arrow

अनलाइन किनमेल मोह बढ्दो

logo
प्रकाशित २०७२ मंसिर २५ शुक्रबार
Online-grocery-shopping.jpg.jpeg
कास्की । पोखरा रामबजारकी शिला नेपालले अमेरिकामा बस्ने आफ्ना प्रेमीले पठाएको ‘बर्थडे केक’ र मग्मगाउँदो फूलको बुके घरमै पाउनुभयो । पोखरासँगै जोडिएको हेम्जाका बवीन उपाध्यायले लेकसाइडमा रहेको चल्तीको चिल्लीबार रेष्टुराँमा बनेको पिज्जा घरमै मगाएर खानुभयो । पोखरामा भर्खरै खुलेको एमबिको अनलाइन डटकममा गरेको एक क्लिकले सामान घरमै पुगका हुन् । “हामीकहाँबाट खासगरी विदेशमा बस्नेले नै सामान अर्डर गर्नुहुन्छ, हामी त्यसलाई उहाँहरुले भनेकै बेला ग्राहककहाँ पुर्‍याइदिन्छौँ”, एमबिको अनलाइनका सञ्चालिका सरस्वती बरालले भन्नुभयो– “हाम्रो साइटमा सामान अर्डर गरेपछि अनलाइनबाटै र घरमै पुगेर पनि पैसा तिर्ने सुविधा छ ।” 
 
‘अब घरमै आइपुग्यो बजार’ भन्ने नारासहित खुलेको सो साइटबाट पोखराका विभिन्न रेष्टुराँको खाना र खाजाका साथै दैनिक चाहिने सामान किन्नसक्ने व्यवस्था छ । सामान बजार मूल्यमै पाइन्छ । तर, सामान घर पुर्‍याएवापत भने सो अनलाइनले निश्चित् शुल्क भने लिन्छ । घरमै सामान पुर्‍याएवापत रु ४०० ‘सिपिङकस्ट’ लिने गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा भएको सूचनाप्रविधिको विकास तथा अनलाइन सपिङप्रतिको बढ्दो आकर्षणलाई देखेर आफ्नापतिको सल्लाहमा यो व्यवसाय सुरु गर्नुभएकी बराल अनलाइन व्यापारको भविष्य राम्रो भएको बताउनुहुन्छ । उहाँ मात्र होइन, नेपालको चर्चित तथा पोखरामा पनि शाखा रहेको भाटभटेनीलेसमेत यहाँबाट अनलाइन किनमेलको व्यवस्था गरेको छ 
 
भाटभटेनी, अनलाइन मार्केटिङ विभागका चन्दन श्रेष्ठका अनुसार अनलाइनमार्फत किनेका सामान घरमै पठाउने सेवा लिने भने विदेशमा रहनुभएका नेपाली नै बढी छन् । भाटभटेनीले राजधानीको रिङरोडभित्रबाट माग गरिएको सामानमा अतिरिक्त शुल्क अर्थात सिपिङ कस्ट नलिने बताउँदै उहाँले भन्नुभयो–“ रिङरोड बाहिर र पोखराको हकमा सामान लगेबापत रु ४५० शुल्क लिने गरेका छौँ ।” पोखराबाट वैदेशिक रोजगारमा जाने बढी भएकाले आफ्नो पोखरा शाखाबाट अनलाइनमा हुने व्यापार बढ्ने उहाँले आशा व्यक्त गर्नुभयो । देशमा देखिएको इन्धन सङ्कट कारण अहिले भने एमबिको अनलाइन र भाटभटेनी दुबैले मुस्किलले मात्र अनलाइनबाट अर्डर लिने गरेका छन् । यता, नेपालमा अनलाइन सामान बिक्रीका लागि ख्याति कमाएको मुन्चा डटकमले पनि पोखराबाट आएका अर्डर पूरा गर्ने गरेको जनाएको छ । 
 
मुन्चाका सुजन लामाका अनुसार विदेशमा बस्नेले दिएको अर्डर अनुसार मुञ्चाले पोखराका ग्राहकसम्म सामान पुर्‍याइदिने काम गर्दै आएको छ । जानकारीका अनुसार ठमेल डटकमले सन् दुई हजार तिरेरै अनलाइन किनमेलको धारणा नेपाल भित्र्याएको हो । त्यसपछि मुन्चालगायतका साइट आए । अहिले त कान्तिपुर र इमेजजस्ता मिडिया हाउसका नाममा पनि नेपालमा अनलाइन पोर्ट रहेका छन् । नेपालमा घरघरमा सामान पुर्‍याउन खोलिएका यस्ता साइट ३० भन्दा बढी भए पनि पोखरामा पछिल्लो समय व्यवस्थित तरिकाले सञ्चालनमा आएको भने एमबिको अनलाइन नै हो । अनलाइनमार्फत पोखरामा यति नै परिमाणमा कारोबार हुन्छ भन्ने एकीन नभए पनि लाहुरेको सहर पोखरामा अनलाइनप्रतिको आकर्षण भने बढ्दै गएको भाटभटेनीका चन्दन श्रेष्ठले बताउनुभयो । नेपाली बैङ्कहरुले जारी गरेको डेबिट र क्रेडिट कार्डबाट किनमेल गर्न नमिल्ने तथा विश्वबजारमा चलेका पेपाल, डेबिड कार्ड, क्रेडिट कार्ड पनि अनलाइन सपिङमा नचल्ने भएकाले किनमेलमा समस्या भएको बरालले बताउनुभयो । 
 
अनलाइन फस्टाउन नेपालले ‘इन्टरनेसनल पेमेण्ट सिस्टमको गेटवे’ अर्थात पैसा तिर्नको लागि विश्वभर मान्यताप्राप्त नेटवर्कभित्र पस्नुपर्ने उहाँको सुझाव छ । आफ्नो विदेशमा रहेका साथीको नाममा खोलिएको पेपाल एकाउण्टमार्फत काम गर्दै आउनुभएकी उहाँले त्यो एकाउण्टमा जम्मा भएको पैसा साथीमार्फत नै नेपाल भित्र्याउनुपर्छ । “सोझै हाम्रो खातामा आउने भए विदेशी मुद्रा पनि आउँथ्यो, हामीलाई पनि फाइदा हुन्थ्यो”, उहाँले भन्नुभयो,“ त्यस्तो गर्न नमिल्ने भएकाले हामीले ‘क्यास अन डेलिभरी’( सामान पुर्‍याउने पैसा लिने ) पनि गर्दै आएका छौँ ।” बढ्दै गएको सूचनाप्रविधिको प्रयोग तथा अन्तर्राष्ट्रिय सहरको रुपमा उदाउँदो भएकाले पनि पोखरामा अनलाइन सपिङको सम्भावना बढी भएको दि हिमालयन टाइम्समा कार्यरत पत्रकार रुपनारायण ढकालको भनाइ छ । 
 
नेपालले अनलाइनमार्फत भुक्तानीको अन्तर्राष्ट्रिय गेटवेमा जतिसक्दो छिटो प्रवेश गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो–“ विदेशी मुद्रा भित्रा्याउन तथा यस्ता व्यवसायलाई करको दायरामा ल्याउन पनि यो प्रक्रिया छिटो थालनी हुनुपर्छ ।” टेलिफोनको बिल तिर्न, मोबाइल फोनको रिचार्ज गर्न, बैङ्कको ब्याज तिर्ने जस्ता काम अनलाइनबाट हुँदै आएकाले अनलाइन सपिङको भविष्य राम्रो भएकोमा भने कुनै शङ्का छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ