arrow

मोर्चाप्रति असन्तुष्ट झलनाथ एमालेसँग नजिकिँदै, बाबुराम साना दल समेट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
baburam-ck-resham-prabhu.jpg

काठमाडौँ । माओवादी केन्द्रसहितको चार दलले समाजवादी मोर्चा गठन गरेपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनाल असन्तुष्ट बनेका छन् । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अन्य साना दललाई समेटेर अर्को मोर्चा गठनको तयारी गरेका छन् । 

मोर्चा गठनको अन्तिम अन्तिम अवस्थामा जसपाका उपेन्द्र यादवले भट्टराईलाई बाहिर राख्नुपर्ने अडान लिएपछि मोर्चाको अवधारणाकर्ता नै बाहिर रहनु परेको पीडालाई कम गर्न अन्य दलसँग मोर्चा बनाउने कसरत गरेका छन् । 

तर सो मोर्चा गठन हुन नदिन र माओवादीमा पार्टी मिलाउन माओवादीका नेता वर्षमान पुनले बाबुरामलाई आग्रह गरिरहेका छन् । उता झलनाथ खनाल मोर्चा गठनको औचित्य नभएको भन्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट बनेका थिए । 

उनले मोर्चाले आगामी उदेश्य नै प्रष्ट नभएको गन्तव्य प्रष्ट नभएको बताउँदै औचित्यहिन रहेको दावी गरेका थिए । 

स्रोतका अनुसार बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीबीच अर्को मोर्चा घोषणा गरेर माओवादीलाई काउण्टर दिने नीति लिएका हुन् । 

त्यसका लागि ती दलसँग कुराकानी चलिरहेको बाबुराम निकट रहेका एक नेताले भने । 

सोमबार सत्तारुढ माओवादी केन्द्र, माधव नेपालको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपा र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणा गरेको थियो । 

तर उनलाई बाहिर राखेपछि ‘एक माघले जाडो जाँदैन यसरी सधै झुक्याउन सकिँदैन’ भन्दै माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति टिप्पणी गरेका थिए ।
 
शुरुमा समाजवादी मोर्चाका सूत्रधार रहेका बाबुराम भट्टराईलाई नै आउट गरेर संविधान प्रदत्त समाजवाद स्थापना गर्ने भन्दै ‘समाजवादी मोर्चा’ गठन गरेपछि यसरी समाजवादीमा पुगिँदैन भन्ने टिप्पणी पनि गरेका थिए । 

अर्कोतर्फ झलनाथ खनालले मोर्चा कसैको स्वार्थ सिद्धमा केन्द्रीत नहोस् भन्ने टिप्पणी गरेका थिए । उनले कार्यक्रममा सम्बोधन गर्दा पनि अन्य बामपन्थी दललाई बाहिर राखेर मोर्चा अघि बढ्न नसक्ने आशयको टिप्पणी पनि गरेका थिए । 

हाल प्रतिनिधि सभामा कांग्रेसका ८८ (एक निलम्बन), एमालेका ७९ (दुई निलम्बन), माओवादीका ३२ (नेसपाका २ सहित), राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपा र नागरिक उन्मुक्तिका चार–चार, जनमोर्चा र नेमकिपाका एक–एक, आम जनता पार्टीका एक र  दुई जना स्वतन्त्र सांसद छन् । 

दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा ५२ सिटसहित समाजवादी मोर्चा संसद्को तेस्रो शक्ति बनेको छ । संसदमा बलियो उपस्थिति देखिनकै लागि जनमतका छ, नागरिक उन्मुक्तिका चार, नेसपाका दुई, आम जनता पार्टीका एक र स्तन्त्र सांसद दुई जना गरी १५ सिटसहित अर्को मोर्चा बनेमा अहिले बनिरहेको मोर्चा फुटाउन एमाले वा कांग्रेसले कसरत गरेमा सहजै भत्कन सक्ने अवस्था रहेको छ । 

यो अवस्था देखेपछि माओवादीका नेता वर्षमान पुन बाबुरामलाई पार्टी एकता गराएर मोर्चा गठन गर्न नदिने गरी अघि बढेका छन् । उता झलनाथ खनालले एमालेसँग सम्पर्क सम्बन्ध बढाएको हल्ला एमाले मुख्यालय च्यासलमा सुनिन थालेको छ । 

‘केही साथीहरुले झलनाथको बारेमा यता कुरा गर्न थाल्नु भएको छ’, एमालेका एक जिम्मेवार पदाधिकारीले भने । योगाभ्यासका लागि च्यासलमा आएका ती पदाधिकारीले खनाल अन्नतः एमालेमा आउने गरी कुरा अघि बढेको दाबी गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ