arrow

एमालेभित्र आन्तरिक सस्साकस्सी

प्रतिस्पर्धा प्रदेश नेताहरुको, लडाइँ विष्णु पौडेल र शंकर पोखरलको, पद्मा साक्षी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
bishnu-poudel-shankar-pokharel.jpg

काठमाडौँ । सत्ताको झिनाझम्टीसँगै नेकपा (एमाले) प्रदेश अधिवेशनमा केन्द्रीत हुन थालेको छ । केन्द्रमा संसदीय समिति बनाउने कोशीमा सरकार गठनको कहर तथा संघीय सरकारमा पनि छिर्के दाउ हानिरहेको एमाले संगठन निर्माण सुदृढीकरणको अभियान लिएर प्रदेश अधिवेशनमा लागेको हो । 

यही क्रममा भदौ १६ र १७ गते एमालेले बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा प्रदेशको पहिलो अधिवेशन गर्दैछ । लुम्बिनी प्रदेशमा अहिले पार्टीकै शक्तिशाली नेताहरुको नजर परेको छ । खासगरी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको आधार क्षेत्र भएकाले पनि उनीहरुको नजरभन्दा बाहिर जान सकेको छैन । त्यसमा पनि सचिव पद्या अर्याल त्यहाँको निर्वाचन गराउन केन्द्रीय प्रतिनिधि भएर बुटवल पुगेकी छिन् । 

लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् ।  अधिवेशनका लागि प्रतिनिधिहरु छनोट भैसकेका छन् । प्रदेशका १२ वटै जिल्लाका १०९ पालिका र जनसंगठनबाट एकैसाथ १ हजार ४ जना प्रतिनिधि चयन भएका छन् । 

प्रतिनिधि चयन भएपछि लुम्बिनी प्रदेश अध्यक्षको भन्दा केन्द्रीय महासचिव पोखरेल र केन्द्रीय उपाध्यक्ष पौडेलको प्रतिस्पर्धाजस्तो देखिएको छ । यतिबेला सबैको ध्यान प्रदेशमा अबको नेतृत्व कसले गर्ला भन्नेतर्फ मोडिएका बेला पौडेल–पोखरेल आफैँ भिडन्त गर्न लागेको आभाष हुन थालेको छ । 

अधिवेशनका लागि अहिले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्यसमेत रहेका हरि रिजाल र प्रदेश सचिव लक्ष्मण आचार्य चर्चामा छन् । आचार्यले कँडेल अध्यक्षका उम्मेदवार बनेको अवस्थामा आफ्नो समर्थन रहने बताउँदै आएका छन् । 

प्रतिनिधि चयन हुनुअघि अन्य केही केन्द्रीय सदस्यहरूसमेत प्रदेशको नेतृत्वको लागि आकांक्षी देखिएका भए पनि उम्मेदवार बनेपछि नै केन्द्रीय सदस्य पद गुम्ने भएकाले प्रतिनिधि भएका छैनन् ।

एमाले केन्द्रीय कमिटीका उपाध्यक्षद्वय विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवद्वय छविलाल विश्वकर्मा र गोकर्ण विष्ट, पोलिटब्युरो सदस्य ठाकुर गैरेलगायत प्रभावशाली नेताहरु आफ्नो पक्षका नेताहरुलाई प्रदेशमा ल्याउन दौडधुप गरिरहेका छन् । 

प्रदेश अधिवेशन नजिकिँदै जाँदा फेरि एक पटक पौडेल र पोखरेलबीच प्रतिस्पर्धा र गुटको विषयले चर्चा पाएको छ । प्रदेश अध्यक्षका आकांक्षी कँडेल पौडेलनिकट मानिन्छन् भने रिजाल पोखरेल निकट हुन् । 

पौडेल र पोखरेलले प्रदेशमा आ–आफ्ना गुट चलाइरहेको आरोप पनि यो अधिवेशनबाट पुष्टि भएको छ । लुम्बिनीमा पौडेल र पोखरेलबीच हरेक कार्यमा प्रतिस्पर्धा छ । 

विगतका निर्वाचनमा टिकट वितरणदेखि सामान्य नियुक्तिसम्ममा पनि दुई गुटबीच कडा प्रतिस्पर्धा भएकाले पनि प्रदेश अध्यक्षमा उस्तै देखिएको छ । 

राधाकृष्ण कँडेलले आफू संसद र माथिल्लो तहका कुनै पनि कमिटीमा नरहेको र नेता तथा कार्यकर्ताहरूलेसमेत नेतृत्वका लागि अगाडि बढ्न आग्रह गरेकाले अघि दाबी गरेका बेला महासचिव पोखरेलले केन्द्रीय सदस्य रिजाललाई अघि सारेका हुन् । 

केन्द्रीय सदस्य पद छोडेर प्रदेशको नेतृत्वको लागि आकांक्षी बनेका रिजालले प्रदेश कमिटीलाई थप बलियो बनाउनको लागि आफू नेतृत्वमा आउन चाहेको बताएर पोखरेलको प्रतिनिधित्व गरिरहेका छन् ।  

रिजालले प्रदेश कमिटी अध्यक्षलाई केन्द्रीय पोलिटब्युरो सरहको मान्यता दिएकाले नेतृत्वकै सल्लाहमा प्रदेशमा आउन लागेका हुन् । 

२ सय ५ सदस्यीय प्रदेश कमिटीमा प्रत्येक जिल्लाबाट ५ जना सदस्यका दरले १२ जिल्लाबाट ६० जना, प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ५ जनाका दरले १ सय ३० र ५ जना पदाधिकारीसहित १५ जना खुलाबाट गरी २ सय ५ जनाको कमिटी निर्वाचित हुने छ । 

जसको लागि प्रदेशका १ सय ९ वटै पालिका तथा जनसंगठनबाट गरी १ हजार ४ जना प्रतिनिधि छनोट भइसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ