- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । पश्चिम इलामको देउमाई-३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् ।
गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउछन् । तर, उनको मनमा भने आउँदो पाक्ने सिजनमा बजारमा भाउ नपाइने हो कि भन्ने चिन्ता लहरिएको छ ।
“विसं २०६७ मै एक सय ५० झ्याङ रापेर किबीखेती सुरु गरेको हुँ”, उनले मनको बह पोख्दै भने, “यसपाली साह्रै राम्रो फलेको छ । कात्तिकदेखि पाक्न सुरु हुन्छ । तर बजारमा भाउ पाइएन भने त बर्बादै हुन्छ नि ।”
पूर्वी पहाडको इलाम र पाँचथरमा किबीखेती विस्तार भइरहेको छ । भूवनोट र हावापानीका कारण विज्ञले इलामलाई किबीको खानी नै मानेका छन् । राम्रो फलेर मात्र हुँदोरहेनछ । बिक्री गर्ने बेलामा कौडीको मोलमा विचौलियालाई दिनुपर्दा किसान निराश हुने गरेका छन् ।
इलामको देउमाई, साखेजुङ, सन्दकपुर र माइपोखरीमा किबीखेती प्रवर्द्धनका लागि ‘किबी जोन’ नै सरकारले घोषणा गरेको छ ।
पाँच सय हेक्टर जग्गामा किबीखेती भएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘किबी जोन’ घोषणा गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सहयोग गर्दछ ।
‘किबी जोन’मा सरकारले किसानलाई प्रविधि, उपकरण, अनुदान र तालिमसम्बन्धी सहयोग दिँदै आएको छ ।
इलामका किसान सरकारले किबीको उत्पादन बढाउन सहयोग गरे तापनि दीगो बजारका लागि पर्याप्त मद्दत नगरेको गुनासो सुनाउँछन् ।
कटुवालले किबीको व्यावसायिक खेतीका लागि पानीटार कृषि फार्म स्थापना गरे ।
कृषि ज्ञानकेन्द्र इलामले किबीको लहरालाई फलामको दीगो थाङ्ग्रा हाल्न सुरुमा पाँच लाख अनुदान दिएको थियो ।
थाङ्ग्रो हाल्न मात्रै रु सात लाख निजी लगानी गरेको उनले बताए ।
बर्सेनि किबी खेती विस्तार गर्दै उनले अहिले देउमाईकै सबैभन्दा ठूलो किबी फार्म सञ्चालन गरिरहेका छन् ।
किबीलाई स्वादिलो र पौष्टिक फल मानिन्छ ।
यसको बजार भने झापाको विर्तामोड, मोरङको विराटनगर, सुनसरीको धरान र काठमाडौँ नै हो ।
किसानले उत्पादन गरेको किबी फल कतिपय व्यवसायीले फार्ममै आएर खरिद गर्छन् भने व्यापारी नआउँदा टिपेर बजार पुर्याउने गरेको उनले बताए ।
किसानका अनुसार कात्तिक महिनादेखि माघसम्मको चार महिना किबी पाक्ने बेला हो ।
चरा, भ्याउसो नामको जङ्गली जनावरले किबीको बोटमै गएर खाएर बाली नष्ट गर्दै आएको हुँदा पाकेका बेला रुँघेर खेतबारीमै बस्नुपर्ने हुन्छ ।
“एक सिजनमा ४० देखि ५० क्विन्टल किबी फल्छ”, पानीटार कृषि फार्मका सञ्चालक तेजबहादुर कटुवालले भने, “सुरुका वर्षमा बोटमै टिपेर क्विन्टलको ५० हजारका दरले भाउ हालेर खरिदेले लैजान्थे । गत वर्ष मुस्किलले १५ हजारका दरले दिए । यसपाली पनि भाउ बढेन भने डुबिने भइयो ।”
भारतबाट सस्तो किबीको निर्वाध आयात भइरहेका कारण स्थानीय उत्पादनले बजारमा उचित भाउ नपाएको किबी उत्पादक कटुवालको भनाइ छ ।
उनका अनुसार इलाममा प्रशस्त किबी उत्पादन भए तापनि सरकारले जुस, जाम र वाइन कारखाना खोल्न प्रोत्साहित गरेन ।
धनकुटाको राजारानीमा माउन्ट एभरेस्ट वाइनरी प्रालिले किबीबाट वाइन उत्पादन गरिरहेको छ ।
कटुवालले किबीको सबैभन्दा बढी उत्पादन हुने इलाममै वाइन, जुस र जामको कारखाना खोल्नसके किबी किसान लाभान्वित हुने बताए ।
आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा नाकाबाटै रु दुई करोड ८५ लाख २० हजार मूल्य बराबरको ७१ मेट्रिकटन भारतीय किबी भित्रिएको पाइएको छ ।
भारतबाट भित्रिने किबी सस्तो हुने गरेको छ ।
कोशी प्रदेशका झापा र सुनसरीबाहेक १२ जिल्लामा किबीको व्यावसायिक खेती हुँदै आएको छ ।
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका कृषि अर्थविज्ञ सार्थक घिमिरेका अनुसार कोशी प्रदेशको किबी रोपिएको कूल क्षेत्रफलमध्ये आधाभन्दा बढी खेती इलाममै छ ।
उनका अनुसार कोशी प्रदेशमा एक हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा किबी खेती छ भने वार्षिक उत्पादन तीन हजार पाँच सय ४७ मेट्रिकटन रहेको छ ।
जबकी, इलामको किबीखेती सात सय हेक्टरमा विस्तार भइसकेको छ भने वार्षिक उत्पादन एक हजार पाँच सय मेट्रिकटन रहेको छ ।
नेपालभर दुई हजार पाँच सय ९९ हेक्टर क्षेत्रफलमा किबीखेती गरिएको र त्यसबाट सात हजार छ सय ९८ मेट्रिकटन फल उत्पादन हुँदै आएको छ ।
कृषि अर्थविज्ञ घिमिरेका अनुसार देशभरको किबी खेतीमध्ये आधा इलाममै रहेको छ ।
इलामपछि पाँचथरमा दुई सय ५० हेक्टर र सोलुखुम्बुमा एक सय १५ हेक्टर क्षेत्रफलमा किबीखेती हुँदै आएको छ ।
खोटाङमा ४०, सङ्खुवासभामा ३६, भोजपुरमा ३५, ताप्लेजुङमा ३०, धनकुटामा २४, तेह्रथुममा १६, उदयपुरमा १५ र मोरङमा १५ हेक्टर क्षेत्रफलमा किबीखेती हुँदै आएको छ ।