- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एमालेका तत्कालीन महासचिव मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा एक स्थापित नाम हो । ताप्लेजुङको साधारण परिवारमा जन्मेर गाउँमै शिक्षा हासिल गरेका उनी २००९ असार १४ गते जन्मेका हुन् ।
राष्ट्रिय राजनीति र विशेषगरी कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी अनवरत रुपमा चर्चा, सम्झना र मार्गदर्शनको एक चुनौतीविहीन पात्रका रुपमा रहेका थिए ।
विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको र स्वयम् नेपालमा पनि शुद्धतावादी देखिने नाममा एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि अनेक आरोप लगाएर वस्तुतः आफैँ कमजोर बनिरहेको अवस्थामा प्रतिस्पर्धा र पहलकदमीमा आधारित राजनीति अंगीकार गर्दै जनताको बहुदलीय जनवाद अघि सारेर मदन भण्डारीले गरेको दिशानिर्देशकै कारण अहिलेको एमालेले मार्गनिर्देशक सिद्धान्तका रुपमा अंगिकार गरेको छ ।
तर त्यो अंगिकार भने मदन भण्डारीको जन्मजयन्ती र स्मृति गरी दुई दिनमात्र नेताहरुले सम्झिने गर्छन् बाँकी ३६३ दिन भने उनीहरुलाई जनताको बहुदलीय जनवाद सम्झिने फुर्सद छैन ।
शुरु शुरुमा जनताको बहुदलीय जनवादलाई ‘संशोधनवादी’ वा ‘दक्षिणपन्थी’ देखेर दृष्टिभ्रम राख्नेहरु पनि कालान्तरमा घुमीफिरी जनताको बहुदलीय जनवादकै राजनीतिक र वैचारिक आलोकमा खडा हुन आइपुग्नुले मदन भण्डारीको सान्दर्भिकता बढेको देखिन्छ ।
मदन भण्डारी ०४६ भदौमा सम्पन्न नेकपा (माले) को चौथो महाधिवेशनबाट महासचिव भएर ०५० जेठ ३ सम्म पौने चार वर्ष मात्रै प्रमुख नेताका रुपमा नेतृत्वमा रहे । उनको ०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।
मदन भण्डारीका अनुसार जनताको बहुदलीय जनवाद भनेको यस्तो जनवादी राज्यसत्ता (अधिनायकत्व) हो जसको शासन प्रणालीमा बहुदलीय प्रतिस्पर्धा रहेको हुन्छ । अर्थात् यसमा क्रान्ति पछि स्थापना हुने राज्यसत्ता (अधिनायकत्व) जनवादी (लोकतान्त्रिक) हुने र त्यो पुरानो जनवाद जस्तो पूँजीपति वर्गको एकलौटी नभई जनताको समेत संयुक्त राज्यसत्ता हुने भएकोले बहुवर्ग बीच प्रतिस्पर्धालाई यसले स्वीकार गर्दछ । वर्गीय समाजमा दलहरूले वर्गहरूको राजनीतिक प्रतिनिधित्व गर्ने भएकोले त्यस्तो प्रतिस्पर्धा दलीय हुने समेत यसले स्वीकार गरेको छ । यही तथ्यहरू र थप केही विशेषता समेत अंगीकार गरिएको यो (अर्थात् जबज) नयाँ जनवाद नै हो ।
यस्ता छन् जबजका १४ विशेषताहरुः
१, संविधानको सर्वोच्चताः कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन ।संविधान सबैको निम्ति अनुल्लंघनीय हुनुपर्दछ ।समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ ।
२, बहुलवादी खुला समाजः प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने, बोल्ने तथा आफ्ना अनुभूतिहरू भिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्दछ । बाहिरी दुनियाबाट अलग, बन्द र एकोहोरो समाज हुनुहँदैन ।
३, शक्ति पृथकीकरणको सिद्धान्तः शक्ति व्यक्तिको हातमा मात्र होइन संस्थाको हातमा पनि अति केन्द्रिकरण हुनुहुँदैन । एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन ।
४, मानव अधिकारको रक्षाः साँचो अर्थमा कम्युनिष्टहरू नै मानव अधिकारको सबभन्दा दृढ योद्धा हुन् र हुनसक्छन्। मानव अधिकारको रक्षा कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण तत्व हो र हुनुपर्दछ ।
५, बहुदलीय प्रतिस्पर्धा प्रणालीः राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र पार्टीको एकाधिकार हुनुहुँदैन । वर्गीय विविधता भएको समाजमा अनेकन राजनीतिक पार्टीहरू हुन सक्दछन् । तिनलाई संविधान बमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ ।
६, आवधिक निर्वाचनः जनताले एकपटक गरेको निर्णय संधैको निम्ति शाश्वत हुन सक्दैनन् । निर्वाचन–विचार, कार्यक्रम र नीतिहरूको आधारमा निश्चित अवधिमा हुनुपर्दछ । एउटै नीति र कार्यक्रम भित्र व्यक्ति मात्र रोज्न पाउने व्यवस्था सारतत्वमा लोकतान्त्रिक हुन सक्दैन ।
७, बहुमतको सरकार र अल्पमतको विपक्षः बहुदलीय पद्धतिको मूल तत्व संगठित प्रतिष्पर्धा हो । अर्को मूल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारको विपक्षमा वैधानिक रूपमा काम गर्न पाउने प्रणाली लोकतान्त्रिक प्रणाली हो ।
८, कानूनको शासनः कुनै पनि व्यक्तिमाथि कानून अनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने व्यवस्था । सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन् र ती सबै प्रचलित कानून अनुसार गरिने छन् ।
९, जनताको जनवादी व्यवस्थाको सुदृढीकरणः जनताको जनवादी व्यवस्था अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्था भएको हुनाले यसलाई चरणवद्ध रूपमा अगाडि बढाइने छ ।
पहिलो चरणः पुरानो व्यवस्थाका शोषणका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने ।
दोश्रो चरणः नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने ।
तेश्रो चरणः समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।
१०, विदेशी पूजी र प्रविधिः वैदेशिक पूँजी र प्रविधिको सवालमा नीतिगत रूपमा ढोका बन्द गरिने छैन । संविधान र ऐन कानूनको सिमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गरिने छ ।
११, क्षतिपूर्तिः नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दार बाहेक अरूलाई जमीनको क्षतिपूर्ति दिइने छ । क्षतिपूर्तिलाई उद्योग, व्यापार र व्यवसायतर्फ स्थानान्तरित गराउने नीति लिइने छ ।
१२, विदेश नीतिः पञ्चशीलको सिद्धान्त अनुरूप वैदेशिक सम्बन्ध कायम गरिने । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने । क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीति निरुपित नहुने ।
१३, नेतृत्व र अधिनायकत्वः सेवा, पहलकदमी र प्रतिष्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शव्दको सट्टा आम रूपमा जनताको जनवादी राज्यसत्ता शब्दको प्रयोग गर्ने ।
१४, जनताको बहुदलीय जनवादः यो नेपाली सन्दर्भको नयाँ जनवाद हो । नयाँ जनवादी क्रान्तिको सारतत्व र यस कार्यक्रममा थप १४ विशेषतालाई व्यक्त गर्ने गरि जनताको बहुदलीय जनवाद नामाकरण गरिएको हो ।