी केन्द्र निर्माण हुनेमा दोधार रहे पनि प्रचण्ड र नेपाल भने आन्तरिक छलफलमा जुटेका छन् । 

तत्कालीन नेकपाको नौ सदस्यीय सचिवालयमा रहेकामध्ये पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले समाजवादी केन्द्र निर्माणमा मुख्य एजेन्डा बनाएर अघि बढ्ने गरी जुटेका भए पनि गौतमले भने यो छलफलमा सहभागिता जनाएका छैनन् । गौतम पछिल्लो समय एमालेमा जान खुट्टा उचालेको स्रोत बताउँछ । 

राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति,  वाम तथा समाजवादी आन्दोलन र कांग्रेससँग गठबन्धन लगायतका सैद्धान्तिक विषयमा पनि छलफल हुन थालेको स्रोतको दाबी छ । 

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल चाहिँ यो विषयमा दोधारमा रहेका छन् । उनी अहिले पनि समाजवादी पार्टीको निर्माण हुन्छ भन्ने बारेमा त्यति विश्वस्त छैनन् ।  ‘समग्र वामपन्थीलाई एकताबद्ध गर्ने र दोस्रो गठबन्धनभित्रका वामपन्थीहरूको एकता गर्ने’, भन्ने विषयमा छलफल भएको स्रोतको दाबी छ । 

औपचारिक–अनौपचारिक तहमा छलफल भए पनि दलहरू अझै समाजवादी केन्द्र निर्माणका लागि कुन विकल्प अपनाउने भन्ने निष्कर्षमा पुगेका छैनन् । यी सबै दलले आ–आफ्नो पार्टीभित्र वाम र समाजवादी मोर्चा निर्माणबारे सैद्धान्तिक निर्णय गरिसकेका छन्  । 

समाजवादी केन्द्र निर्माण गर्न सके आगामी दिनमा बलियो शक्ति निर्माण हुने नेताहरुको बुझाइ छ । कांग्रेस बाहेकका शक्ति र अन्य वाम शक्तिसमेत समेटेर समाजवादी केन्द्र बनाउने र सम्मानजनक रुपमा संसदमा उपस्थिति जनाउने बारेमा पनि छलफल गरिरहेको स्रोतको दाबी छ । 

खासगरी प्रचण्ड र नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमै दबाबमा राख्न खोजेपछि कुनै पनि बेला संसदमा एक्लै पर्न सक्ने भयले उनीहरुले पुरानो नेकपा व्युँताउने वा समाजवादी केन्द्र बनाएर अघि बढ्ने मनसाय रहेको स्रोतको दाबी छ । 

समाजवादी केन्द्रमा उपेन्द्र यादवले नेतृत्व गरेको जसपा र राष्ट्रिय जनमोर्चालाई समेट्न पनि छलफल भइरहेको एक शीर्ष नेताले जानकारी दिए । 

एक वर्षअघि जसपा छाडेका डा. बाबुराम भट्टराईको समूहलाई पनि समेट्न लगातार वार्ता भइरहेको छ । एक वर्षअघि नै माओवादीले आफ्नो केन्द्रीय समिति बैठकबाटै समाजवादी केन्द्र बनाउने निर्णय गरिसकेको छ । 

एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय गरेको छ । जसपाले पनि समाजवादी केन्द्र बनाउने निर्णय गरेको छ  ।

विगतमा माओवादीका तर्फबाट स्थायी कमिटी सदस्य देव गुरुङ, वर्षमान पुन र एकीकृत समाजवादीका तर्फबाट तत्कालीन महासचिव बेदुराम भुसाल र प्रमेश हमाल गृहकार्यमा जुटेका थिए । 

अहिले उनीहरु निस्कृय भए पनि प्रचण्ड र नेपाल दुवैले पहलकदमी लिने कोसिसमा लागेका छन् । खासगरी नेपाली कांग्रेसमा देखिएको आन्तरिक विवादले सरकार धरापमा परे संसदमा बलियो प्रतिपक्षीको हैसियत देखाउन दुवै नेताहरुले यस्तो पहल गरेको स्रोतको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ