arrow

कांग्रेसमा बल्झियो आन्तरिक विवाद

कुबेलामा अनुशासनको डन्डा लगाउने आनन्दको निर्देशनपछि गगनले प्रयोग गरे अधिकार 

बागी उम्मेदवार बनेर विजयी भएकाको कारबाही फुकुवा, अन्तर्घात गरेको आरोप लागेकालाई डन्डा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
congress-nc-party-office-hq.jpg

काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले नियोजित रुपले कारबाही गरेको पाइएको छ । उनले पर्सा–१ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई साउन २० देखि ३० गतेसम्म भएको पार्टीको आन्तरिक अभियानमा हुने गतिविधिबाट बाहिर राख्न निर्देशन दिएसँगै उनी विवादमा परेका हुन् । 

अनुशासन समितिले गत स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बागी उम्मेदवार बनेर विजयी भएकाहरुमाथिको कारबाही फुकुवा गरे पनि कांग्रेसभित्र निर्वाचनताका अन्तर्घात गरेको आरोपमा ४६ जिल्लाबाट २१ सय नेता–कार्यकर्तामाथि परेको उजुरीलाई आधार बनाएर गुप्तालाई कारबाही गरेका हुन् । 

गत साउन १५ गते जिल्ला अनुशासन समिति पर्साले केन्द्रमा पत्र लेख्दै प्रदेश र प्रतिनिधि सभाका आधिकारिक उम्मेदवारलाई पर्सा–१ का क्षेत्रीय सभापति गुप्ताले असहयोग गरेको जानकारी गराएको आधारमा उनलाई पार्टी गतिविधिबाट बाहिर राख्न साउन १९ गते जिल्लालाई संयोजक ढुंगानाले पत्र पठाएका थिए । जबकि २० गतेदेखि त पार्टीको आन्तरिक अभियान नै शुरु भएको थियो ।

ढुंगानाको पत्रमा ‘जिल्लाबाट कारबाहीको सिफारिस भएकाले अर्को निर्णय नभएसम्म उपसभापतिबाट कार्यवाहकबाट कार्यक्रम गराउन’ भन्ने थियो । अनुशासन समितिले १९ साउनमा पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीलाई पत्र लेखेर गुप्तालाई पार्टीका काममा रोक लगायो । 

केन्द्रको पत्र अनुसार जिल्ला सभापति क्षेत्रीले पर्सा १ को कार्यवाहक क्षेत्रीय सभापतिमा अनिलप्रसाद सिंहलाई तोकेका थिए ।

२१ सय उजुरीमा गुप्तालाई मात्र पार्टीको जिम्मेवारीबाट अलग गराउने ढुंगानाको पत्रलाई शेखर–गगन समूहले पूर्वाग्रही भएको निष्कर्ष निकाल्यो । यसबारे उनीहरुले पार्टी सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।

ढुंगानासँग महामन्त्री गगनकुमार थापाले पनि चासो राखेका थिए । तर त्यसको सुनुवाइ भएन । गुप्ताले अनुशासन समितिबाट आएको पत्रबारे केन्द्रमा पत्र पठाएका थिए । 

त्यो पत्र आएसँगै महामन्त्री थापाले गुप्तालाई पार्टी गतिविधिलाई निरन्तरता दिन पत्र पठाए । थापाले साउन ३२ गते पत्र पठाएका थिए । 

योसँगै अहिले पर्सा १ मा विवाद चर्किएको छ । क्षेत्रीय सभापति गुप्तालाई कारबाही गरेर सिंहलाई क्षेत्री सभापतिको जिम्मेवारी दिइएको छ । 

तर केन्द्रबाटै महामन्त्री थापाले ‘केन्द्रीय कार्यसमितिबाट अर्को निर्णय नहुने बेलासम्म पार्टीको विधानको धारा ११ को उपधारा ६ बमोजिम उल्लेखित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सभापतिको काम, कर्तव्य र अधिकारको अधिनमा रही क्षेत्रीय सभापतिको हैसियतमा क्षेत्रमा पार्टीले संचालन गर्ने अभियान र विधान बमोजिम गर्नुपर्ने सांगठनिक गतिविधि एवं कामकाज गर्न गराउनका लागि निर्देशन गरिन्छ’ भनी निर्देशनात्मक पत्र पठाए । 

योसँगै पर्सा १ को विवाद चुलिएको हो । 

एकातिर पार्टीका कार्यकर्ताहरु घट्दै गएको र यिनीहरुलाई बचाएर संगठित गरेर अगाडि बढ्नु पर्छ भनी एक वर्षपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने र अर्कातिर कारबाही गरेर काखा पाखा गर्न थालेपछि नेतृत्वको नियतमाथि गम्भीर प्रश्न खडा भएको छ । 

हुनत पार्टीभित्र सभपाति शेरबहादुर देउवा पक्षले संस्थापन इतर पक्षलाई पहिलेदेखि नै दुःख दिँदै आएको छ । त्यसमाथि संगठित गरेर जानुको सट्टा भ्रातृ संगठनहरुमा ल्याएको विचलन जस्तै माउ पार्टीभित्रै बेला न कुबेला कारबाही र पुरस्कारको व्यवस्था गर्न थालेपछि भने यसले ठूलै विद्रोह निम्तिने संकेत दिएको छ । 

निर्वाचनका बेलामा विद्रोह गरेर उम्मेदवार दिनेहरुलाई कारबाही फुकुवा गर्ने पार्टीले बाँकी नेता कार्यकर्तालाई कारबाही गर्न खोज्नु सिंगो पार्टीका लागि शुभ संकेत होइन । 

गगन–शेखर समूहको विद्रोह फैलदो 
अनुशासन समिति संयोजक ढु्ंगानाले २१ सय नेता कार्यकर्तालाई छानीछानी संस्थापन र इतर छुट्टाएर कारबाही गर्ने हो भने त्यसैअनुसार जवाफमा उत्रने संकेत गगन–शेखर (डा शेखर कोइराला) समूहले दिएको छ । 

यसअघि नै पार्टीको भ्रातृ संस्था विस्तार र जिल्ला अध्यक्ष तोक्ने कार्यले विवाद बढाउँदै लगेको छ । जसका कारण विवाद थप चुलिएको छ । 

नेपाल महिला संघ र नेपाल विद्यार्थी संघको जिल्ला कमिटी बनाउँदा नै विवाद भएको छ । नेवीसंघमा मनलाग्दी तरिकाले पद हेरफेर गरिएको छ भने महिला संघमा पनि अध्यक्षबाट जिल्ला अध्यक्षहरु मनलाग्दी तरिकाले अध्यक्ष फेरेको आरोप गगन–शेखर पक्षले लगाएको छ । 

समय दिँदा पनि नसुध्रिएपछि महिला संघमा भने गगन–शेखर समूहका २० केन्द्रीय सदस्यले अध्यक्षलाई कारबाही नै गर्न माग गरेका छन् । संघकी अध्यक्ष उषा मिश्रले १२ जिल्ला अध्यक्ष एकलौटी ढंगले फेरेपछि गल्ती सच्याउन माग गरिएको थियो । तर नसच्याएपछि गगन–शेखर पक्षले नौ जिल्लामा समानान्तर अध्यक्ष खडा गरेको छ । 

कांग्रेसको नेतृत्वले भ्रातृ संस्थाहरुको चुनाव पनि नगराउने र तदर्थवादलाई लम्ब्याउन झन् केन्द्रीय सदस्यहरु थप्ने परिपार्टीले लोकतान्त्रिक पार्टीलाई कहाँ पुर्याउला भनेर चिन्तासमेत ब्यक्त गरिएको छ । 

नेवीसंघको महाधिवेशन गर्नुको सट्टा गत महिनामात्रै ७१० जना केन्द्रीय सदस्य थप गरिएको थियो । 

कांग्रेसका कार्यकर्ताहरु घट्दै गएका छन् । कांग्रेस छाडेर अन्य पार्टीमा जाने बढ्दै गएका छन् । कांग्रेसभित्रै रहेर केही गर्नका लागि युवाहरुलाई आकर्षित गर्नुको सट्टा कारबाही गरेर कार्यकर्ता घटाउने हठ नेतृत्वले नत्याग्ने हो भने पार्टी नै संकटमा नपुग्ला भन्न सकिन्न । 

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रत्यक्ष प्रशारण गरेर सबैजसो संस्थापन निकटका केन्द्रीय सदस्यहरुले महामन्त्री थापामाथि आरोप प्रत्यारोप गरेका थिए । पार्टी नेताहरुलाई वर्षको ११ महिना नै व्यस्त बनाएर जनताको नजिकमा रहने गरी बनाएका कार्यक्रमको पनि विरोध गरेका थिए । 

नेतृत्वले गरेका गल्ती ढाकछोप गर्नका लागि निकै चर्का अभिव्यक्ति दिएका थिए । तर जवाफ दिने क्रममा महामन्त्री थापाले आफूले सभापतिलाई बाबुसरह मान्ने तर संसदीय दलको नेताका लागि फेरि पनि प्रयास गर्ने बताएर यसमा अब विवाद रहेन भनी घोषणा गरेका थिए । 

तर केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै फेरि नेतृत्वको कदम काखा पाखा गर्ने हो भने आफूहरु पनि संघर्षमा उत्रन बाध्य हुने गगन–शेखर समूहका नेताहरुले बताइसकेका छन् । 
 



नयाँ