arrow

ओलीमाथि खनिए विश्वप्रकाश, भने-  भाउजूसँग ठाकठुक परेर हिँड्नुहुन्छ कि

इतिहास बङ्ग्याएर भ्रम नछर्न चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
biswa-prakash-oli.JPG

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिहानै घरबाट हिँड्ने बेलामा भाउजूसँग ठाकठुक परेर हिँड्नुहुन्छ की भनी सोधेका छन् ।  ओलीले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसमर्पणवादी भनेपछि शर्माले प्रतिवाद गर्दै यस्तो भनेका हुन् । 

शर्माले भने , ‘एमाले पार्टी अध्यक्ष, यो देशका पूर्व प्रधानमन्त्री सम्माननीय कमरेड केपी ओलीले तुलसीलाल अमात्यको स्मृति दिवसको दिन बोल्दै गर्दा बिपी कोइरालाको बारेमा, बिपी कोइरालाले २०३३ सालमा लिनुभएको मेलमिलापको नीतिको बारेमा जे बोल्नुभयो, वास्तवमा त्यो कुनै प्रतिक्रिया योग्य, टिप्पणी योग्य नै छैन । बिहानै घरबाट हिँड्ने बेलामा आदरणीय राधिका भाउजूसँग ठाकठुक परेर हिँड्नुहुन्छ की बेला बेला, शालीन व्यक्तित्व हुनुहुन्छ उहाँ, राधिका शाक्य । त्यस्तो त पक्कै हुँदैन होला ।'
 
बुधवार ललितपुरको च्यानलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीले बिपीले भारत निर्वासनमा बस्न नसकेपछि नेपाल फर्किएर राजासँग आत्मसमर्पण गरेको टिप्पणी गरेका थिए । राजासँग आत्मसमर्पण गरेको कुरालाई राष्ट्रिय मेलमिलाप नीति भन्ने गरिएको उनको आरोप थियो । 

महामन्त्री शर्माले थपे,' बीपी कोइरालाले सङ्घर्ष गर्न नसकेर ३३ सालको मेलमिलापको नीति लिनुभएको हो । बीपी कोइरालाको बारेमा यो बुझाइ नेकपा एमालेको संस्थागत बुझाई हो ? म सार्वजनिक रूपमा प्रश्न सोध्न चाहन्छु । बीपी कोइरालाले सङ्घर्ष देशमा भित्र्याएको होइन र ? यो देशमा राणासँग लड्न बन्दुक नै बोकेर काँधमा उभिएर जानुपर्छ भनेर बीपीकै प्रेरणा र विचारको नेतृत्वमा २००७ सालको क्रान्ति भएको होइन र ? बीपी कोइरालालाई सङ्घर्ष अब अहिले आएर सिकाउने हो ? बीपी कोइराला सङ्घर्ष, सिद्धान्त, संयम, समुन्नतिको मार्गचित्र स्पष्ट बोकेको राजनेता हुनुहुन्थ्यो । आजको समयमा बीपी कोइरालालाई बुझ्नलाई मदन भण्डारीको आँखाबाट पढे पनि पुग्छ । के मदन भण्डारी गलत हुनुहुन्थ्यो । जसले जनताको बहुदलीय जनवाद नाम गरेको विचार दर्शन लेख्दै गर्दा २०४९ सालको महाधिवेशनमा पेस गर्नुभन्दा अलि अघि दिनुभएको अन्तरवार्तामा भन्नुभएको थियो, मन पर्ने खाजा मम हो, मन पर्ने नेता बीपी कोइराला हो । मदन भण्डारीले बीपी कोइरालालाई आत्मसमर्पणवादी मान्नुभएको हो ? त्यो बेलाको शक्ति सन्तुलन, बङ्गलादेश पूर्वी पाकिस्तानबाट टुक्रिएको बेला, सिक्किममा भारतमा विलय भएको बेला, लोकतन्त्रका लागि घरभित्रै बसेर सङ्घर्ष गरौँ, एक ठाउँमा उभिऔँ भनेर बीपी कोइरालाले भन्नु गलत हो ? बीपी कोइरालाले पञ्चायतमा प्रवेश गर्नुभएको हो र ? सङ्घर्ष गर्न नसकेर । बीपी कोइराला २०३३ सालमा नेपाल भित्रिसकेपछि २०३६ सालको जनमत सङ्ग्रहको लागि एउटा वातावरण बनेको होइन र ? ०३६ सालको जनमत सङ्ग्रहलाई धोका हो भन्दै गरेका दलहरू अहिले पनि अस्तित्वमा हामीकहाँ छैनन् र ? कमरेड केपी ओलीकै दलले त्यो बेलामा बहिष्कार गरौँ भनेका होइनन् र ? यो ढङ्गले बीपीको नीतिलाई आत्मसमर्पण गरेको भन्ने सन्दर्भमा जाँदै गर्दा बीपी कोइराला हुनुहुन्न होला, तर बीपी कोइरालाको विचार बोक्ने मानिसहरू जिउँदै छन्, बीपीले भनेको त्यही विचारको बाटोमा नेपालको कम्युनिष्ट आन्दोलनलाई पनि रूपान्तरण गर्नतर्फ कमरेड मदन भण्डारी लाग्नुभयो । मदन भण्डारीलाई श्रद्धा गर्ने मान्छे मध्ये हुँ म । अब कस्तो समाज बनाउन चाहन्छौ कमरेड केपी ओलीलाई म सार्वजनिक रूपमा सोध्न चाहन्छु । अब बीपी कोइरालालाई, पुष्पलाल, मनमोहन, गणेशमान सिंह,गिरिजाप्रसाद कोइरालालाई, सुशील कोइराला, मदन भण्डारीलाई, कृष्णप्रसाद भट्टराईलाई गाली गरेर उहाँहरूलाई गलत हो भन्ने व्याख्या गरेर, उहाँहरूले छोडेर गएका उपलब्धिलाई आशङ्काको घेरामा पार्ने ? आज सम्माननीय पूर्व प्रधानमन्त्री केपी ओलीले जे बोल्नुभएको छ, यो अभिव्यक्तिप्रति मेरो सिंगो असहमति छ, सिंगो काँग्रेस पार्टीकै तर्फबाट म उहाँले यो प्रकारको राख्नुभएको अभिव्यक्ति सार्वजनिक रूपमा नगर्नका लागि म विनम्र अनुरोध गर्दछु । बीपी कोइरालाले परिकल्पना गर्नुभएको संसदीय लोकतान्त्रिक परिपाटीमा नेपालको कम्युनिष्ट आन्दोलन चलिरहेको छ । झापामा मुभमेण्ट गर्दै गर्दा बल प्रयोगबाट राज्य सत्ता लिने भनेर गरेको होइन ? पछि मात्रै आएर संसदीय प्रणालीमा आबद्ध हुनतर्फ विचार अङ्गीकार गर्न लागेको होइन ? अनि बीपीले नै कोरिरहेको बाटोमा नेपालको कम्युनिष्ट आन्दोलनलाई बहुदलीय जनवादमार्फत रूपान्तरण गर्दै लिएर आउने अनि बीपीमाथि औँला उठाउने यो प्रकारको व्यवहार गलत छ । बीपी कोइरालाको सबै कुरा राम्रै राम्रो थियो भनेर नभनौँला । तर बीपीको साहित्यलाई पनि कुण्ठा कुण्ठा थियो भन्दिने । बीपी र पुष्पलालको आफ्नै दृष्टिकोण छ । इतिहासका प्रति समर्पित हुने शिक्षा पछिल्लो पुस्तालाई दिऊँ । इतिहासबाट सही ढङ्गले अभिप्रेरित होऔँ । त्यसलाई वस्तुगत रूपमा समीक्षा गरौँ । बीपीको मेलमिलाप सही छ, आवश्यक अहिले पनि छ भनेर व्याख्या गर्नुपरे पनि सँगै कुनै टेबलमा बसेर गरौँला । इतिहासलाई गाली गरेर सुन्दर भविष्य बनाउन सकिँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ