arrow

झापा कारागारको हुलदङ्गा नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
Jhapa karagar.jpg

झापा । झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसकेको छ । आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । 

मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

उनका अनुसार अपराह्न ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नारा जुलुस र ढुङ्गामुढा सुरु गरेका थिए । 

कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले कारागारभित्रको स्थिति एक घण्टाभित्रै नियन्त्रण भएको बताए । 

“अहिले स्थिति नियन्त्रणमा आइसकेको छ”, उनले भने, “कैदीलाई सरुवा गर्न लाग्दा भित्रबाट हुलदङ्गा गरेको पाइयो ।”

आगो निभाउन मेचीनगर, भद्रपुर र बिर्तामोडको दमकल कारागार पुगेका थिए । 

असन्तुष्ट कैदीबन्दीले भित्रबाट कारागार परिसरमा ढुङ्गामुढा गरेका कारण एक घण्टासम्म प्रहरीलाई समेत भित्र जान दिएका थिएनन् । 

प्रजिअ पोखरेलले घटनामा कुनै मानवीय क्षति नभएको बताए । 

कैदीबन्दीले हुलदङ्गा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ । 

उनीभित्र गएपछि कैदीबन्दीले ढुङ्गामुढा बन्द गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ