arrow

भारतको चमत्कारी अर्थतन्त्र र नरेन्द्र मोदीको लोकप्रियता

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८० भदौ १६ शनिबार
article-rajendra-panthi-2080-05-16-narendra-modi.jpg

नेपाली राजनीतिमा भारत, चीन र अमेरिकाका बारेमा केही सकारात्मक कुराहरू गर्यो भने विस्तारवादी र साम्राज्यवादीको मतियार भन्ने आरोप लाग्छ । यद्यपि हिजो भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्दै जनतालाई उकास्दै र उचाल्दै चर्का नारा लगाएका र आजको राज्यसत्तामा हालीमुहाली गरेका नेतृत्वहरू कसरी भारत र अमेरिकाकै आशीर्वाद र तथास्तुबाट महाकालेश्वर मन्दिरसम्म पुगी गेरूवस्त्रसमेत धारण गर्न पुगे भन्ने कुरा इतिहासका पानाबाट जतिसुकै लुकाउन खोजे पनि लुक्न सक्दैन । 

नेपालको प्रधानमन्त्री बन्नको लागि कहाँ कहाँ धाउनुपर्छ र को कोबाट के के आशीर्वाद पाउनुपर्छ र ‘कम्फरटेबल’ सरकार कसरी बन्छ भन्ने कुरा स्वयं प्रधानमन्त्रीहरूका मुखारबिन्दबाट बारम्बार सुनिँदै आएकै छ । आफ्नो निर्णय आफैँ गर्न नसक्ने र आफ्नै खुट्टाले आफ्नै धर्तीमा राम्रोसँग टेक्न नसक्ने अनि असफलताको आरोप विदेशीलाई लगाइरहने प्रवृत्तिले नेपाल पछाडि परिरहेको छ ।

देशी–विदेशी विभिन्न किसिमका शक्तिहरू पनि देशको राजनीतिक अस्थिरता र कमजोरीको फाइदा उठाइ खेल्न खोजेका देखिन्छन् । जबसम्म राष्ट्रिय एकता मजबुत, बलियो र विश्वासिलो हुन सक्दैन तबसम्म यस्ता खेलहरू खेलिरहन्छन् । नेपाली राजनीतिमा पनि सत्तामा जान र बसिरहन विदेशी सामु जति पनि निहुरिन र गुणगान गाउन तयार हुने अनि सत्ता बाहिर आएपछि तिनैलाई तथानाम गाली गर्ने द्वैध चरित्रले नेपालको विदेश नीति (वैदेशिक कुटनीतिक सम्बन्ध)  अविश्वासिलो रहेको देखिन्छ । 

देश बलियो बन्न देश भित्रकै राजनीतिक दलहरूबीच सम्बन्ध र विश्वास हुनुपर्छ । नेतृत्वमा स्पष्ट भिजनसहित राजनीतिक इमानदारी हुनुपर्छ । लोकतान्त्रिक व्यवस्थामा स्वच्छ र स्वस्थ्य आलोचना र प्रतिस्पर्धा हुनुपर्छ । एक अर्कोलाई सत्तोसराप गाली गरेर देशको समृद्धि हुन सक्दैन । छिमेकी देशहरूसँग राम्रो कुटनैतिक सम्बन्ध हुनुपर्छ । छिमेकी देशहरूले असल नियतले गरेका हरेक किसिमका सहयोगलाई ग्रहण गरिनुपर्छ र ती देशहरूको विकासको प्रक्रियालाई अनुशरण पनि गर्नुपर्छ ।

छिमेकी मुलुक भारत
हाम्रो छिमेकी मुलुक भारत यतिबेला आर्थिक उन्नति, भौतिक पूर्वाधारको विकास र गुणस्तरीय जीवनमा छलाङ मारिरहेको देखिन्छ । राजनीतिमा एउटा असल नेतृत्वको आगमनले देशको समृद्धिको लागि महत्त्वपूर्ण योगदान हुनसक्छ र देशले विकासको छलाङ मार्न सक्छ भन्ने कुरा विश्वका थुप्रै नेतृत्वहरूबाट प्रमाणित भएको छ । 

भारतमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा विकास र समृद्धिका धेरै कामहरू भएका देखिन्छन् । हिन्दू अतिवादीको मुद्दा र लोकप्रियवादीको नारासहित राजनीतिमा आएका मोदीले भारतको इतिहासमा एउटा सफल प्रधानमन्त्रीको रूपमा आफ्नो नाम इतिहासमा दर्ज गराएका छन् । यद्यपि उनका कमीकमजोरी छँदै  छैनन् भन्न खोजेको भने होइन । आज नरेन्द्र मोदीकै कार्यकालमा भारतको अर्थतन्त्र विश्वकै पाँचाँै ठूलो बनेको छ र तेस्रो स्थानमा पुग्न प्रयास गरिरहेको देखिन्छ । 

अर्थतन्त्र र शक्तिको दृष्टिकोणले विश्वको पहिलो देश संयुक्त राज्य अमेरिका हो भने दोस्रो छिमेकी चीन हो । भारतले आर्थिक मात्र होइन विज्ञान र प्रविधि, अनुसन्धान र आविष्कारका क्षेत्रमा पनि अमेरिका, चीन, जापान, जर्मनी, रूस आदि देशहरूसित प्रतिस्पर्धामै उत्रिएको देखिन्छ । 

भारतले सूचना र प्रविधि, उद्योग र कलकारखानाको स्थापना र भौतिक पूर्वाधार विकासमा द्रूतगतिमा लागेको र सफल भएको पनि देखिन्छ । भारतले हालै चन्द्रमामा चन्द्रयान–३ प्रक्षेपण गरी सफल अवतरण गराइ विश्व रेकर्ड पनि राखेको छ । गत अगस्त २३ मा चन्द्रमामा अवतरण भएको चन्द्रयान–३ को ईसरोको युट्युब लाइभ स्ट्रिमिङ ८.०६ मिलियन रहेको थियोे, जुन युट्युबको इतिहासमै नयाँ रेकर्ड थियो । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) ले सूर्यको अध्ययनको लागि आज (सेप्टेम्बर २) मा अर्को अन्तरिक्ष यान आदित्य–१ प्रक्षेपण गर्ने तयारी गरिरहेको छ ।

आजको २१ औँ शताब्दीमा विश्वका विभिन्न देशहरू नयाँ नयाँ आविष्कार, प्रयोग र रेकर्ड राख्ने प्रतिस्पर्धामा उत्रेका देखिन्छन् । उनीहरू पृथ्वी मात्र होइन अन्तरिक्षको अध्ययन र अनुसन्धानमा व्यापक रूपमा लागेका छन् । विभिन्न अनुसन्धानकर्ताहरू, वैज्ञानिकहरू ब्रह्माण्डका विभिन्न ग्रहहरूको अध्ययन, खोज र अनुसन्धान गरिरहेका छन् । 

आज अर्थतन्त्र र शक्तिको दृष्टिकोणलेसमेत विश्वका शक्तिशाली मुलुकहरू हाम्रो देशका छिमेकी हुँदासमेत हामीले त्यसको सिको गर्न नसकेर पछाडि परेका छौँ । आज देशको समृद्धि, उन्नति र विकास भनेको के हो भनेर हेर्न टाढा जानु पर्दैन । भारत त चीनलाई हेरेमात्र पुग्ने अवस्था छ ।

भारत विश्वका शक्तिशाली मुलुकहरूको संस्था ब्रिक्सको सदस्य राष्ट्र हो । यसमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य राष्ट्र रहेका छन् । ब्रिक्सलाई अमेरिकी प्रभुत्वको प्रतिस्पर्धा र विकल्पमा स्थापित गराउन खोजेको पनि देखिन्छ । 

त्यस्तै भारतले सन् २०२२ को डिसेम्बर १ देखि जी–२० को अध्यक्षता गरिरहेको पनि छ । जी–२० सदस्यमा विश्वका विभिन्न १९ देश र युरोपेली संघ रहेका छन् । भारतले हिन्दी भाषालाई विश्वभाषा बनाउन प्रयास गरिरहेको छ । भारत सरकारले हिन्दी भाषालाई प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ ।

चन्द्रयानमा भारतको सफलता
भारतले गत अगस्त २३ का दिन चन्द्रमामा मानवरहित अन्तरिक्ष यान अवतरण गरी विश्व रेकर्ड राख्यो । यो अवतरणले विज्ञान र प्रविधिमा पनि भारतलाई विश्वको शक्तिशाली देशको रूपमा चिनाउन थप मद्धत पुगेको देखिन्छ । भारत चन्द्रमामा अन्तरिक्ष यान अवतरण गराउने चौथो मुलुक बनेको छ । 

यसभन्दा पहिले पूर्व सोभियत संघ, संयुक्त राज्य अमेरिका र चीनले मात्र चन्द्रमामा अन्तरिक्ष यान अवतरण गराएका थिए । भारतले चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउन सफल भएर पहिलो देश पनि बनेको छ । चन्द्रयान–३ को सफलतासँगै भारत २१ औँ शताब्दीमा चीनपछि चन्द्रमामा अन्तरिक्ष यान अवतरण गर्ने दोस्रो देश पनि बनेको छ । 

ईसरोको नेतृत्वमा करिब ६१५ करोड भारतीय रूपैयाँ (नौ अर्ब ८४ करोड नेपाली रूपैयाँ) को लागतमा चन्द्रयान–३ बनेको थियोे भनिन्छ । करिब १७ सय किलोग्राम तौल भएको ल्यान्डर र २६ किलोग्रामको रोभरको वैज्ञानिक उपकरणले चन्द्रयान बनेको थियोे । यी ल्यान्डर र रोभरले चन्द्रमाको सतहमा करिब दुई सातासम्म काम गर्ने अपेक्षा गर्ने बताइएको छ । 

चन्द्रयान–३ को सफल अवतरणपछि भारतीय प्रधानमन्त्री मोदीले विश्वका सबै जनतालाई सम्बोधन गर्दै ‘यो सफलता भनेको सम्पूर्ण मानवताको हो, यसले भविष्यमा अन्य देशहरूद्वारा चन्द्रमा मिशनमा मद्दत गर्नेछ’ भनेका थिए । भारतको यसभन्दा पहिले सन् २००८ र २०१९ मा चन्द्रयान–१ र चन्द्रयान–२ भने अवतरण गर्ने प्रयास असफल भएको थियोे ।

अन्तरिक्ष यानको इतिहासको कुरा गर्दा सन् १९५७ अक्टोबर ४ मा पूर्व सोभियत संघले पहिलो अन्तरिक्ष यान स्पुतनिक–१ लाई अन्तरिक्षमा प्रक्षेपण गरेको थियोे । यसैले नै अन्तरिक्ष युगको उद्घाटन गरेको थियो । यसको तौल ८३.६ केजी थियो । सन् १९६१ अप्रिल १२ मा रूसी वैज्ञानिक युरी गागरिन पहिलो अन्तरिक्ष यात्री बनेका थिए । चन्द्रमाको अवतरणमध्ये सन् १९५९ सेप्टेम्बर १४ मा सोभियत संघको लुना–२ पहिलो अन्तरिक्ष यान थियो । 

मानवसहित चन्द्रमामा अवतरण गर्ने पहिलो अन्तरिक्ष यान भने सन् १९६९ जुलाई २० मा अमेरिकाको एपोलो–११ थियोे । चन्द्रमामा पहिलो पटक पाइला टेक्ने व्यक्ति  अमेरिकाका नील आर्मस्टाङ थिए । अहिलेसम्म चन्द्रमामा पाइला टेक्ने अन्तरिक्ष यात्रीहरू १२ जना पुगेका छन् । यी सबैजना अमेरिकी नागरिक हुन् । 

सोभियत संघ, अमेरिका, जापान, चीन, भारत, इजरायल, दक्षिण कोरिया, इटाली, यूएई, रूस आदि देशहरूले १५० भन्दा बढी पटक चन्द्रमामा अन्तरिक्ष यान प्रक्षेपण गर्न प्रयास गरिरहेका छन् । कतिपय प्रक्षेपण सफल भएका छन् भने कतिपय असफल भएका छन् । यी देशहरूका बीचमा अन्तरिक्ष यान प्रक्षेपणको प्रतिस्पर्धा भइरहेको देखिन्छ ।

नरेन्द्र मोदीको लोकप्रियता
भारतले आफू स्वतन्त्र भएको ७७ औँ दिवस हालै मनाएको छ । सन् १९४७ मा भारत स्वतन्त्र भएको थियो । भारतमा जवाहरलाल नेहरूदेखि नरेन्द्र मोदीसम्म थुप्रै प्रधानमन्त्री भएका छन् । भारतमा खासगरी जवाहरलाल नेहरू, लालबहादुर शास्त्री, ईन्दिरा गान्धी, राजीव गान्धी, चन्द्रशेखर, अटल बिहारी बाजपेयी, मनमोहन सिंह हुँदै नरेन्द्र मोदी लोकप्रिय प्रधानमन्त्रीका रूपमा चिनिएका छन् । 

मोदी भारतका १४ औँ प्रधानमन्त्री हुन् । मोदीले सन् २०१४ को मे २६ मा पहिलो कार्यकाल र सन् २०१९ को मे ३० मा दोस्रो कार्यकालको शपथ लिएका थिए । उनले अहिले दोस्रो कार्यकालको अन्तिम वर्ष बिताउँदै छन् र तेस्रो कार्यकालको लागि तयारी गरिरहेका देखिन्छन् । 

उनको तेस्रो कार्यकाल पनि सुनिश्चितता जस्तै देखिन्छ । भारतको राजनीतिक इतिहासमा भारतीय कांग्रेसको धेरै वर्षसम्मको राज्यसत्ताको वर्चस्वलाई तोड्दै अहिले भारतीय जनता पार्टीले सत्ताको नेतृत्व गर्दै आएको छ । भारतीय जनता पार्टीले मोदीलाई अगाडि सारेर लगातार दुई–दुई पटक सत्ता प्राप्त गरेको देखिन्छ । नरेन्द्र मोदी खासगरी हिन्दू अतिवादी र लोकप्रियताको मुद्दा उठाई भारतीय राजनीतिमा उदाएका अत्यन्तै लोकप्रिय र सफल प्रधानमन्त्रीका रूपमा मानिन्छन् । 

उनलाई लोकप्रियवादी नेता भनिए तापनि जनताका तत्कालीन मुद्दालाई उठान र समाधान गर्दै भारतको दिगो विकास र समृद्धिको लागि उनले ठूलो योगदान गरेको देखिन्छ । नरेन्द्र मोदीले आफ्नो कार्यकालमा भारतको समृद्धिको लागि मेड इन इन्डिया, स्वच्छ भारत अभियान, जनधन योजना, डिजिटल इनोभेसन, विमुद्रीकरण, भोकल फर लोकल आदिजस्ता योजना र कार्यक्रम संचालन गरेका छन् । धेरै कार्यक्रमहरू सफल भएका छन् । मोदीले भारतीय कुटनीतिलाई बलियो बनाएका छन् । उनी सम्बन्ध सुधारको लागि विश्वभर यात्रा गरिरहेका छन् ।

१७ सेम्टेम्बर १९५० मा एक गरिब परिवारमा जन्मेका नरेन्द्र मोदी १३ वर्ष गुजरातका मुख्यमन्त्री भएका थिए । मोदीको राजनीतिक यात्राको पृष्ठभूमि हिन्दू धर्म दर्शन र अध्यात्मवादी आदर्शमा आधारित भएको देखिन्छ । 

नरेन्द्र मोदीको राजनीति आदर्शमा हिन्दूवादी दर्शनको प्रभाव ज्यादा रहेको देखिन्छ । सन् २००२ मा गुजरातमा भएको साम्प्रदायिक दंगामा मुख्यमन्त्रीको रूपमा नरेन्द्र मोदीकै भूमिका रहेको थियोे भनी उनीमाथि विशेष प्रश्न उठेको थियो । धर्म निरपेक्ष मुलुक भारतमा प्रधानमन्त्री मोदीले मुस्लिम धर्मलाई खासै चासो राखेको देखिँदैन । उनी ज्यादा हिन्दू धर्मलाई जोगाउन र संरक्षण गर्न खोजेको र एक हिन्दू अतिवादी भएको विपक्षीको आरोप लाग्ने गरेको पनि छ ।

आज नरेन्द्र मोदी भारतमा मात्रै होइन विश्वमा नै अति नै लोकप्रिय नेताका रूपमा चिनिएका छन् । नरेन्द्र मोदीमा दृढ इच्छाशक्ति, भिजन र लोकप्रियता रहेको देखिन्छ । नरेन्द्र मोदीमा राष्ट्रवादी सोच, विश्वका सबै किसिमका राष्ट्रसँग सम्बन्ध राख्न सक्ने कुटिलता र समय र प्रसङ्गअनुसार बोल्न सक्ने वाक्ककलामा पटुता भएका राजनीतिक नेतृत्वको विशेषता उनमा देखिन्छ । बोलीको मिठासले जो कोहीलाई सजिलैसँग आकर्षण गर्ने क्षमता मोदीमा देखिन्छ । नरेन्द्र मोदीले विश्वका सबै देशहरूसँग कुटनैतिक सन्तुलित सम्बन्ध र व्यवहार गरेको पाइन्छ ।

नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता हुन् भन्ने कुरा डिजिटल रिसर्च र सामाजिक संजालबाट थाहा पाउन सकिन्छ । उनका ट्विटरमा ९१.३ मिलियन फलोअर्स रहेका छन् । राजनेतामा सबैभन्दा धेरै ट्विटर फलोअर्स भएका अमेरिकाका ४४ औँ राष्ट्रपति बाराक ओबामा हुन् । 

ओबामाका १३१.९ मिलियन फलोअर्स रहेका छन् । अमेरिकी डेटा इन्टेलिजेन्स फर्म द मर्निङ कन्सल्टको सर्वे अनुसार पनि नरेन्द्र मोदी लगातार तेस्रो वर्ष लोकप्रिय नेताको रूपमा चुनिएका छन् । 

मर्निङ कन्सल्टको सर्वे अनुसार सन् २०२०, २०२१ र २०२२ मा मोदीको क्रमशः ८४, ७० र ७८ प्रतिशत अप्रुभल रेटिङ रहेको थियोे भने अहिले पनि ७४ प्रतिशतसहित एक नम्बरकै अप्रभल रेटिङ रहेको छ ।

अमेरिकी कंग्रेसमा नरेन्द्र मोदीको सम्बोधनले पारेको प्रभाव
विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको संसदलाई नरेन्द्र मोदीले गरेको सम्बोधनलाई विशेष रूपमा हेर्ने गरिन्छ । यसको पनि विशेष अर्थ रहेको हुन्छ । २३ जुन २०२३ मा मोदीले अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई दोस्रो पटक सम्बोधन गरेका थिए । 

अमेरिकी संसदमा मोदीको प्रवेश हुँदा प्रायः सबै सांसदहरूले मोदीलाई स्वागत गर्दै जयजयकार गरेका थिए । नरेन्द्र मोदीको करिब एक घण्टाको उक्त सम्बोधनमा अमेरिकी सांसदहरूले सेकेन्ड सेकेन्डमा गडगडाहटपूर्ण ताली बजाएका थिए । 

नरेन्द्र मोदीको त्यो सम्बोधनमा पनि व्यक्ति आकर्षण गर्ने कौशल, वाक्कला, शब्द चयनमा मिठास र हिन्दू धर्म प्रतिको आस्था प्रकट भएको देखिन्थ्यो । उनले सम्बोधनका क्रममा त्यहाँ रहेका राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र सांसदहरूको गुणगान गाउँदै प्रशंसा गरेका थिए । 

उनको वाक्कलामा मन्त्रमुग्ध पार्ने क्षमता हुनाले त्यहाँका घटना र क्रियाकलाप हेर्दा समय गएको पत्तै भएन कि जस्तो लाग्थ्यो । अमेरिकी कंग्रेसको उक्त सभा हलमा मोदीसँग अटोग्राफ र सेल्फी लिनेको तँछाडमछाड नै देखिन्थ्यो । धेरै सांसदहरूले मोदीको सम्बोधनलाई लोकप्रिय, अदभूत, उत्तेजित र प्रशंसित भएको बताएका थिए । 

उनले सम्बोधनका क्रममा संस्कृत भाषामै एउटा प्रसिद्ध श्लोक वाचन गरेका थिए– माताभूमिः पुत्रो अहं पृथिव्याः अर्थात् पृथ्वी हाम्री आमा हुन्, हामी उहाँकै छोराछोरी हौँ । यस श्लोकबाट अमेरिकी कंग्रेसका सांसदहरू अत्यन्तै प्रभावित भएका देखिन्थे । 

वास्तवमा यस श्लोकमा विश्वका सम्पूर्ण मानिसहरूका बीचमा मानवता र भाइचाराको सम्बन्ध राख्नको लागि अत्यन्तै महत्त्वपूर्ण सन्देश दिइएको छ । नरेन्द्र मोदीले सम्बोधनकै क्रममा ‘वसुधैव कुटुम्वकम्’ भन्दै यो विश्व एउटा परिवार हो भनेका थिए ।

यसबाट पनि अमेरिकी सांसदहरूको मुहारमा खुशी देखिन्थ्यो । उनले सम्बोधनका क्रममा लोकतन्त्र भनेको सर्वश्रेष्ठ व्यवस्था हो, लोकतन्त्र भनेको हाम्रो आत्मा हो भन्दै यसलाई कार्यान्वयन गरी अगाडि बढ्न आग्रह गरेका थिए । 

अमेरिकी संसदमा सम्बोधन गर्दै मोदीले अब आफ्नो देश आर्थिक रूपमा विश्वको सर्वशक्तिमान तेस्रो मुलुक बन्न लागेको कुरा पनि उद्घोष गरेका थिए । नरेन्द्र मोदीको उक्त सम्बोधनमा शब्द चयनमा सरल, बोलीमा मिठास र भावमा निकै गहिराइ रहेको थियोे । 

उनको सम्बोधनमा भारत पनि अब विश्वको एउटा शक्तिशाली राष्ट्र बन्दैछ, यसमा हामी गौरवान्वित छौँ भन्ने अहं लुकेको देखिन्थ्यो । नरेन्द्र मोदीले विश्वको शक्तिशाली मुलुकमा आफूलाई नम्बर एक भन्ने अमेरिकाको संसदमा गइ छाती चौडा गराएर भारत पनि अब कमजोर छैन भन्ने अभिव्यक्त गरेका थिए । 

भारतको पछिल्लो आर्थिक उन्नति, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता र उनको विश्वका अन्य मुलुकहरूसँगको सम्बन्ध र सहकार्यले अमेरिकी राजनीतिमा पनि भारतलाई एउटा प्रतिस्पर्धी र विश्वको शक्तिशाली मुलुकका रूपमा हेर्नु पर्ने धारणा बनेको देखिन्छ ।

निष्कर्षः
यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आँखै चिम्लेर गुणगान र प्रशंसा गर्न खोजिएको होइन । उनको विश्व लोकप्रियता र उनका धेरै सकारात्मक कामहरू र योगदानलाई प्रशंसा गरिएको हो । भारतमा प्रधानमन्त्री मोदीले कार्यकाल सम्हालेको अहिले नौ वर्ष पूरा भएको छ । कुनै व्यक्तिले चाह्यो भने देशको आर्थिक उन्नति र समृद्धिको लागि धेरै वर्ष चाहिँदैन भन्ने उदाहरण मोदीबाट ग्रहण गर्न सकिन्छ । 

हामी दुई सम्पन्नशाली देशको बिचमा हुँदा पनि उनीहरूको विकासको छलाङलाई टुलुटुलु हेरिमात्रै रह्यौँ । तिनीहरूको नक्कल र अनुशरण गर्न अझै सकेका छैनौँ । आज छिमेकी देशहरू अन्तरिक्षको बारेमा अध्ययन र अनुसन्धानको प्रतिस्पर्धामा उत्रेका छन् । चन्द्रमा र मंगल ग्रहमा मानव बस्ती कसरी बसाउन सकिन्छ भन्ने अध्ययनमा लागेका छन् । 

हाम्रो नेतृत्व भने देशको अस्तित्व नै सक्ने तरिकाले राज्य संयन्त्रबाट नै मानव बेचबिखन, अपराध र तस्करमा लागेको देखिन्छ । वर्षौँदेखि केही सीमित व्यक्तिहरूले आफूलाई तथाकथित राजनीतिक नेतृत्व हौँ भनी देशलाई मुठ्ठीमा फसाएका छन् । 

उनीहरूकै गलत नियत, अक्षम, कुशासन र भ्रष्टाचारले गर्दा देशको उन्नति र प्रगति हुन सकेको छैन । देशले एउटा असल नेतृत्व नपाउनाले नेपाल पछाडि परिरहेको छ । 

आजको २१ औँ शताब्दीमा आउँदा विश्वका कतिपय देशहरू एक दशकमा नै कहाँबाट कहाँ आइपुगेका छन् र कत्ति छिटो विकासको छलाङ मारेका छन् । तर हाम्रो देशमा बहुदलीय प्रजातन्त्र प्राप्त गरेको चौँतीस वर्ष बित्दा पनि उल्लेखनीय सुधार हुन नसक्नु अत्यन्तै दुःखदायी कुरा हो । 

राजनीतिक नेतृत्वमा सपना, दूरदृष्टि, राष्ट्रप्रेम, इमानदारी, दृढ इच्छाशक्ति, उत्तरदायित्व बोध, जवाफदेही आदि जस्ता गुण भएमात्र देशले काँचुली फेर्न सक्छ । साँच्चिकै अबको नेतृत्वले यी कुरालाई आत्मसात गर्दै जाने हो भने छोटो समयमै जनताले अनुभूति गर्ने तरिकाले देशको परिवर्तन हुन सक्छ । 

विकासको रफ्तार र नेतृत्वको कुशलता कसरी र कस्तो हुन्छ भनेर हेर्न टाढा कतै जानु पर्दैन छिमेकी मुलुक भारत र चीनलाई हेरे पुग्छ । अब देश बनाउन नेपाली राजनीतिक नेतृत्वले साँच्चै कतै टाढा नगइ एकपटक हाम्रै छिमेकी मुलुक भारतका  प्रधानमन्त्री मोदीकै पनि कार्यशैलीका केही राम्रा पाठ सिक्ने कि ! (भर्जिनिया, अमेरिका)
 



लोकप्रिय समाचार
नयाँ