arrow

एक क्विन्टल सुन तस्करीमा तीन व्यापारी रेड जोनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
100kg-gold-2080-04-04.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राजश्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि ३ व्यापारी तस्करीको ‘रेड जोन’ मा परे पनि उनीहरु पक्राउ पर्न सकेका छैनन् । 

विभागका अधिकारीहरुले राकेशकुमार अडुकियाको घरमा छापा मारे पनि उनी फेला पर्न सकेका छैनन् भने अन्य दुई व्यापारीलाई पनि रेड जोनमा राखेर अनुसन्धान गरिरहेको छ । 

आयात निर्यातको काराबार गरिरहेका दुई व्यापारीबारे विभागले प्रमाण संकलन गरिरहेको र पक्राउ परेका व्यक्तिहरुले उनीहरुको नाम लिइसकेकाले प्रमाणको खोजीमा लागेका कारण पक्राउमा ढिलाई भएको स्रोतको दाबी छ । 

विभागले अडुकियाको घरमा बुधबार साँझ छापा मारे पनि उनी भने फेला परेका छैनन् । विभागले एक सातापछि उनको घरमा छापा मारेर केही कागजात बरामद गर्यो तर फरार भैसकेकाले पक्राउ पर्न सकेन । 

शेयर बजारमा डुबेका विवादास्पद व्यापारी अडुकिया विगतदेखि नै हङकङमा कार्यालय खोलेर चाँदीको व्यापार गर्दै आएका थिए । स्रोतका अनुसार त्यही कार्यालयबाट अवैध सुनको तस्करीमा संलग्न हुँदै आएका छन् । 

हङकङबाट आएको सामानमा सुन आएको सुराकी पाएपछि राजश्वले रेडी ट्रेडको सो रुममासमेत छापा मारेको थियो । ब्रेक सुको आवरणमा क्याथे प्यासिफिकको जहाजमार्फत आएको सुन बरामदपछि अनुसन्धान गर्ने क्रममा अडुकियाको संलग्नता देखिएको हो । 

सोही आधारमा बुधबार साँझ राजस्व अनुसन्धानले उनको कमलपोखरीस्थित निवासमा छापा मारेका थियो । तर केही कागजात बाहेक अरु कुनै वस्तु फेला पारेन । 

विमानस्थलबाट बाहिरिएको सुन पक्राउ गरेको राजस्व अनुसन्धान विभागले छानबिन पनि आफूले नै गर्ने भन्दै छानबिन प्रक्रियालाई अघि बढाएको थियो । राजस्वले अनुसन्धानमा अन्य निकायको आवश्यकता नरहेको टिप्पणी गर्दै आफैँले अनुसन्धान गरेर टुंगोमा पुर्‍याउने बताएपछि अनुसन्धानमा केही शंका उब्जिएको थियो ।

संगठित अपराधमा गृह मन्त्रालयले आफूले यसको विस्तृत छानबिन गर्न पाउनुपर्ने माग गरे पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा रहेको र हरेक कुरा प्रधानमन्त्रीलाई नै जानकारी गराउने भएकाले अन्य निकायको सहयोग आवश्यक नपर्ने बताउँदै आएपछि दुई निकायबीच ‘टसल’ उत्पन्न भएको थियो । 

अन्तिममा प्रहरीको पनि साथ चाहिने भन्दै विभागले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्यो र एसपी कृष्ण पंगेनीलाई खटायो । प्रहरीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ । 

हङकङमै कार्यालय रहेका अडुकियाले अन्य मुलुकको बैंकमा पनि खाता खोलेर नेपालबाट रकम बाहिर लगेको पाइएको छ । खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संघ (आईसीआईजे) सात वर्षअघि सार्वजनिक गरेको पानामा पेपरको पूर्ण दस्तावेजमा अडुकियाको नाम उल्लेख छ । यो कम्पनीको रजिस्टर्ड ठेगाना भने हङकङ देखाइएको छ ।

 ‘तस्करीकै लागि हङकङमा नेपाली व्यापारीहरुले कार्यालय खोलेका छन्’, विभाग स्रोतले भन्यो ‘त्यसमा अडुकियाको पनि कार्यालय रहेको छ ।’ 

अडुकियाले विगत १५ वर्षदेखि हङकङबाट चाँदीमा सुन मिसाएर नेपाल ल्याउने र नेपालमा चाँदीको मात्रै भन्सार तिरेर सुन अवैध रूपमा बेचबिखन गर्दै आएका थिए ।  

उक्त सुन काण्डको अनुसन्धान शुरू हुनासाथ राकेश अडुकियाका छोरा रोहन अडुकिया गत शुक्रबार नेपाल वायुसेवा निगमको विमानबाट भारतको नयाँदिल्ली गएको र बाबु पनि दिल्ली नै पुगिसकेको स्रोतको दाबी छ । 

शंकास्पद व्यापारी अडुकिया गत अप्रिल १३ तारिखमा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट नयाँ दिल्ली गएको र त्यहाँबाट हङकङ पुगे र अप्रिल १९ तारिखका दिन बैंकक हुँदै थाइ स्माइलको उडान नम्बर डब्लुई ०३१९ बाट काठमाडौँ आएको ‘ट्राभल हिष्ट्री’ रहेको विभागले जनाएको छ । 

त्यसैगरी विभागले लिएको जुन २६ तारिखका दिन नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ०२१७ मा दिउँसो साढे १२ बजे नयाँ दिल्ली हुँदै फेरि हङकङ पुगेका थिए ।  

१२ दिनको बसाईपछि जुलाई ५ मा हङकङबाट दुबई हुँदै फ्लाई दुबईको उडानबाट काठमाडौँ आइपुगेका थिए । त्यस लगत्तै नेपालमा सुन बरामद भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ