arrow

पाँच एआईजीको सरुवा, ज्ञवाली मुख्यालयमा, भण्डारी प्रतिष्ठानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २ शनिबार
nepal-police-logo.jpg

काठमाडौँ । नक्कली भुटानी शरणार्थीको प्रकरणमा मातहतमा प्रहरी अधिकारीहरुसँग समन्वय गर्ने एआईजी श्याम ज्ञवालीसहित पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । प्रशासन विभागका एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ । 

थापाको स्थानमा कार्यविभाग प्रमुख मीरा चौधरीलाई पठाइएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ । राईले सरुवा प्रकृयामा असन्तुष्टि जनाएका थिए । तर उनको असन्तुष्टिको सुनुवाइ भएन । 

मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ । सरुवा मापदण्ड बनाउने भण्डारीको पनि पाँच महिनामा सरुवा भएको हो । 

तीन एआईजीहरू केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत् राखिएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मातहत प्रहरीसँग समन्वय गरिरहेका ज्ञवालीको भूमिकालाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि जनाएका थिए । 

कांग्रेसलाई मात्र छानेर प्रहरीले पक्राउ गरेको र बद्नाम गरेको भन्दै यसअघि नै देउवाले असन्तुष्टि जनाएका थिए । देउवासमेत ज्ञवालीको सरुवा गर्न चाहेका थिए । 

उनलाई प्रहरी महारिीक्षक हटाउन लागिपरेको आरोपसमेत लाग्ने गरेको छ । उपत्यका प्रहरी कार्यालय प्रमुख ज्ञवाली, काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी भुटानी शरणार्थी प्रकरणको समग्र अनुसन्धान प्रक्रियामा सामेल प्रहरी अधिकारी हुन् । 

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी केसीलाई पनि सरुवाको तयारी गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनको पनि केही दिनमा सरुवा हुँदैछ । 

प्रहरी महानिरीक्षकबाटै सरुवा गर्ने भएकाले उनको पनि केही दिनमा सरुवा हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ