arrow

टाइगर प्यालेस विवाद

विवादित टाइगर प्यालेस नेपाल बाहिर बिक्री, स्वामित्व हस्तान्तरणमा जटिलता

कांग्रेसका मन्त्रीको ढाडसमा डिल

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
tiger-one.jpg

काठमाडौँ । विवादित पाँच तारे होटल टाइगर प्यालेस बिक्री भएको छ । भैरहवाको उक्त टाइगर प्यालेस गैरआवासीय नेपाल संघ (एनआरएन) अमेरिकाका अध्यक्ष बुद्धिप्रसाद सुवेदीले किनेका हुन् । 

मूख्य लगानीकर्ता सुवेदी भए पनि उनीसँगै एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यसमेत जोडिएका छन् । यसअघि आचार्य मूख्य लगानीकर्ता हुने चर्चा हुँदै आएको थियो । 

पाँच छ जना लगानीकर्तामार्फत शून्य लागतमा हङकङमा खडा भएको नेपोलियन टाइगर इन्भेष्टमेन्ट (एलएलसी) ले टाइगर प्यालेस किनेको हो । 

हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीले सञ्चालन गरेको सुवेदीसहितको टिमले खरिद गरेको हो । 

शक्तिकेन्द्र धाउँदा फेला परे कांग्रेस मन्त्री 
यो किनबेचको डिल भने नेपालमा नभइ ओमानमा भएको उच्च स्रोतले बताएको छ । अदालतले भवन नै भत्काउन आदेश दिएको उक्त प्यालेस विदेशमा किनबेच भएसँगै यसको स्वामित्व हस्तान्तरणमा भने जटिलता देखिएको छ । 

तर यसको जटिलता पन्छाउने जिम्मा नेपाली कांग्रेसबाट सरकारमा गएका एक सिनियर मन्त्रीले लिएको उच्च स्रोतले बताएको छ । 

स्रोतले भन्यो, ‘यो डिल ओमानमा भएको छ । सरकारमा रहेका कांग्रेसका सिनियर मन्त्रीले नै काँध थापेपछि काम नहुने त कुरै भएन ।’

उनका अनुसार ती मन्त्रीले भइपरी आउने सबै समस्याको समाधान आफूले गरिदिने बताएका छन् । 

यसका लागि उनले निकै मोटो रकम हात पारेकोसमेत स्रोतको दाबी छ । स्रोत भन्छ, ‘यो सोध्ने प्रश्न नै हैन । अदालतको आदेशसमेत लत्याइएको यो मुद्दालाई पैसा बाहेक अरु कसैले पनि मिलाउन सक्दैन ।’

सुवेदीको समूह टाइगर प्यालेस किन्नुअघि विभिन्न शक्ति केन्द्रमा धाएको थियो । त्यसपछि तिनै कांग्रेसका सिनियर मन्त्रीले ढाडस दिएपछि यो कार्य सम्पन्न भएको स्रोतको दाबी छ । 

यसको डिल बाहिर र खरिद बिक्री पनि बाहिर भएपछि नेपालले पाउने लाभकर भने निकै कम उठ्ने छ । यथार्थभन्दा निकै कममा डिल भएको देखाएर नेपालको लाभकर घटाइने उच्च स्रोतले बताएको छ । 

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा १५ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा करिब ५ अर्ब रूपैयाँ लगानी रहेको छ । 

नेपालमा १० अर्बमा डिल भए पनि हङकङ पाँच अर्ब भनेर लाभकर छलिको उद्धेश्य राखिएको स्रोत बताउँछ । 

यो कम्पनीले यसअघि ३ सय ९३ जना नेपाली कामदारलाई रोजगारीबाट निकालेको थियो । सोही मुद्दामा कम्पनीविरूद्ध ६२ करोड रूपैयाँ क्षतिपूर्ति मागदाबीसहित अदालतमा मुद्दासमेत चलिरहेको छ । 

उक्त रिसोर्ट किनेका एनआरएन अमेरिकाका अध्यक्ष सुवेदीले अमेरिकामा क्यासिनोमा लगानी गर्दै आएका छन् । 

के छ यसको विवाद ? 
यो रिसोर्टविरुद्ध अदालतमा मुद्दा छ । रिसोर्टलाई मिचिएको सार्वजनिक जग्गा खाली गर्न जिल्ला अदालत रुपन्देहीले आदेश दिइसकेको छ । जुन मुद्दा अहिले उच्च अदालत तुलसीपुर बुटवलमा इजलासमा रहेको छ । 

राजकुलो तथा सार्वजनिक कुलो मिचेर रिसोर्ट बनाइएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थानीयले दायर गरेको मुद्दामा जिल्ला अदालतले आदेश दिएको थियो । 

जिल्ला अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले रिसोर्टले मिचिएको सार्वजनिक जग्गा खाली गर्न परेको मागदाबी अनुसार हुनेगरी फैसला गरेको थियो । 

शुरुआतदेखि नै विवाद
हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीले सञ्चालन गरेको रिसोर्ट निर्माण हुँदादेखि नै विवाद रहेको छ । 

साढे १२ सय कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त रिसोर्ट सार्वजनिक तथा सरकारी नहर रहेको छ । 

निर्माण सुरु गर्दा नै स्थानीयले विरोध गरे पनि लगानीकर्ताले निर्माण अघि बढाएको थियो । 

रिसोर्टले २३ कठ्ठा सरकारी जग्गामा दर्जनौँ संरचना बनाएको छ । जसमा क्यासिनो, सभाहल, स्विमिङ पुल, रेष्टुराँसमेत छन् । 

अदालतको आदेशसँगै सरकारी जग्गामा बनेका सबै संरचना भत्काउनुपर्ने हुन्छ । तर अझै पनि अटेरी भइरहेको छ । 

१५ बिगाह जमीनमा सरकारले ४ बिगाह त खोसिसकेको छ । अब कुलो बाँकी रहेको छ ।
 

रिसोर्टमा नेपाली बैंकहरुको लगानी
रिसोर्टमा नेपाली बैंकहरूको लगानी रहेको छ । सार्वजनिक जग्गा लुकाएर बनाइएको जग्गा तथा सम्पत्तिको मूल्यांकनकै आधारमा बैंकहरूले लगानी गरेका हुन् । 

रिसोर्टमा प्राइम बैंकले २ अर्ब ५० करोड ऋण लगानी गरेको छ । तर यो पनि विवादमा तानिएको छ । 

राजकुलो तथा सार्वजनिक कुलो मिचेर रिसोर्ट बनाइएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थानीयले दायर गरेको मुद्दामा जिल्ला अदालत रुपन्देहीले आदेश दिएपछि बैंकको ऋणसमेत विवादमा परिरहेको छ ।

प्राइम बाहेक बाँकी विदेशी लगानीकर्ताको लगानी रहेको छ । जसमा २ अर्ब ५० करोड रहेको छ । 

तर सरकारी जमीन अतिक्रमण गरेको कम्पनीमा प्राइमले कसरी लगानी गर्न पुग्यो भन्ने रहस्यमै छ । 

कम्पनी सुनमा जोडिएको हुन सक्ने 
अहिले देशमा सय किलो अवैध सुनको चर्चा चलिरहेको छ । यसमा हङकङ, चीन र भारतको कनेक्सन देखिएको पाइएको छ । 

यही मेसोमा हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्राली पनि मुछिएको आशंका गरिएको छ । 

सुनको व्यापार र यो कम्पनीको खरिद प्रक्रिया सँगसँगै भएको पाइएको बताउँदै उच्च स्रोत भन्छ, ‘बहुआयामिक सौदा झल्किएकाले यहाँ सुनको नेक्सस खोज्न सकिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ