arrow

केपी ओलीको ‘होली वाइन’ मोह !

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०८० साउन १३ शनिबार
kp-sharma-oli-2080-04-06.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया पुगेर त्यहाँको निर्वाचन प्रणाली र प्रकृयाको बारेमा अनुगमन गरी नेपाल फर्केका छन् । त्यतिमात्र होइन नेपालमा धेरै विवादमा परेको युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा सम्बोधनसम्म गरेका छन् । 

नेपालमा ‘होली वाइन’ भनेर चिनिने फेडेरेसनको कार्यक्रमलाई सम्बोधन गरेपछि त्यस बारेमा विभिन्न टिका टिप्पणीसमेत शुरु भएको छ । ३८ वर्षदेखि निरन्तर कम्बोडियाको प्रधानमन्त्री रहेका हुन सेनसँग ओलीको निकट सम्बन्ध भएकै कारण विश्वले मान्यता नदिएको कम्बोडियाको निर्वाचन अनुगमन गर्न ओली पुगेका थिए । 

यस पटक अनुगमनमा जाँदासमेत पछिल्लो पाँच वर्षमा ओलीले चौथो पटक हुन सेनसँग भेटघाट गरेका हुन् । २०७५ असोज १३ गते यता उनीहरुबीच तीन पटक भेटवार्ता भएको थियो । पहिलो भेट अमेरिकाको न्यूयोर्कमा भएको थियो । ओली र हुन सेन दुवै संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सरकार प्रमुखको रुपमा सहभागी हुन न्यूयोर्क गएका थिए । 

सोही बेला साइडलाइनमा उनीहरुबीच भेटवार्ता भएको थियो । त्यसपछि काठमाडौँमा आयोजना गरिएको एसिया–प्यासिफिक समिटमा भाग लिने क्रममा २०७५ मंसिर १३ देखि १४ गतेसम्म हुन सेनले नेपालको भ्रमण गरेका थिए ।  सोही बेला प्रधानमन्त्री रहेका ओली र हुन सेनबीच भेटवार्ता भएको थियो । 

भेटवार्तामा हुन सेनले ओलीलाई कम्बोडिया भ्रमणको निम्तो दिएका थिए । उनी २०७६ वैशाख अन्तिम साता भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदा पनि हुन सेनसँग भेटघाट गरेका थिए । प्रधानमन्त्रीको रुपमा ओलीले बैशाख ३० गतेदेखि कम्बोडियाको तीन दिने भ्रमण शुरु गरेका थिए । भ्रमणका बेला नेपाल र कम्बोडियाले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेर नेपाल फर्केका थिए । 

यसपटक कम्बोडिया पुगेर ओलीले शान्ति र लोकतन्त्रको लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए । निर्वाचन पर्यवेक्षणका लागि पत्नी राधा शाक्यसहित अध्यक्ष ओली गत साउन २ गते कम्बोडिया पुगेर सो सम्बोधन गर्न भ्याएका हुन् । 

ओलीको सचिवालयले दिएको जानकारीअनुसार साउन ६ गते अर्थात् २२ जुलाईमा कोरियाली क्रिस्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा सम्बोधन गरेपछि ओली साउन ८ गते नेपाल फर्केका थिए ।
  
युनिभर्सल पिस फेडेरेसनले नेपालमा केही वर्षअघि गरेको कार्यक्रममा ओली र नेता माधवकुमार नेपाल सहभागी भएका थिए । ओली प्रधानमन्त्री भएको बेला सो कार्यक्रम भएको थियो । 

ओली त्यसबेला आएका मुन दम्पती भेटघाटका लागि होटल सोल्टीमै कोठा लिएर बसेका थिए । तर कार्यक्रम भने होटल हायातमा भएको थियो । प्रधानमन्त्री नै सहभागी भएको भनेर चर्को विरोध भए पनि ओलीले त्यसलाई सहजै पचाइदिए ।  

त्यसबेला परिवार दलका अध्यक्षसमेत रहेका नेता एकनाथ ढकाल उक्त फेडेरेसनका नेपाली एजेण्ट रहेका थिए । ढकाल अहिले एमालेका सांसद छन् । उनी पनि ओलीसँगै कम्बोडियामा देखिएका थिए । 

आधिकारिक रूपमा ‘फ्यामिली फेडेरेसन फर वल्ड पिस एण्ड रियुनिफिकेसन (विश्व शान्ति तथा पुनर्मिलनका लागि पारिवारिक महासंघ)’ नाम रहेको युनिफिकेसन चर्चलाई सन् १९५४ मा सन म्युङ मुनले दक्षिण कोरियामा स्थापना गरेका थिए । 

ढकाल भने नेपाली प्रतिनीधि हुन् । युनिफिकेसन चर्च स्थापना गर्दा मुनले आफू नयाँ ‘मसिया (उद्धारक)’ भएको र क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टले पूरा गर्न नसकेको काम पूरा गर्न आएको दाबी गरेका थिए । 

साथै उनले जिससलेसमेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग शुरु गर्ने दाबी गरेका थिए । विदेशतिर चर्चले हजारौँ जोडीलाई एक्कै पटक सामूहिक विवाह गराएर चर्चा बटुल्न थाल्यो । 

मुनले यस्तो विवाहका लागि चुनिने जोडीलाई फोटो हेरेर मिलाउँथे । परम्परागत पारिवारिक मूल्यको प्रवर्द्धन गर्ने चर्चका संस्थापक मुन कट्टर विरोधी कम्युनिस्ट थिए । 

चर्च र यसका संस्थापकको यही दक्षिणपन्थी राजनीतिक रुझान शीतयुद्धको समयमा चर्चको विदेश अझ जापानमा विस्तारका लागि सहयोगी भयो । सन् १९५७ देखि १९६० सम्म जापानको प्रधानमन्त्री रहेका आबेका हजुरबुवा नोबुसुके किशीसँग मुनको राम्रो मित्रता कायम भयो । 

आफैँ कम्युनिस्ट विरोधी रहेका किशीले १९६८ मा चर्चको राजनीतिक शाखा ‘इन्टरनेशनल फेडरेशन फर विक्टोरी ओभर कम्युनिजम’ स्थापनामा सघाएका थिए । सरकारको सहयोगमा जापानभित्र आफ्नो आधार बनाएपछि युनिफिकेसन चर्चले जापानी अनुयायीहरूलाई दुहुनो गाईजस्तै व्यवहार गरेको थियो । 

एमाले सांसद एकनाथ ढकालले एमाले ओली र नेकपा एसका अध्यक्ष माधव नेपाललाई सधैँ कोरिया, जापान, भियतनाम, कम्बोडिया जस्ता देशहरुमा घुमाइरन्छन् । 

माधव नेपाललाई त एकपटक ढकालले अफ्रिकी मुलुक घानासम्म पुर्याएका थिए । सन् २०१८ मा एसिया प्यासिफिक समिटको नाममा काठमाडौँमा भएको धार्मिक सम्मेलनलाई सफल पार्न माधव नेपाल विशेष रुपमा सक्रिय थिए । ढकालले सम्मेलन आयोजक समितिको संयोजक नै नेपाललाई बनाएका थिए । 

तत्कालीन केपी ओली नेतृत्वको सरकारले ‘होली वाइन सम्मेलन’ मा राज्यकोषबाट चार करोड रुपैयाँ खर्चेको थियो । सोही सम्मेलनका क्रममा विदेशबाट आएका विशिष्ट अतिथिहरुलाई स्वागत र भेटवार्ताका लागि भन्दै ओलीले कूटनीतिक मर्यादाविपरीत सोल्टी होटलमा भेटघाटका लागि बसेको भन्दै आलोचना भएको थियो । 

सोही सम्मेलनका लागि आएकी दक्षिण कोरियाली धर्मगुरु हाक जा हान मुन, जसले आफूलाई जिसस क्राइसकी छोरी भनेर स्वघोषणा गरेकी छिन् उनले प्रधानमन्त्री ओलीलाई एक लाख डलर राशिको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेकी थिइन् ।

त्यतिबेलाको होली वाइन काण्ड जनमानसकले बिर्सनै लाग्दा फेरि कम्बोडिया पुगेर सोही कार्यक्रममा सामेल भएपछि ओलीको नियत छर्लङ्ग हुँदै गएको भनी सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । आखिर ओली कुन धार्मिक समुदायमा पर्छन् भनेरसमेत प्रश्न उठ्न थालेको छ । ओली तिनै पूर्व प्रधानमन्त्री हुन् जसले ईश्वरको नाममा शपथ त खाँदैनन् तर ईश्वरकै नाममा राजनीति भने खुवै गर्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ