arrow

नेपालमा चिनियाँ आपराधिक गिरोहको राजनीतिक कनेक्सन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
100kg-gold-cib-2080-04-21 (10).jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालमा चिनियाँ आपराधिक गिरोहको राजनीतिक कनेक्सन खुल्न थालेको छ । उनीहरू योजनाबद्ध तरिकाले नेपालमा तस्करी, प्रविधिसम्बन्धी अपराधमा संलग्न पाइएका छन् ।

१८ जुलाईमा हङकङबाट एक सय केजी सुन तस्करी गरी नेपाल ल्याइएको घटना खुलेपछि चिनियाँ गिरोहको नेपालमा सङ्गठित अपराधमा भइरहेको सक्रियताबारे तथ्य प्रमाणहरू खुल्न थालेको छ ।  १९ जुलाईमा भन्सार चेक प्वाइन्ट कटेपछि राजश्व अनुसन्धान विभागले ब्रेक सुमा लुका ल्याइएको सुन बरामद गरेको थियो । त्यसको भोलिपल्ट चिनियाँ नागरिक जिक्वाङ लिन भाग्न खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे ।

जिक्वाङमाथि अनुसन्धान बढाउँदा अर्का चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन् । आइतबार पक्राउ परेका उनको नेपालको सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरूसँग सम्बन्ध रहेको खुलेको छ । चीनसँग निकट मानिने माओवादी नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुनसँग छिरिङको सम्बन्ध रहेको पाइएको छ ।

राजश्व अनुसन्धान विभागका एक अधिकृतले हिन्दूस्थान टाइम्सलाई चिनियाँ तस्कर गिरोहको राजनीतिक कनेक्सनबारे अनुसन्धान भइरहेको बताएका छन् । सामाजिक सञ्जालमा छिरिङले माओवादीका उपमहासचिव वर्षमान पुन र उनकी पत्नी एवं पूर्व सभामुख ओनसरी घर्तीसँग खाना खाइरहेको तस्बिर पत्ता लागेको छ । पुन चीनसँग बलियो सम्बन्ध रहेका माओवादी नेता हुन् ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको सम्बन्ध इलेक्ट्रोनिक चुरोट भेपमा लुकाएर सुन तस्करी गर्ने गिरोहसँग रहेको खुलेको छ । २०२२ को डिसेम्बरमा भेपमा सुन लुकाएर ल्याउने गिरोहबारे खुलेपछि प्रहरीले यसै वर्षको जुलाईमा केही व्यक्तिलाई पक्राउ गरेको छ । 

चिनियाँ नागरिक दाओजिन वाङ भेपबाट सुन तस्करी प्रकरणमा ९ केजी सुन छुटाउन सक्रिय रहे । उनले पूर्व सभामुख महरालाई लगाएर यो प्रकरणमा सुन र पक्राउ परेकाहरूलाई छुटाउन दबाब दिएका थिए । उनका छोरा राहुल महरा पनि यो घटनामा मुछिएका छन् ।

सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको संलग्नता नेपालमा अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाउने, एपमार्फत अवैध असुलीमा पनि रहेको छ । सन् २०२२ को जुलाईमा नेपालको ठमेलस्थित होटेल भियनामा गैरकानूनी धन्दामा संलग्न चार चिनियाँ नागरिक पक्राउ परेका थिए । यो गिरोहमा दावा पनि थिए । तर उनी फरार भए ।

सन् २०१७ मा काठमाडौँमा अनलाइन ग्याम्बलिङ र अश्लील भिडियो देखाएर रकम असुल्ने गिरोहका १२२ चिनियाँ खोजीमा परेका थिए । यो घटनामा अधिकांश चिनियाँ फरार भएका थिए । पक्राउ परेकाले नेपाल प्रहरीलाई नै आक्रमण गरेका थिए ।

नेपाल प्रहरीका एक उच्च अधिकारी चिनियाँ गिरोहलाई देशभित्र र बाहिरको समेत राजनीतिक संरक्षण प्राप्त भइरहेको बताउँछन् । उनीहरू योजनाबद्ध रूपमा नेपालमा अपराधको जालो फैलाइरहेका छन् । विशेष गरी आर्थिक अपराधमा उनीहरूको संलग्नता बढिरहेको छ ।

नेपालमा सङ्गठित अपराधमा चिनियाँ गिरोह नै लागेको छ । उनीहरू काठमाडौँका विभिन्न स्थानमा घर भाडामा लिएर अपराध कार्यमा लागेको पत्ता लागेको छ। तर राजनीतिक पहुँच र प्रभाव देखाएर प्रहरी कारबाहीबाट जोगिने गरेका छन् । कतिपय घटनाको अनुसन्धान नै अगाडि बढ्न दिइँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ