- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलनाको मुद्दामा सुनुवाइ हुँदैछ । अधिवक्ता वर्षाकुमारी झाले दर्ता गरेको उक्त मुद्दा न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुँदैछ ।
शुक्रबार अधिवक्ता झाले सर्वोच्चमा बालेनविरुद्ध अदालतको अवहेलनाको निवेदन दर्ता गराएकी थिइन् । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरिविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।
“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानून र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन,” उनले समाजिक सञ्जालमा लेखेका थिए ।
उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् । यो मुद्दाको आजै प्रारम्भिक सुनुवाइ हुनेछ ।