arrow

अर्थतन्त्र सुधारका लागि सरकारको ध्यान पुगेन : एमाले नेता कंडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १४ बिहिबार
Puspa kandel.jpg

पोखरा । नेकपा (एमाले) का स्थायी समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा पुष्पराज कँडेलले बिग्रदो अर्थतन्त्रको सुधारका लागि नेपाल सरकारको ध्यान नपुगेको बताएका छन् । उनले नेपालको आन्तरिक कारणले अर्थतन्त्र ओरालो लागेको दाबी गरे ।

जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीको सन्दर्भमा नेपाल बुद्धिजीवी परिषद् कास्कीद्वारा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र अवसर विषयक अन्तरक्रियामा उनले यस्तो धारणा राखेका हुन् ।

‘नेपालको अर्थतन्त्रमा सुधार नहुनु सरकारको अकर्मण्यता हो । अर्थतन्त्र सुधारमा सरकारको ध्यान पुगेको छैन,’ उनले भने, ‘बाह्य कारण भए छिमेकी देशलाई असर पर्ने थियो । हाम्रो आन्तरिक कारणले अर्थतन्त्र ओरलो लागेको छ ।’ उनले भारत, बंगालदेश तथा भूटानको आर्थिक वृद्धिदर बढ्दो भएको जानकारी दिए ।

नेपालको अर्थतन्त्र सारै नबिग्रेको उल्लेख गर्दै उनले सरकारले अर्थतन्त्रको गरिमालाई नबुझेर सुधारका लागि प्राथमिकता नदिएको दाबी गरे । उनले कोभिड १९ को प्रकोपअघि नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत रहेकोमा कोभिड १९ को प्रभावको अवधिमा ५ दशमलव ३ प्रतिशत कायम रहेको औंल्याए । उनले अहिले नेपालको आर्थिक वृद्धिदर २ दशमलब १६ प्रतिशत रहेको बताए ।

उनले देशको चालु खर्च बढेको तथा पुँजीगत खर्च न्यून भएकोमा चिन्ता जनाए । समग्र राज्य संयन्त्र कमजोर तथा विकास, निर्माणको गति रोकिएको दाबी गर्दै उनले देशमा के कति परियोजना सञ्चालन भएको बारेमा मन्त्रालयहरु बेखबर भएको टिप्पणी गरे । उनले सञ्चालित परियोजनालाई धान्न सक्ने अवस्था नभएको उल्लेख गरे ।

अहिलेको अर्थतन्त्र मुल रुपमा विप्रेषणमा आधारित भएको जानकारी दिँदै उनले विप्रेषणले गरिबी हटाउन त्यसको योगदान गरेको बताए । उनले उत्पादन उद्योगहरु खुम्चिएर कुल ग्राह्स्थ उत्पादनमा ५ प्रतिशत योगदानमा सीमित भएको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले राष्ट्रवादसँग जोडिएको अर्थतन्त्रलाई सवल बनाइनुपर्ने बताए । उनले धेरै मुलुकले आर्थिक राष्ट्रवादलाई प्राथमिकता दिएको उल्लेख गरे । अहिलेसम्मको एजेन्डा आर्थिक नभएर राजनीतिक भएको जानकारी दिदै उनले अबको एजेन्डा आर्थिक समृद्धि हुनुपर्ने तर्क गरे ।

उनले राजनीतिक स्थिरता विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने उल्लेख गरे । उनले नेपालको अर्थतन्त्रलाई राष्ट्रिय अनुकूल बनाउन नसकेको बताए । उनले सीमित स्वार्थ समूहले आर्थिक नीतिमा प्रभाव पारेको तथा करको दर हेरफेर गर्न दबाब दिएको दाबी गरे ।

पृथ्वीनारायण क्याम्पसका सहप्राडा लेखनाथ भट्टराईले गत वर्षभन्दा घटेको भएता पनि नेपालको आर्थिक वृद्धिदर संकटासन्न अवस्थामा नभएको बताए । नेपालको अर्थतन्त्र अझै पनि संकटग्रस्त नभएको दाबी गर्दै उनले २०/२१ अर्ब ऋण भएता पनि नेपालको अवस्था श्रीलंका तथा पाकिस्तानको जस्तो नहुने जानकारी दिए ।

मदन भण्डारी फाउन्डेसनका अध्यक्ष डा भेषराज अधिकारीले जननेता मदन भण्डारीले औद्योगीकरणबिना देशको प्रगति सम्भव नहुने तथा राष्ट्रिय पुँजीको विकास नगरी आत्मनिर्भर औद्योगिक राष्ट्रिय अर्थतन्त्रको विकास सम्भव नभएको बताएको स्मरण गराए । उनले सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडनलाई अन्त्य नगरी नेपाली समाजको प्रगतिशील विकास सम्भव उल्लेख गरे ।

भण्डारी विदेशी पुँजी र प्रविधिको प्रयोगको पक्षमा रहेको जानकारी दिँदै उनले क्रान्तिको पक्षमा रहेका पुँजीपतिलाई क्षतिपूर्ति दिएर जग्गा राष्ट्रियकरण गर्ने पक्षमा रहेको बताए । 

कार्यक्रममा बुद्धिजीवी परिषद् कास्की अध्यक्ष विश्व अधिकारी र सचिव नगेन्द्र भण्डारीले नेपालको अर्थतन्त्रका बारेमा बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ