- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताएका छन्।
नेपाल युवा उद्यमी मञ्च चितवनले बिहीबार यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले राम्रो परियोजनाका लागि पैसाको अभाव हुन नहुने बताए । बैंक र वित्तीय संस्था साहु हुन नहुने भन्दै उनले युवा उद्यमीलाई प्रोत्साहित गर्नुपर्ने बताए ।
उनले भने, “परियोजना उपयुक्त छ भने ऋण दिनुपर्छ । त्यसको अनुगमन पनि बैंकले गर्नुपर्छ ।” उद्यमी बिग्रँदा ऊ मात्रै नबिग्रने बैंक पनि बिग्रने भन्दै उनले अनुगमनको दायित्व बैंकको हुनुपर्ने बताए । आफ्नो नेतृत्वको सरकारको पालामा महिला युवा उद्यमीका लागि तीन प्रतिशतमा रु १५ लाखसम्म ऋण दिन सुरु गरिएको उनले सुनाए । उद्यमशीलताले रोजगारी सिर्जना गर्ने भन्दै उनले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्नुपर्ने बताए ।
उनले भने, “अव्यावहारिक नीति सरकारले हटाउनुपर्छ । कृषक र उद्यमीलाई पाँच वर्षका लागि होइन १० देखि २० वर्षका लागि ऋण दिनुपर्छ ।” उत्पादन वृद्धि १० प्रतिशतमाथि पु¥याउन सकिने भन्दै उनले सरकारले अनुशासित ढङ्गले काम गरेमा दुई वर्षमा १० प्रतिशत बढाउन सकिने बताए ।
नेपाल अब रोजगारी नभएर उद्यमशीलताको बाटोमा लाग्नुपर्ने उनको भनाइ थियो । उनले थपे, “अहिले नेपालमा एक वर्षमा रोजगारको खोजी गर्नेजति सबै रोजगार छैनन् त्यसकारण अबको बाटो भनेको उद्यमशीलता हो रोजगार होइन ।” नेपालमा बजारीकरणको कुनै समस्या नरहेको भन्दै उनले ठूलोमात्रामा गुणस्तरीय सामान उत्पादन गरेर राम्रो प्याकेजिङ गर्न सुझाव दिए ।
पुरानो तरिकाले नभएर सहकारी र समूहमा मिलेर धेरै उत्पादन गर्न उनको सुझाव थियो । कृषि उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्ने उनले बताए । नेपालमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना रहेको भन्दै त्यसको उचित प्रयोग गर्न नसकिएको उनको भनाइ थियो । पछिल्लो समय मजदुर आन्दोलन नभएको हुँदा ती समस्याबाट उद्यमीलाई राहत पुगेको उनले बताए ।