arrow

अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही – गृहमन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
narayankaji-2080-04-05a.jpg

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसहित  विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरी जानकारी लिएका छन् । 

उनले विमान अवतरणदेखि यात्रु, कर्मचारीको प्रवेश, तिनीहरूको हातेब्याग र कार्गो निकासी प्रक्रियासम्मको अनुगमन गरेका थिए । सो क्रममा गृह मन्त्रालयका सचिवसहित उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत कार्यालयका प्रमुखको सहभागीता थियो । 

विमानस्थलको बाटो भएर छिरेको सुन दुई दिनअघि भन्सार पाससमेत भएर बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । त्यस प्रकरणले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी तथा भन्सार प्रक्रियाको त्रुटि उजागर गरेको छ । 

अनुगमनपछि सङ्क्षिप्त सम्बोधनमा गृहमन्त्री श्रेष्ठले विमानस्थलमा सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउनेभन्दा पनि समन्वय र एकीकृत भएर काम गर्नुपर्नेमा जोड दिए । 

“राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो पहिचान हो”, उनले भने, “यसैलाई प्रयोग गरेर हुने अपराध र राजस्व छलिविरुद्ध सबै कठोररूपले जिम्मेवार हुनुपर्छ, तर यात्रु र पर्यटकप्रति भने विनम्र हुनुपर्छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, गुणात्मक आर्थिक सामाजिक विकास र प्रशासनिक सुधारका पक्षमा कुनै कसर बाँकी नराख्न र त्यही स्पिरिटमा काममा गति दिन निर्देशन दिएको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करीबारे छानविन समितिले यसको जराजरामा पुगेर कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे । 

उनले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन् । उनले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गरिने प्रतिबद्धता जनाएका हुन् । 

अनुमगनपछि सञ्चारकर्मीसँग उनले अवैध सुन भित्र्याउने कार्यमा जोसुकै भए पनि कारबाही गरिने र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने जानकारी दिए । 

भ्रष्टाचार र अपराधका कुरा अनुसन्धानमा  कुनै कोट, टार र पार्टी मतलब नरहेको भन्दै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ