arrow

लोकतन्त्रको विकल्प राजतन्त्र होइन

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८० मंसिर ९ शनिबार
rajendra-panthi-2080-08-09.jpg

नेपालमा यतिबेला लोकतन्त्रको विकल्प राजतन्त्र हो भन्ने भ्रममा पारेर केही व्यक्ति वा समूहले जनविद्रोहको समेत नाम दिई नेपाली नागरिकलाई विभिन्न आश्वासनका पोकाहरू फालेर आन्दोलनमा उतार्ने, चर्काउने, भाँड्ने र अराजकता फैलाउने प्रयास गर्दैछन् । नेपाली नागरिकले यो नै अन्तिम आन्दोलन हो भन्दै विगतमा धेरैपटक रगतका खोला बगाएका थिए ।

सृष्टि र गतिको नियमअनुसार पनि समय अगाडि नै जान्छ, कहिल्यै पछि फर्किदैन । आजको युग भनेको २१ औँ शताब्दीको युग हो । अब युगलाई १७ औँ शताब्दीतिर लगेर खरानी बनेको राजतन्त्रलाई फर्काएर नेपाल र  नेपाली समाजको उन्नति हुनै सक्दैन । नेपाली नागरिकले अझै कहिलेसम्म व्यक्ति पूजा गर्दै जाने हो र ?

भगवान्कै रुपमा राजालाई मानेकै होइन र ? राजाले किन गर्न सकेनन् र हामीलाई गणतन्त्र चाहियो ? आज फेरि गणतन्त्र के भयो र राजतन्त्र चाहियो ? कति पुस्तासम्म व्यवस्था परिवर्तनका लागि नेपालीहरू लडिरहने हो र ? कुनै व्यक्ति विशेषलाई राजा बन्न मन लाग्यो भनेर नेपाली नागरिक बारम्बार मर्नुपर्ने ? कहिलेसम्म मरिरहने ? 

कुनै व्यक्तिलाई गणतन्त्र मन परेन भनेर त्यसैको लागि बलिदान दिन तयार हुने ? अब यी तमाम प्रश्नहरूका उत्तर खोज्नुपर्छ । आज नेपाली नागरिकलाई भ्रममा पारेर केही सीमित व्यक्तिले देशमा ब्रह्मलुट मच्चाएका कारण देशको उन्नति हुन सकेको छैन ।

संसारमा अहिलेसम्मकै उत्कृष्ट शासन व्यवस्था भनेकै गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था हो । शासन व्यवस्था भनेको साधन हो, साध्य होइन । आज दुवै किसिमका राजतन्त्र र गणतन्त्र भएका देशहरू सफल र असफल भएका छन् । विकास र समृद्धिको लागि व्यवस्था नै अन्तिम विकल्प होइन । 

हामी नेपालीहरूले नै थुप्रै व्यवस्था भोगिसक्यौँ त । राणा शासन र पञ्चायतमा के के पाएका थियौँ र अहिले के के पाएनौँ ? राणा शासनमा राणा, पञ्चायतमा राजा पायौँ, गणतन्त्रमा एक थान संविधान, यत्ति होइन र ? अब पुनः त्यही राजामात्र पाउन फेरि मर्ने र मराउने ? 

नेपालमा २४१ वर्षे राजतन्त्र भोगेकै त हो नि । किन राजतन्त्रमा विकास हुन सकेन ? किन २०४६ मा त्यति ठूलो जनआन्दोलन र २०५२ देखि २०६२ सम्मको सशस्त्र आन्दोलन गर्न परेको ? नेपाली नागरिक केवल आन्दोलनका लागि मात्र जन्मिएका हुन् र ? आज बहुदलीय प्रजातन्त्रको पुनः बहाली भएको ३४ वर्ष भयो । किन विकास हुन सकेन ? लोकतन्त्रले कसलाई के गर्न दिएन र ? कसरी व्यवस्था बाधक भएको छ र ? नेपालमा विकास र समृद्धिको बाधक व्यवस्था हुँदै होइन, यहाँको नेतृत्व नै हो । नेपालले फरकफरक व्यवस्था पायो तर ती व्यवस्थालाई नेतृत्व गर्न सक्ने असल र दुरदर्शी नेता पाउन सकेको छैन । 

हामीलाई नेता चाहिएको छ, राजा होइन । नेपालमा कुनै व्यक्ति र नेताको नितान्त व्यक्तिगत स्वार्थले राजनीतिक मुद्दा प्राप्त गरिरहेको हुन्छ र नागरिक त्यसैका पछाडिपछाडि दौडिरहेका हुन्छन् । यही तरिकाले नागरिकलाई आँखामा छारो हालेर र समाजमा वितण्डा मच्चाएर देश लुट्ने र बेच्ने प्रवृत्तिको विकास भइरहेको छ । अब यहाँ व्यवस्था परिवर्तनको आन्दोलन होइन, यही लोकतान्त्रिक व्यवस्थालाई प्रयोग गरी नेपाली नागरिकको अवस्था परिवर्तनको आन्दोलन चाहिएको छ ।

अहिले नेपाली नागरिकलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आधारभूत आवश्यकताहरू चाहिएका छन् । नागरिकलाई सुशासन, न्याय, शान्ति, शिक्षा, स्वास्थ्य, रोजगार चाहिएको छ । अब नेपाली नागरिकलाई राजा वा राजा जस्तै बन्ने नेता चाहिएकै छैन । 

अहिले नेपाली नागरिक अत्यन्तै निराशावादी र आक्रोशित छन्।यस्तो अवस्थामा केही समूहले आफ्नै व्यक्तिगत स्वार्थको पुनस् प्रयोग गर्न खोज्दैछन।नेपालको विकास र समृद्धिको लागि अहिलेको नेपालको व्यवस्था बाधक छैन।बाधक केवल यहाँका शासक बनेका छन्।वर्षौँ देखि नेपालको सत्तालाई निजी सम्पत्ति जस्तो बनेर रजाइँ गरिरहेका र आफूलाई मूलधारका दलहरू भन्ने नै विकासका बाधक हुन् । 

अब नेपाली नागरिक कसैको लहलहैमा लागेर मर्ने र मार्ने लडाइँमा लाग्ने होइन । यही व्यवस्था र संविधानलाई प्रयोगमा ल्याई हाम्रो अवस्था परिवर्तन गर्नतिर लाग्नुपर्छ । यो देशका मूलधार भनिएका दलहरूका नेतृत्वलाई बारम्बार आँखा चिम्लेर राज्यसत्ताको साँचो सुम्पिदा आज देश नै असफलताको बाटोतिर लागेको हो । 

यो देशको मूल नेतृत्व नै बारम्बार असफल र असक्षम प्रमाणित भएको छ । जबसम्म यो नेतृत्वलाई फ्याँक्न सकिँदैन तबसम्म नेपाली नागरिकले सुख र शान्तिको सास फेर्न सक्दैनन् । नेतृत्वलाई फाल्ने र हुत्याउने भनेकै अहिलेकै व्यवस्था भित्रको निर्वाचन प्रणाली हो ।

अहिले नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्था अत्यन्तै तरल र सङ्कटावस्थामा देखिन्छ । यहीबेला केही समूहले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भने दाउमा प्रयत्न गरिरहेका छन् । विभिन्न देशीविदेशी शक्तिहरू राजा र धर्मका नाममा नेपाली नागरिकलाई फुटाउने र देशलाई असफल बनाउने प्रयत्नमा लागेका देखिन्छन् । 

राज्यको नेतृत्व गर्ने व्यक्तिले नागरिकका निराशामा आशा जगाउने काम गर्न पटक्कै खोज्दैनन् । उनीहरूमा त सपना पनि छैनन् । सरकार पक्षीय दलहरू कतिखेर कुर्सी फुस्कने हो भनेर कुर्सी बचाउने खेलमा मात्र लागेका छन् भने विपक्षीहरू जसरी हुन्छ सरकारबाट हटाउने खेल खेल्न चाहन्छन् । 

अहिलेका यी मूलधार भनिएका राजनीतिक दलहरूको खेल भनेको एक अर्कोलाई तथानाम गाली गर्ने र कुर्सीको लागि लड्नेमात्र देखिन्छ । यी राजनीतिक नेतृत्वहरूले नेपाली नागरिकलाई संस्कार र सद्भावका कुराहरू बडो सिकाउँछन् तर आफैँ राजनीतिक र सामाजिक रुपमा झन धेरै नाङ्गिदै गएका छन् र देशलाई असफल बनाएका छन् । 

नेपालका पुराना राजनीतिक दलका नेतृत्वहरूले आफ्नो विचार र सिद्धान्तलाई त्यागेर दलमा अलोकतान्त्रिक परिपाटीको विकास स्थापित गराउँदा देशले आज यो अवस्था भोगेको हो । आजका राजनीतिक दलहरू व्यक्तिका निजी कम्पनी जस्ता भएका छन् । 

दलभित्र बावाद र भाउजूवादको विकास भएको छ । झोले र टीके प्रणालीले गर्दा दलहरूप्रति नागरिकको विश्वास नै छैन । दलाल, ठेकेदार, बिचौलीले दलभित्र प्रवेश गराएर उनकै हालीमुहालीमा देश चलाउने गरिएको छ । दलहरूलाई अहिलेको नयाँ पुस्ताले सच्याउनु पर्छ र जतिसक्दो छिटो नेतृत्व सम्हाल्नु पर्छ । 

आज नेपालका कुनै पनि दलका नेतृत्वहरूमा देश र नागरिकप्रति माया नै छैन र उनीहरूमा देश बनाउने कुनै भिजन नै छैन । देशलाई लुट्नकै लागि राज्यसत्ता र निर्वाचनलाई सिन्डिकेट प्रणालीमा पुर्याएका छन् । वास्तवमा ३४ वर्षसम्म पनि यो देशमा उल्लेखनीय परिवर्तन हुन नसकेको व्यवस्थाको कारणले होइन । 

नेपाली राजनीतिमा सिन्डिकेट प्रणाली अपनाएर देशलाई बन्धक बनाएका नेपालको राजनीतिका प्रमुख तीन दलहरूका शीर्ष तीन नेताहरूकै कारणले हो । ती तीनभाइको कब्जामा विगत तीन दशकदेखि देश बन्धक बनिरहेको छ । यो बन्धक बनेको देशलाई राजतन्त्रका नाम पारेर अर्को कुनै पूर्वराजाको पाउमा सुम्पिदैमा वा कसैको नाति गणतन्त्र भत्काउने ह्याम्बर बन्छु भन्दैमा भत्किदैन र फूमन्तर पनि हुँदैन । 

ती तीनभाइको पन्जाबाट यो देशलाई फुकाउन दलभित्र नयाँ पुस्ताले नयाँ अवतारसहित विद्रोह गर्नुपर्छ र आम नेपाली नागरिकले आवधिक निर्वाचनमा भोट माग्न आउँदा धुलो चटाउनुपर्छ । कसैको भावनामा बगेर नागरिक उक्सिएर आजको भोलि देशले काँचुली फेर्न सक्दैन । 

लोकतान्त्रिक परिपाटीबाटै नयाँ नेपालको सपना देखेको नयाँ नेताले नै देशको नेतृत्व गर्नुपर्छ । त्यो नयाँ नेतृत्व भनेको फालेको राजा, अहिलेका राजा वा राजा हुने दिवा सपना देखेको कुनै व्यक्तिविशेष होइन । नेपाली राजनीतिमा यो देशको लागि केही गर्न सकिन्छ भनेर सिद्धान्त र विचारमा स्खलन नभएको र समृद्धिको सपना देखेको तर अवसर नपाएको व्यक्ति हो ।

अब अहिलेको यो गन्हाउने नेतृत्वलाई जतिसक्यो छिटो जबर्जस्त भए पनि हुत्याई पुराना दलभित्रबाटै वा नयाँ दलबाट भए पनि नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्छ । दलभित्र राजनीति गरेका र अवसरबाट बन्चित भएका नयाँ पुस्ताहरू विद्रोह गरी अब बाहिर निस्कनुपर्छ । 

अब पनि दिन्छ कि खान पाउँला वा छोडिदियो भने म गरुँला भन्ने दिन छँदै छैनन् । अहिले पुराना दलमा पनि केही नयाँ पुस्ताहरू नेतृत्वमा पुग्दासमेत मरिचसरी खुम्चिएका पनि देखिन्छन् । यति धेरै नागरिकको साथ पाउँदासमेत नेतृत्वकै उकुसमुकुसमा परेर सासै फेर्न बिर्सेका हुन् कि जस्ता पनि देखिन्छन् । 

नेतृत्वमा नयाँ पुस्ताहरू पुग्दासमेत दललाई रुपान्तरण गर्न नसक्दा र नागरिकका आवाजहरू सुन्न नसक्दा प्रतिगामी शक्तिहरू देशको राजधानीमै जाग्न खोजेका छन् । अब ती प्रतिगामी शक्तिलाई गाली गरेर होइन नेपाली नागरिकका समस्यालाई सम्बोधन गरेर देश बचाउने काममा तुरुन्तै लाग्नुपर्छ । 

नेपालमा अबको विकल्प भनेको यही व्यवस्थालाई अवलम्बन गरी दलीय र राज्यसत्तामा नयाँ नेतृत्वलाई ल्याउनै पर्छ । नयाँ नेतृत्वले कडाभन्दा कडा कानून बनाएर लुटेराहरूलाई कानूनी कठघरामा ल्याई देशबाट लुटेको सम्पत्तिलाई राज्यको ढुकुटीमा जम्मा गर्नुपर्छ र नेपाललाई जतिसक्दो छिटो समृद्ध मुलुक बनाउनुपर्छ । (भर्जिनिया, अमेरिका)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ