काठमाडौं । प्रहरीको विशेष व्युरोले भूमिगत सशस्त्र गतिविधि गर्दै आएको मंगोल मूलवासी राष्ट्रिय फोर्सका अध्यक्षसहित १३ जनालाई पक्राउ गरेको छ ।
फोर्सले प्रहरी चौकी खडा गर्ने लगायत विभिन्न आपराधिक क्रियाकलाप गर्न लागेको सुराकीका आधारमा आतंकवाद हेर्ने विशेष व्युरोको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरेको हो । व्युरोसँगै महानगरीय प्रहरी कार्यालयको टोली समेत संलग्न थियो ।
पक्राउ पर्नेमा फोर्सका अध्यक्ष उपेन्द्र घर्तीमगर, पृथ्वीनारायण लिम्बू, टेन्डी शेर्पा, सचिन लिम्बु, सुवास राई, नविन श्रेष्ठ लगायतका १३ जना छन् ।
विशेष टोलीले रोल्पाबाट ५, सिन्धुपाल्चोकबाट २ र काठमाडौं उपत्यकाबाट बाँकीलाई पक्राउ गरेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पक्राउ परेकाहरुसँग ४ थान पेस्तोल, वारुद बनाउने गन्धक र विभिन्न विष्फोटक पदार्थ तथा दस्तावेजहरु भेटिएको व्युरोका प्रहरी नायव महानिरीक्षक डिआइजी बमबहादुर भण्डारीले बताए ।
उनीहरुले हतियार संकलन, बस लुट्ने, बैंक लुट्ने, सुन पसल लुट्ने र प्रहरी चौकी आक्रमण गर्ने तयारी समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । डिआइजी भण्डारीले भनेका छन्, ‘यो समूहले माओवादीले द्वन्द्वताका जे–जे गर्दथ्यो त्यही यो समूहले पनि गरिरहेको अनुसन्धान रिपोर्ट छ ।’ सोही रिपोर्टका आधारमा पक्राउ गरिएको हो ।’
फोर्सको राजनीतिक नाममा आपराधिक क्रियाकलाप गरेकाले उनीहरुलाई अवैध हातहतियार तथा विष्फोटक पदार्थ कसुर अन्तर्गत कारबाही हुने भएको छ । केही अघि सेलाएका सशस्त्र समूहहरु फेरि सल्बलाउन थालेका छन् ।