arrow

विश्वमा गाई र कुकुर, नेपालमा मात्र पाइने भोटे कुकुर चीनको 'पेटेन्ट'

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८० कार्तिक २७ सोमबार
rajendra-panthi-2080-07-27.jpg

नेपालको दोस्रो ठूलो चाड तिहारका बेलामा चराचुरुङ्गी र जनावरको महत्व बढी पाइन्छ । नाग पञ्चमीमा नागको पूजा गरिन्छ । त्यस्तै गड्यौला, बिच्छी लगायतको पनि पूजा गरिन्छ । ताकि त्यसबाट मानिसलाई कुनै हानि नहोस् । ‘इको सिस्टम’ चलाउन पनि यसको महत्व निकै नै छ । 

प्रकृतिले सबैलाई आ–आफ्नो स्थान दिएको छ । एक अर्काका परिपूरक मानेको छ । त्यसरी नै प्रकृति पूजा गर्दा सबैको पूजा हुन्छ । तर विशेष दिन छुट्टाएर जसरी नाग पञ्चमी गरिन्छ त्यसरी नै तिहारका बेलामा काग, कुकुर, गाई, गोरूको पूजा गरिन्छ । 

सबैको आ–आफ्नो विशेषता छ । तर विभिन्न संस्कृतिमा फरक फरक शैलीमा कुनै न कुनै जनावरको पूजा गरिएकै हुन्छ । यो छोटो लेखमा विशेष गरी गाई र कुकुरको संसारमा अवस्था के छ भनेर आँकलन गर्न खोजिएको छ । 

गाई नेपालको राष्ट्रिय जनावर हो । विश्वमा १ अर्ब ५० करोड गाई पालिन्छन् । सबैभन्दा धेरै गाई भारत, ब्राजिल, अमेरिका,चीन, न्यूजिल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना, मेक्सिको आदि देशमा दूध, मासु, छाला, मल र अन्य उत्पादनको लागि पालिन्छ । हिन्दू धर्ममा गाईलाई देवीको प्रतीकका रुपमा मानेर पूजा गरिन्छ । 

हिन्दूहरूको महान् पर्व तिहारमा गाईलाई गौमाताको रुपमा पूजा गर्ने चलन पनि छ । हिन्दू धर्ममा जन्मदेखि मृत्यु संस्कार र अन्य पूजापाठ गर्दा गाईको दूध, घ्यू, मूत्र र गोबर अनिवार्य चाहिन्छ । 

गाईको दूधमा विभिन्न पोषक तत्व र रोग प्रतिरोधात्मक तत्व हुन्छ । हिन्दू धर्ममा शुद्ध हुनु पर्दा पञ्चगव्य रुपमा गाईको दूध, दही, घ्यू, गहुँत र गोबर प्रयोग गरिन्छ ।

गाई कृषि र अर्थ व्यवस्थाको एउटा महत्वपूर्ण अङ्ग हो भने हिन्दू धर्ममा  आध्यात्मिक, धार्मिक र चिकित्सकीय दृष्टिकोणले गाईलाई अत्यन्तै पवित्र र पूजनीय घरपालुवा जनावरको रुपमा लिइन्छ ।

नेपालमा २०७९ सालमा प्रकाशित एक सर्वेक्षण अनुसार व्यावसायिक रुपमा ४४ हजार ८ सय गाई पालिन्छन् । 

कृषि मन्त्रालयको २०७९ को सर्वेक्षण अनुसार जम्मा गाईहरूमध्ये १५ हजार ३ सय ८० गाईबाट ४ करोड ५८ लाख ३ हजार ४५७ लिटर दूध उत्पादन गरिएको थियो । नेपालमा वर्षमा गाई र भैँसीबाट करिब ७ करोड लिटर दूध उत्पादन हुन्छ भने गाईबाट ४२ प्रतिशत दूध उत्पादन हुन्छ । 

विश्वमा करिब ५४९.४८ मिलियन मेट्रिक टन गाईको दूध उत्पादन हुन्छ विश्वको दूध बजारमा गाईको दूधले ९० प्रतिशत बजार ओगटेको छ । 

विश्वमा सबैभन्दा धेरै दूध प्रयोग गर्ने मुलुक भारत हो । भारतमा वार्षिक ८७ मिलियन मेट्रिक टन दूध खपत हुन्छ त्यसपछि क्रमशः इयू, अमेरिका, चीन, ब्राजिलमा दूध खपत हुन्छ ।

हिन्दू धर्ममा गौमाता र देवीको प्रतीक मानेर पूजा गरिने गाईलाई क्रिश्चियन र मुस्लिम धर्ममा बिफ भनी मासु खाने गरिन्छ । विश्वमा सबैभन्दा धेरै गाईको मासु उत्पादन र खपत गर्ने मुलुक अमेरिका, ब्राजिल, चीन, बेलायत, भारत हुन् । विश्वमा वर्षभरिमा २५ बिलियन पाउण्ड बिफको कारोबार हुन्छ । 

विश्व बजारमा सन् २०२२ मा ३३२.२९ बिलियन डलरको बिफको कारोबार भएको देखिन्छ ।

कुकुर
विश्वमा घरपालुवा, भुस्याहा र जंगली गरी करिब ९० करोड कुकुरहरू रहेकोे पाइएको छ । विश्वमा ४७ करोड  १० लाख घरपालुवा कुकुरहरू छन् भने ३७ करोड घरपालुवा बिराला छन् । 

मानिसमा हुने रेबिजका ९९ प्रतिशत घटना कुकुरको कारण हुन्छ । सन् २०२३ को एक तथ्यांकअनुसार करिब ६६ प्रतिशत अमेरिकी घरपरिवारमा घरपालुवा जनावर छन् । 

६ करोड ३४ लाख घरधुरीमा कुकुर पालेका छन् । अमेरिकामा ८५ प्रतिशत कुकुर मालिकहरूले आफ्नो कुकुरलाई परिवारको सदस्य मानेका छन् । 

सन् २०२२ मा अमेरिकीहरूले आफ्नो घरपालुवा जनावरमा १३६.८ अर्ब डलर खर्च गरेका थिए ।

भारतमा दुई करोड घरपालुवा कुकुर छन् । सन् २०२२ मा चीनमा पाल्तु  कुकुरहरूको संख्या करिब १४ करोड रहेको थियोे ।

चीनमा सन् २०२५ सम्ममा घरपालुवा कुकुर र बिरालाको संख्या २० करोड पुग्ने अनुमान गरिएको छ ।

चीन, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्याण्ड, लाओस, भियतनाम, कम्बोडिया र भारतको नागाल्याण्डमा कुकुरको मासु खान्छन् । 

एसियामा मासुकै लागि वर्षको तीन करोड कुकुर मारिन्छन् । चीनमा मात्र एक करोड कुकुर र ४० लाख बिराला मासुको लागि मारिन्छन् । 

लगभग २० अफ्रिकी देशहरूमा कुकुरको मासु धार्मिक र सांस्कृतिक प्रयोजनको लागि खपत गरिन्छ । युरोप र अमेरिकामा भने कुकुरको मासु वर्जित छ ।

नेपालमा मात्र पाइने भोटे जातको कुकुरको पेटेन्ट चीनले लिएको छ । नेपालबाट लोपोन्मुख हुन लागेको यो जातको कुकुरलाई चीनले नश्ल सुधार गरेर तिब्बतीयन मास्टिभ भनी नयाँ नामकरण गरेको छ । 

यो जातको कुकुर विश्वको सबैभन्दा महँगो कुकुर मध्येमा गनिन्छ । नेपालमा कुकुरहरूको संख्या कति छ भन्ने आधिकारिक तथ्यांक प्राप्त छैन ।
श्रोत–वल्ड एनिमल फाउन्डेशन, बीबीसी, चाइना पेट मार्केट । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ