arrow

हेल्मेट लगाउनैपर्छ त ?

logo
डा. बद्रीप्रकाश ओझा,
प्रकाशित २०८० साउन २० शनिबार
article-badriprakash-ojha-saun20.jpg

दुई पांग्रेमा यात्रा गर्नेले हेल्मेट लगाउनै पर्छ त ? हो पर्छ । नेपालमा २०४९ सालमै यस्तो कानून लागू भएको थियो । सवारी तथा यातायात सम्बन्धी कानूनी व्यवस्था गर्न बनेको ऐन २०४९ ले मोटरसाइकल वा अन्य दुई पांग्रे सवारी साधनका चालक तथा पछाडि बस्ने यात्री दुवैले हेल्मेट लगाउनै पर्ने व्यवस्था गरेको छ ।  

उक्त कानूनको दफा १३० मा यस्तो व्यवस्था गरिएको छ,  सवारी चलाउँदा सुरक्षापेटी तथा हेल्मेट लगाउनुपर्ने – (१) तोकिए बमोजिमको सवारी चलाउँदा चालक वा सवारीको अघिल्लो सिटमा बस्ने व्यक्तिले सुरक्षापेटी बाँध्नुपर्छ । सोही दफाको उपदफा २ ले यस्तो व्यवस्था गरेको छ – (२) मोटरसाइकल वा अन्य यस्तै दुई पांग्रे सवारी साधन चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ । 
विश्व स्वास्थ्य संगठनका अनुसार दुई पांग्रे सवारी साधनका प्रयोगकर्ताहरुले हेल्मेट मात्र लगाए पनि रोडक्र्यासमा घाइते हुने वा मृत्यु हुने क्रममा ८० प्रतिशतसम्म न्यून पार्न सकिन्छ । अमेरिकाको जनस्वास्थ्य केन्द्र सीडीसीको अध्ययन अनुसार मोटरसाइकलमा हेल्मेटको उपयोग गर्नाले प्रयोगकर्ताहरुको टाउकोमा चोट लाग्ने क्रममा ६९ प्रतिशत र मृत्युको जोखिम ३७ प्रतिशतले कमी ल्याउन सकिन्छ । 

अझ साइकलका प्रयोगकर्तासम्बन्धी अध्ययनले त हेल्मेट अझ बढी प्रभावकारी देखाएको छ । केन्द्रका अनुसार साइकलका प्रयोगकर्ताले हेल्मेट लगाए क्र्यासमा पर्दा पनि मष्तिष्कमा असर पर्ने क्रममा ८० प्रतिशतले कमी ल्याउन सकिन्छ । 

यस्ता तथ्यांक हुँदाहुँदै पनि र कानूनलेसमेत प्रस्ट व्यवस्था गर्दासमेत पनि हामीहरु सचेत छैनौँ । विश्वव्यापी रुपमा हेर्ने हो भने यो व्यवस्था धनी देशमा राम्ररी लागू भएको पाइन्छ भने जति आय कम हुँदै जान्छ, ती देशका नागरिक यस्ता विषयमा झन सचेत देखिँदैनन् । 

पश्चिमी मुलुकहरुमा हेल्मेट लगाउने र नलगाउने घाइतेहरुको उपचार खर्चको हिसाब हेर्दा हेल्मेट लगाउनेलाई सरदर पाँच सय ४० अमेरिकी डलरदेखि चार हजार एक सय डलरसम्म खर्च लागेको पाइएको छ । यस्तै हेल्मेट नलगाउने घाइतेहरुको उपचार खर्चको शुरु नै तीन हजार एक सयबाट भई माथिल्लो तह सात हजार चार सय अमेरिकी डलरसम्म लागेको पाइएको छ । 

नेपालमा पनि यसको प्रभाव बढ्दो छ । सन् २००८ मा एघार सय जना रोडक्र्यासमा मारिएका थिए भने १० वर्षको अन्तरालमा उक्त संख्यामा डेढ सय प्रतिशतले वृद्धि भयो । हुन त सवारी साधनको संख्या पनि नबढेको होइन । तर नियमित रुपमा सरकारी तथा गैर सरकारी क्षेत्रबाट निगरानी गर्दागर्दै पनि सडकमा मानिसको ज्यान जाने क्रम डेढ सय प्रतिशतले बढ्नु दुःखद विषय हो । यो क्रम बढ्दै जाँदा आगामी वर्षहरुमा सडकमा ज्यान गुमाउँनेको संख्या निकै बढी हुने अनुमान गर्न सकिन्छ । कमसेकम पाँच हजारभन्दा बढी मानिस बर्सेनि सडकमा मारिँदै आएका छन् । 

सन् २०१७ को हिसाब अनुसार बर्सेनि सडक परिघटनामा नेपालको कूल गार्हस्थ उत्पादनको डेढ प्रतिशत हिस्सा घाइतेको उपचारमा मात्र खर्च हुन्छ । उक्त वर्षको हिसाबमा वार्षिक करिब १४ अर्ब नेपाली रुपैयाँ घाइतेको उपचारमा खर्च हुन्छ । 

विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार हाल विश्वका ४७ वटा मुलुकमा मात्र शहरी क्षेत्रका सडकमा अपनाइनुपर्ने गतिको सिमासम्बन्धी कानूनी व्यवस्था गरिएको छ । त्यस्तै विश्व स्वास्थ्य संगठनको सीमा अनुसारको मापसेको मापदण्ड विश्वका ३४ मुलुकले मात्र लागू गरेका छन् । 

उक्त मापदण्ड अनुसार रगतमा मादक पदार्थको मात्रा ०.०५ जीडीएलभन्दा कम हुनुपर्दछ । नेपालमा पनि यस्तो कानून छ तर यहाँ मादक पदार्थको मात्रा शून्य हुनुपर्दछ । हाम्रोमा साइकलका प्रयोगकर्ताले हेल्मेट लगाउने प्रचलन न्यून छ । 

त्यस्तै चार पांग्रेमा सवारहरुमध्ये कानूनले अगाडि बस्ने यात्रु र चालकले अनिवार्य सिट बेल्ट लगाउनुपर्ने व्यवस्था भए पनि व्यवहारमा लागू हुन सकेको छैन । चालकले लगाउँछन् तर यात्रूले लगाउँदैनन् । चालकमध्ये पनि सार्वजनिक सवारी साधनका चालकले प्रहरीको आँखा छल्न सिटबेल्ट लगाएको पाइन्छ । प्रहरी नभएको जस्तो लागे खोलेर हाँक्छन् । 

अझ पहाडी क्षेत्रका चालकले त प्रहरी चौकी आसपासमा मात्र सिट बेल्ट लगाउने गरेको हामीले देखेकै छौँ । गाडीमा पछाडि बस्ने यात्रुले पनि सिट बेल्ट लगाउनु पर्ने नियम हाम्रोमा छैन । विश्वका करिब सयभन्दा बढी देशले यस्तो व्यवस्था गरिसकेका छन् । 

हाम्रो कानूनमा संशोधनको आवश्यकता छ । धनी देशका कुनै पनि भाडाका सवारी साधनमा बढीमा एक जनामात्र यात्रु उभिएर यात्रा गर्न पाउने कानूनी व्यवस्था छ । त्यो पनि स्थानीय यातायातमा मात्र । टाढा जानेले त्यसो गर्न पाउँदैनन् । हाम्रोमा पनि टाढा जाने वा लामो दूरीमा चल्ने सवारी साधनले उभ्याएर यात्री राख्न पाउँदैन भन्ने कानूनी व्यवस्था छ । तर व्यवहारमा लागू भएको छैन । 

यदाकदा कानून लागू गर्ने पक्षमाथि दोष दिइन्छ । तर भरिएको गाडीमा चढ्ने यात्रु आफैँ दोषी हो भन्ने अझैसम्म चेतना आइसकेको छैन । यसपछि यातायातका साधनको कमी मूख्य कारण हो । खासगरी दूरदराजमा चल्ने सवारी साधनमा यस्तो समस्या आइपर्दछ । 

शहरमा पनि यस्तो समस्या देखिनुचाहिँ चेतनाकै कमी मान्नुपर्दछ । यसको समाधानका लागि अफिस जाने र आउने समयका लागि अतिरिक्त सवारी साधनको व्यवस्था गरे समस्या समाधान भइहाल्छ । तर कतिपय अवस्थामा सवारी चालकले मानिस भरिएर नउभिँदासम्म गाडी नै गुडाउन मान्दैनन् । 

विश्वका एक सय १६ मुलुकले मात्र आपतकालीन एकल टेलिफोन नम्बरको व्यवस्था गरेका छन् । जस्तो कि अमेरिकी महादेशका मुलुकमा ९११ मा डायल गरेपछि सबै किसिमका आपतकालीन सेवाको माग गर्न सकिन्छ । 

नेपालमा पनि यस्तो व्यवस्था छ । तर एउटै नम्बरबाट प्राप्त गर्न सकिँदैन । यहाँ प्रहरीको सेवा चाहिए १००, एम्बुलेन्सको सेवा चाहिए १०२ र वारुणयन्त्रलाई खबर गर्न १०१ नम्बर डायल गर्नुपर्दछ । त्यस्तै ट्राफिक प्रहरीको सेवाका लागि १०३ मा डायल गर्नुपर्दछ । यी सबै सेवालाई एकीकृत गरी एउटै आपतकालीन उद्दार सेवा प्राधिकरण स्थापना गरे सेवाग्राहीलाई सजिलो पर्दछ । 

नेपालमा मोटरसाइकलको प्रयोग अन्य एसियाली मुलुकमा झैँ अन्य साधनका तुलनामा सबैभन्दा बढी छ । समयको बचत तथा सार्वजनिक सवारी साधनको सहज उपलब्धता तथा यसको विश्वसनीयताको कमीका कारण स्थानीयस्तरमा दुई पांग्रेको प्रयोग बढी गरिन्छ । तर यस्ता सवारी साधनलाई सुरक्षित बनाउनेबारे अधिकांश प्रयोगकर्ताबाट खासै चासो व्यक्त गरेको पाइँदैन । यी उपायमध्ये सबैभन्दा महत्वपूर्ण र जीवन जोगाउने माध्यम हो, हेल्मेट । 

यसको प्रयोगमा त्यति ध्यान दिइँदैन । यदाकदा कसैलाई सोध्ने हो भने यसको प्रयोगका फाइदाबारे जानकारी छ तर प्रयोग गरिँदैन । हाम्रोमा कानून मिच्नुलाई ठूलाबडाको पहिचानका रुपमा लिइन्छ । त्यसमा पनि सवारीका क्षेत्रमा सबैभन्दा बढी कानून मिचिँदोरहेछ । यसैले हाम्रो देशको कानूनलाई विदेशीले असल कानून मानेका छैनन् । 

मोटरसाइकल बढी गतिमा चलाउनु, देब्रेपट्टिबाट ओभरटेक गर्नु, हेल्मेट नलगाइ मोटरसाइकल वा अन्य दुई पांग्रे चलाउनु, मोटरसाइकलको पेट्रोल ट्यांकीमाथि बालबालिका बोकेर हिँड्नु आदि कार्य हाम्रो मोटरसाइकलमा सवार हुनेका लागि नयाँ विषय होइन ।

मोटरसाइकल वा अन्य अन्य दुई पांग्रे सवारी साधनमा पछाडिपट्टि बस्ने यात्रुले हेल्मेट नलगाउनु, दुईभन्दा बढी मानिस सवार हुनु, अझ हेल्मेट बिनै बढी मानिस राख्नु, सवारी साधनको भार क्षमताभन्दा बढी समान बोक्नु, सिसा, प्लाइउड वा काठको बोर्ड जस्ता ठूलो आकारका समान दुई पांग्रेमा ओसार्नु  आदिलाई पनि हाम्रोमा सामान्य मानिन्छ तर यी जोखिमपूर्ण सवारी व्यवहार हुन् । 

अझ एक हातले ह्यान्डल समातेर मोबाइल फोन प्रयोग गर्ने, हेल्मेटमा फोन अड्काएर बोल्दै हिँड्ने, हातमा सरसमान बोकेर अन्य दुई पांग्रे चलाउने पनि थप जोखिमपूर्ण व्यवहार हुन् ।  

त्यसैले समाजमा शान्ति खलबल हुन नदिन दुई पांग्रेका प्रयोगकर्ताले हेल्मेट प्रयोग गरौँ । टोलछिमेकमा हेल्मेट नलगाइ दुई पांग्रे सवारी प्रयोग गर्नेहरुलाई रोकेर सम्झाऔँ । सर्वसाधारणले यस्ता कदममाथि निगरानी राखे समाधान गर्न सजिलो पर्दछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ