arrow

डुडुवा गाउँपालिकाले ल्यायो ४८ करोड ८४ लाखको बजेट 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० असार ९ शनिबार
duduwa-budget-2080.jpg

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको शनिबार बसेको १४औं गाउँसभाले एक वटा विधियेक, नीति तथा कार्यक्रम मा ४८ करोड ८४ लाख ३४ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, वन तथा वातावरण, विकास निर्माण लगायतका २१ बुँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

डुडुवा–४ शाहपूर्वामा गाउँपालिकास्तरीय १५ शैयाको अस्पताल निर्माण, गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि बेतहनी स्वास्थ्य चौकीमा चिकित्सकसहितको जेष्ठ नागरिक अस्पताल सञ्चालन, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा र्याफ्टिङ्ग संचालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च ,मस्जिद  एवं गुरुद्वाराहरुको संरक्षण, मर्मत सम्भार तथा पुनःनिर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकास, राप्ती नदी किनारमा स्नान घर र आर्यघाट व्यवस्थित रूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने नीति लिइएको छ। 

यसैगरी आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयन, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटना दर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता दिइने, ग र घ वर्गका अशक्त अपांगता भएकाहरुलाई त्रैमासिक रुपमा दिइँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइने, गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रावाहलाई सहज, सूचना प्रविधिमैत्री, अशक्तमैत्री र सेवाग्राहीमैत्री सेवा प्रदान गरिने, भूमिहीन सुकुमबासी तथा अब्यवस्थित बस्तीलाई प्रचालित भूमि ऐन बमोजिम कार्य प्रक्रिया अगाडि बढाउने र बाढी र डुवानको उच्च जोखिममा रहेको बस्तीहरुमा तटबन्धनको व्यवस्था गरिने नीति तथा कार्यक्रमलाई जोड दिइएको छ । 

यसैगरी डुडुवा गाउँपालिका वडा नं–६ महाउत टोलमा ७०० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालू आर्थिक बर्षमै सम्पन्न गरी किसानहरुको आलु बिउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण, गाउँपालिकाभित्र रहेका विद्यालयलाई अनुगमन गरी कार्यसम्पादनका आधारमा प्रोत्साहन, साथै चालू आर्थिक वर्षमा गाउँपालिकास्तरीय क्याम्पस स्थापनाको लागि संघ तथा प्रदेश सरकारको सहकार्यमा आवस्यक पहल गर्दै यस गाउँपालिकामा क्याम्पस स्थापना, साथै डुडुवामा रहेका सबै सामुदायिक बिद्यालयहरु र बालविकास केन्द्रहरुमा अंग्रेजी माध्यमबाट पाठपाठन सिकाई कार्यमा जोड दिनेछ ।

यसैगरी प्रयोगशाला नभएका वडाहरु वडा नम्बर १, ३ र ४ मा क्रमशः प्रयोगशाला स्थापना, न्यूनतम दरमा सवै डुडुवाबासीलाई वडास्तरमा स्वास्थ्य परीक्षणको पहुँचमा वृद्धि, कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्करुपमा वितरण,  कृषिको उत्पादन क्षेत्र विस्तार गर्न अन्य निकाय समेतको सहकार्यमा सिञ्चित क्षेत्रमा विस्तार, पशु रोग निदानका लागि पशु उपचार सेवा, प्रयोगशाला सेवा, खोप तथा परिजिवी नियन्त्रण सेवालाई थप प्रभावकारी बनाइनेछ ।

उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रिम गर्भाधान कार्यक्रमबाट नश्ल सुधार गरी कृषकको आम्दानीमा वृद्धि, डुडुवा–२ मा स्थापना भएको बीउ भण्डारण तथा प्रशोधन केन्द्रलाई संचालनमा ल्याई कृषकहरुले उत्पादन गरेका बीउ प्रशोधन गरी बाह्य बजारमा निर्यात गरिनेछ । 

साथै गाउँपालिकालाई बीउ आत्मनिर्भर बनाइने, बेतहनी स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी १० शैयाको सामुदायिक अस्पतालमा परिणत गर्न संघीयरप्रदेश सरकारसंग समन्वय गरी सामुदायिक अस्पतालको स्थापना गरिने, सामुदायिक अस्पतालमा राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न बिमा कम्पनीसंग सहकार्य गरी बिमा सेवा कार्यक्रम लागू गरिनेछ ।

सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०८० प्रस्तुत गरेका थिए । सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सर्वसम्मतरुपमा पारित गरिएको थियो । 

गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ्गले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ