- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अहिलेको युग विज्ञान र प्रविधिको युग हो । संसारका विकसित देशहरू अन्तरिक्षको अध्ययनमा प्रतिस्पर्धात्मक तरिकाले लागिरहेका छन् । प्रविधि र विकासका कुराहरू गर्ने हो भने आजभन्दा ३४ लाख वर्ष पहिले पत्थरका औजार निर्माणदेखि आजको रोबोटिक र क्वान्टम कम्प्युटिङ युगसम्म आइपुगेको छ ।
प्रविधिले यति छिटो नाटकीय र अकल्पनीय रूपमा छलाङ मारिरहेको छ । मान्छेले बनाएको प्रविधिले नै मान्छेलाई जित्ने अवस्थामा पुगेको छ । आज प्रविधिको आविष्कारका कारणले नै लाखौँका रोजगारहरू गुमिरहेका छन् । प्रविधिको विकासको क्रममा १७ औँ शताब्दीमा आधुनिक विज्ञानको जन्म भएको मानिन्छ ।
आधुनिक विज्ञानसँगै टेलिस्कोप, माइक्रोस्कोप, घडी, ब्यारोमिटर, रेडियो, टेलिभिजन, हवाइजहाज, कार, कम्प्युटर आदिको विकास हुँदै गएको देखिन्छ । विज्ञान र प्रविधिको द्रुत विकास मानिसको जनजीवनलाई सहज बनाएको छ । यही प्रविधिले नै आज विशाल संसारलाई सानो बिन्दुमा अटाउने बनाएको छ ।
संसारको कुनै पनि ठाउँमा डिजिटल रुपमा पुग्न र बुझ्नको लागि मिनेट लाग्दैन । रेडियो, टेलिभिजन, टेलिफोनसमेत भर्खरै देखेका र प्रयोग गरेका कतिपयलाई यी प्रविधिका कुराहरू अनौठो र आश्चर्य लाग्नु स्वाभाविकै पनि हुनसक्छ । आज फाइभ जी नेटवर्क, आर्टिफिसियल इन्टिलेजेन्स, डेटाफिकेसन, डिजिटल ट्रस्ट, जिनोमिक्स, थ्रिडी प्रिन्टिङ, क्वान्टम कम्प्युटिङ, साइबर सेक्युरिटी, जिनोमिक्स आदिजस्ता अत्याधुनिक प्रविधिहरू निर्माण भइरहेका छन् ।
मान्छेको दैनिकी लगायत भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, बैङ्क, उद्योग आदि हरेक क्षेत्रमा प्रविधिले मान्छेको जीवनलाई सरल, सजिलो र उन्नत बनाएको छ । मान्छेले प्रविधिमार्फत नै संसारका सबै किसिमका ज्ञान, शिक्षा, सीप, मनोरञ्जन, समाचार छिटो र सजिलो तरिकाले थाहा पाउन सकेको छ । अहिलेको २१ औँ शताब्दीमा मानिसहरू नयाँ नयाँ प्रविधिसँगै अगाडि बढ्न सकेनन् भने उनीहरू हरेक क्षेत्रमा पछि पर्छन् ।
प्रविधि प्रयोगमा नेपालः
विश्वमा विज्ञान, प्रविधि र विकासको दृष्टिकोणले नेपाल पछाडि नै छ । नेपालमा मन्द गतिमा विज्ञान र प्रविधिको आगमन र विस्तार हुँदै गएको देखिन्छ । नेपालमा विसं २०१८ मा त्रिभुवन विश्वविद्यालयले प्राविधिक प्रशिक्षण प्रतिष्ठानको स्थापना गरेको थियोे ।
प्रविधिको कुरा गर्दा नेपालले २०१८ सालको जनगणनामा फासिट नामक इलेक्ट्रोनिक क्याल्कुलेटर प्रयोग गरेको थियोे । २०२८ सालको जनगणनामा आईबीएम १४०१ दोस्रो पुस्ताको मेनफ्रेम कम्प्युटर प्रयोग गरेको थियोे । यस्तै २०३८ सालमा आउँदा यूनडीपी र यूएनएफपीएको सहयोगमा इङ्गल्याण्डबाट २० लाख अमेरिकी डलरमा चौथो पुस्ताको कम्प्युटर आयात भएको देखिन्छ ।
नेपालमा २०४६ सालमा प्रजातन्त्रको पुनःबहालीपछि प्रविधिमा थप विकास हुँदै गएको देखिन्छ । आमसञ्चारका विभिन्न साधनहरू टेलिभिजन, रेडियो, पत्रिकाहरू खोलिन थाले । विस्तारै मिडिया जनताको पहुँचसम्म पुग्दै जाँदा यिनीहरूबाट राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार र ज्ञानविज्ञानका कुराहरू जनताले थाहा पाउन थाले ।
जनताको चेतनाको स्तरमा विस्तारै वृद्धि हुँदै गएको छ । आम जनतालाई विश्व परिवेश बुझ्ने र नयाँ–नयाँ जानकारी हासिल गर्नको लागि मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । नेपालमा अहिले रेडियो, इन्टरनेट र डिजिटल मिडियाले राम्रै प्रभाव पारेको देखिन्छ ।
आज करिब ५१ प्रतिशत नेपालीको पहुँचमा इन्टरनेट सेवा पुगेको देखिन्छ भने करिब ४१ प्रतिशतले सामाजिक सञ्जालको प्रयोग गरेका छन् । एक तथ्यांकअनुसार ४ करोड २७ लाख ८० हजार सेलुलर मोबाइल कनेक्सन भएको देखिन्छ ।
वास्तवमा राज्य जनतासँग पुग्ने र जनताका कुरा राज्यसँग पुर्याउने एउटा महत्वपूर्ण माध्यम इन्टरनेट र आमसञ्चार नै हो । अहिले प्रविधिको विकासले गर्दा इन्टरनेटको पहुँच भएको ठाउँबाट सेकेन्डकै भरमा सूचना आदानप्रदान हुन्छ । अहिले नेपालमा डिजिटल मिडिया लोकप्रिय हुँदै गएको पनि देखिन्छ । प्रविधिले गर्दा नै एउटा डिभाइस र इन्टरनेट भयो भने क्षणभरमा विश्व घुम्न, बुझ्न, पढ्न, सूचना आदानप्रदान गर्न गर्न सकिन्छ । जनतालाई शिक्षित, चेतनशील, स्वरोजगारी, व्यवसायी, सीपयुक्त र दक्ष बनाउन मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।
सामाजिक संजाल र टिकटक एपः
नेपालमा पछिल्लो समयमा सामाजिक संजाल टिकटकका बारेमा निकै बहसहरू हुने गरेका छन् । हालै नेपाल सरकारले टिकटकले सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पुर्याएको भनी यसलाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ । सरकारले सामाजिक संजाल टिकटकमाथि प्रतिबन्ध लगाउँदा यसका पक्ष र विपक्षमा आलोचनाहरू र टीकाटिप्पणीहरू भइरहेका छन् । कतिपयले जनताका मौलिक अधिकारमाथि नै राज्यले हस्तक्षेप गर्यो भनेर आरोप लगाएका छन् भने कतिपयले राज्यले सही निर्णय गर्यो भनेर सरकारको प्रशंसा गरेको पनि सुनिन्छ ।
लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा त सामाजिक संजाल भनेको आम जनताको आवाज पोख्ने सार्वजनिक डिजिटल प्लेटफर्म पनि हो । अझै विश्वमै पछिल्लो चरणमा आउँदा त सामाजिक संजाल व्यक्तिगत तथा सामाजिक जीवनको एउटा अभिन्न अङ्ग जस्तो बनेको देखिन्छ । सामाजिक संजाललाई दर्ता गरिनु, नियमन गरिनु, कर लगाउनु राज्यको दायित्व हो ।
राज्यले कुनै कुराको नियमन गर्न नसक्ने वा असक्षम हुने हो भने पछिल्लो चरणमा आएका वा आउँदै गरेका प्रविधिहरूसँग आम जनता कसरी परिचित हुन सक्छन् र ? केही नकारात्मक असर देखिए भन्दैमा समष्टिमा नै ती सामाजिक संजालहरू खराब हुन् भन्न सकिन्न । राज्यले कतिलाई बन्द गर्न सक्छ र ? कुनै अरु देशको कारण देखाउँदै सामाजिक संजाललाई बन्द गराउनु भनेको दास मनोवृत्ति र लाचारपना हो । राज्यले सामाजिक संजालमार्फत के कति फाइदा भएको छ भनी अध्ययन नगरी केही असामाजिक गतिविधि भए भन्दैमा संजाल नै बन्द गर्नु असक्षम र अपरिपक्व निर्णय नै हो ।
टिकटकमात्र होइन कुनै पनि सामान्य वस्तुको सही सदूपयोग गर्न सकिएन भने त्यसले आफैँलाई मात्र होइन समाजलाई समेत समाप्त पार्छ । टिकटकमा समस्या नै छैनन् भन्ने होइन । टिकटकमा भ्युज बढाउन अश्लील सामग्री पोस्ट गर्ने, गिफ्टका लागि जे पनि बोल्ने र शरीर नाङ्गो बनाउने, नितान्त व्यक्तिगत र पारिवारिक मामिलालाई सार्वजनिक गरिदिने, गलत र झुटा सूचनालाई सम्प्रेषण गरिदिने जस्ता क्रियाकलापहरू गरेका देखिन्छन् । यस्ता गलत क्रियाकलाप गर्नेलाई सरकारले कडाभन्दा कडा कानून बनाएर कारबाही चाहिँ गर्नुपर्छ । राज्यले सामाजिक संजालले कति फाइदा गरेको छ भन्ने कुरालाई पनि अध्ययन गरिनुपर्छ । आम जनताले सामाजिक संजालमार्फत प्राप्त गर्ने र प्राप्त गर्नसक्ने ज्ञान, सीप, क्षमता, साहस, दक्षता तौलिन र तथ्यांकीय रुपमा गणना गर्न नसक्ने किसिमका हुन्छन् ।
हाम्रो जस्तो विकास र समृद्धिमा पछि रहेको देशमा जनतालाई जागरुक र चेतनशील बनाउन सामाजिक संजालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । कतिपय देशले राज्यका गोपनीयताहरू बाहिरिएको हुनाले टिकटकलाई प्रतिबन्ध लगाएका छन् । नेपालमा राज्यले नियमन नगरी सामाजिक सद्भाव र एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको आरोप लगाइ प्रतिबन्ध लगाउनु अपरिपक्व निर्णय हो ।
राज्यले टिकटकलगायत अन्य सामाजिक संजालमा देखिने विकृतिहरूका बारेमा आम सर्वसाधारणलाई दोष लगाए पनि यसको मुख्य कारक स्वयं नेपालका राजनीतिक दलहरूको अराजनीतिक संस्कार र असक्षम सरकार नै हो । हाम्रो जस्तो जनचेतनाको स्तर कम भएको देशमा सरकारले बारम्बार निर्देशन र जागरणका कुराहरू सिकाउनु पर्छ ।
जनतालाई पहिले नै बोल्न जानेनस् भनेर गाली गर्ने वा हप्काउने होइन कि बोल्न सिकाउनु पर्छ । जनतालाई नयाँ प्रविधिबाट टाढा राखेर वा मुख बन्द गर्न लगाएर लोकतान्त्रिक व्यवस्था बलियो हुन सक्दैन । राज्यले टिकटक, फेसबुक, ट्विटर, इस्ट्राग्राम आदि जस्ता सामाजिक संजालको प्रयोग गरी शिक्षा, स्वास्थ्य, मनोरञ्जन, सूचना आदिको जानकारी गराउनुका साथै व्यापार र व्यवसायहरू प्रबद्र्धन गर्न प्रेरणा दिनुपर्छ । कुनै पनि सामाजिक संजाललाई सरकारले प्रतिबन्ध लगाउनु हुँदैन, नियमन गर्नुपर्छ ।
के हो त टिकटक ?
टिकटक एउटा एप्लिकेसन हो । यो एप्लिकेसन चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१६ मा लन्च गरेको थियो । यसको मुख्य कार्यालय चीनको बेजिङमा रहेको छ । टिकटकमा करिब ४० हजार कर्मचारीहरू कार्यरत छन् । टिकटकमा १५ देखि ६० सेकेन्डसम्मका भिडियोहरू सिर्जना गर्न, हेर्न, कसैको लिप्सिङ गर्न र क्यारिकेचर गर्न मिल्छ ।
टिकटकमा करिब १.५ बिलियन प्रयोगकर्ता रहेका छन् । नेपालमा मात्रै यसका करिब २२ लाख प्रयोगकर्ता रहेका छन् । विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको देश अमेरिका हो, जहाँ ११३ मिलियन प्रयोगकर्ता रहेका छन् । त्यसपछि दोस्रो इन्डोनेसिया हो, जहाँ १०९ मिलियन प्रयोगकर्ता रहेका छन् । सन् २०२२ को जुनमा प्रकाशित एक सर्वेक्षणअनुसार टिकटक प्रयोगकर्ताले दैनिक ९५ मिनेट टिकटकमा बिताएका थिए ।
टिकटकले सन् २०२२ मा १२ बिलियन अमेरिकी डलर कमाएको थियोे । सन् २०२० मा टिकटकको मूल्य ५० अर्ब अमेरिकी डलर रहेको थियोे भने टिकटकको मूल कम्पनी बाइटडान्सको मूल्य २७५ अर्ब अमेरिकी डलर रहेको छ । सन् २०२२ मा टिकटकबाट सबैभन्दा धेरै कमाउने टिकटकर अमेरिकाकी चार्ली डिअमेलियो हुन् । ।अमेरिकाको कनेक्टिकटकी चार्लीले टिकटक प्लेटफर्म प्रयोग गरेर सन् २०२२ मा १७.५ मिलियन अमेरिकी डलर कमाएकी थिइन् । उनका १४८.७ मिलियन फलोअर्स छन् । विश्वमा टिकटकका सबैभन्दा धेरै फलोअर्स भएका प्रयोगकर्ता इटालीका खाबी लेम हुन् । उनका १६ करोड २० लाख फलोअर्स रहेका छन् । २२ वर्षीय खाबी लेमले सन् २०२२ मा टिकटकबाट १ करोड ५० लाख डलर कमाएका थिए । अहिलेसम्म सबैभन्दा धेरै हेरिएको टिकटक भिडियो ज्याककिङको ह्यारी पोटर इलुजन भिडियो हो । १८ सेकेन्डको उक्त भिडियोमा ज्याकले ह्यारी पोटर कोट लगाएर उडिरहेको र झाडुमा चढेको देखिन्छ । उक्त भिडियोलाई २.२ बिलियन पटक हेरिएको छ ।
सन् १९९७ सिक्स डिग्री नामक सामाजिक संजालको शुरुआत भएको थियोे । यसैलाई नै पहिलो सामाजिक संजाल मानिन्छ । अहिले सामाजिक संजालभरिमा सबैभन्दा ठूलो प्लेटफर्म भनेको फेसबुक हो । विश्वमा फेसबुक प्रयोगकर्ताहरू ३.०३ बिलियन छन् । नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या करिब १ करोड २० लाख रहेको छ । विश्वमा रहेका सामाजिक संजालहरूमा फेसबुकपछि क्रमशः युट्युब, ह्वाटसएप, इन्ट्राग्राम, विच्याट, टिकटक, मेसेन्जर, टेलिग्राम, स्न्यापच्याट, ट्विटर आदि लोकप्रिय छन् ।
मूल नेतृत्व नै अराजकताको कारकः
नेपालको राजनीति अत्यन्तै तरल र सङ्कटावस्थामा देखिन्छ । देशको आर्थिक अवस्था अत्यन्तै दयनीय छ । जनता अहिलेको राजनीतिक नेतृत्वबाट असन्तुष्ट छन् । जनतामा चरम निराशा छ । राज्यले जनताको निराशामा आशा जगाउने काम गर्नै सक्दैन ।
सरकार पक्षीय दलहरू कतिखेर कुर्सी फुस्कने हो भनेर कुर्सी बचाउनमात्र लागेका छन् भने प्रतिपक्षहरू जसरी हुन्छ सरकारबाट हटाउन चाहन्छन् । यी राजनीतिक दलहरूको खेल भनेको एकअर्कोलाई तथानाम गाली गर्ने र कुर्सीको लागि लड्नेमात्र देखिन्छ । यी राजनीतिक नेतृत्वहरूले नेपाली जनतालाई संस्कार र सद्भावका कुराहरू सिकाउँछन् तर आफै राजनीतिक र सामाजिक रूपमा झन् धेरै नाङ्गिएका देखिन्छन् ।
आज सामाजिक संजालमा जे जस्ता विकृतिहरू देखिएका छन् तिनको मुख्य कारक नै नेपालका नेताहरू हुन् । देशको विकास गर्न र कानून बनाउन भनी संसदमा गएका सांसदहरू नै सामाजिक संजालमा भाइरल हुन नाङ्गिएका थिए । नेताहरू, उच्च पदस्थ व्यक्तिहरू, कर्मचारीहरू, जनप्रतिनिधिहरूबाट नै अश्लील क्रियाकलाप प्रदर्शन गर्ने, एकअर्कालाई निराधार गाली गर्ने, राज्यको जिम्मेवार व्यक्तिमा नै जवाफदेहिता र उत्तरदायित्व बोध नहुने, प्रधानमन्त्री र मन्त्रीहरू जनताका आँखामा छारो हाल्न स्टन्टबाजी मात्र गरिरहने, पूर्व प्रधानमन्त्रीहरू विरोधीका बारेमा बोल्दा अत्यन्तै गिरेर तुच्छ र निकृष्ट भाषाशैलीको प्रयोग गर्ने जस्ता गलत प्रवृत्तिहरूले नै सामाजिक, राजनीतिक र धार्मिक अराजकता निम्तिएको देखिन्छ ।
सामाजिक संजालहरूमा तिनै विकृतिहरू वा त्यस्तै रूपका सामग्रीहरू सम्प्रेषित भएका हुन्छन् । त्यसले समाजलाई थप अराजकतातिर लैजान्छ । राजनीति नै राज्य सञ्चालनको मेरुदण्ड भएको हुनाले सबैभन्दा पहिले नेपालको विकृत राजनीति नै सच्चिनुपर्छ । नेतृत्व पङ्ति नै जिम्मेवार, अनुशासित र नैतिक आचरणमा बस्नुपर्छ ।
प्रधानमन्त्री, मन्त्रीहरूले आफ्नो विरोधीलाई तथानाम गाली गर्ने, नेताले ठूल्ठूला भ्रष्टाचार र गलत क्रियाकलाप गर्ने, नेता नै संसदभित्र नाङ्गिने, नेताकै अनेक किसिमका अश्लील अडियो र भिडियोहरू बाहिर आउने अनि जनताले सामाजिक संजालमार्फत सामाजिक सद्भाव बिगारे भनेर आरोप लगाउनु कत्ति पनि पत्याउन सकिने कुरो हुन सक्दैन ।
जब राज्य अत्यन्तै कमजोर र सरकारले राज्य सञ्चालन गर्न असक्षम हुन्छ त्यसबेला सरकारले जनतामाथि अनेक किसिमका प्रतिबन्धहरू लगाउँछ भन्ने कुरा विगतको इतिहासबाट प्रष्ट हुन्छ । राज्यमा टिकिरहन खोज्ने एउटा सजिलो तरिका भनेको कानूनमा भएका व्यवस्था र जनताका मौलिक हकमाथि प्रतिबन्ध लगाउनु हो ।
यतिबेला नेपाली जनतामा अत्यन्तै वितृष्णा र निराशा छ । कतै जनता सरकारमाथि नै हस्तक्षेप गर्न त आउने होइनन् भन्ने डरमा सरकार देखिन्छ । यसबेला जनताको विरोध र आक्रोश सुन्न नसकेर सामाजिक संजालमाथि नै प्रतिबन्ध लगाउँदै जान खोजेको पनि शंका गर्न सकिन्छ । आज सरकार असक्षम र कमजोर भएकै कारण राजावादीहरू धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्दैछन् ।
नेपाली जनता कसैको उक्साहटमा लागेर लोकतन्त्रकै विरुद्धमा लाग्नु हुँदैन । लोकतान्त्रिक परिपाटीबाटै अहिलेको सिन्डिकेट राजनीतिक नेतृत्वलाई हुत्याउनु पर्छ । अहिलेको नेतृत्व रहेसम्म देशले काँचुली फेर्न सक्दैन । देशमा जति पनि विकृतिहरू रहेका छन् तिनको मुख्य दोषी र कारक भनेको नेपालको राजनीतिक नेतृत्व र त्यो राजनीतिक नेतृत्वमा रहेको प्रवृत्ति नै हो । (भर्जिनिया, अमेरिका)