- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
देश अहिले राजनीतिक, आर्थिक, सामाजिक धार्मिकलगायत प्राकृतिक विपत्तिको कारणले पनि सङ्कटमा परेको छ । यति नै बेला केही अतिवादी र असंगठित राजतन्त्रवादीहरू लोकतान्त्रिक गणतन्त्रको विपक्षमा सडकमा उत्रिएका छन् भने केही राजतन्त्रवादी र हिन्दूवादी नारा लगाउने दलहरू धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर पनि लाग्दैछन् । नेपालका हरेक सामाजिक सञ्जालदेखि मूलधारका सञ्चार माध्यमसम्ममा राजतन्त्रका पक्ष र विपक्षमा समाचारका शीर्षक बनेका छन् । बहस पनि चलेका देखिन्छन् ।
वास्तवमा आजको युग भनेको २१ औँ शताब्दीको युग हो।यो युग कुनै व्यक्ति पूजा गर्ने वा एक केन्द्रित युग होइन । अब पनि नेपालको सन्दर्भमा राजाका कुरा गरेर समय बर्बाद गर्नु समाजलाई १७ औँ शताब्दीतिर धकेल्नु हो । अझै पनि नेपालमा राजा आउँछन् भन्नु भनेको त उही माघ महिनामा स्वस्थानी व्रतकथामा लावण्य देशका राजा आए आउलान् अरु त त्यस्तै हो जस्तो लाग्छ ।
विश्वमा केही राजतन्त्रवादी देशहरू सफल छन् भन्दैमा हामी पनि तिनैको पछि लाग्नु वा तिनैलाई दृष्टान्त बनाउन खोज्नु नेपालको राजनीतिक सन्दर्भमा त उल्टो बाटो रोज्नु हो । नेपालमा हामीले २४० वर्ष राजतन्त्र भोगेकै त हौँ नि । हिजोको राजतन्त्र बेठीक र अब आउने राजतन्त्र के मानेमा ठीक हुन सक्छ र ? एक त नेपालमा राजा वीरेन्द्रको वंश नाश भएपछि राजतन्त्रकै पुस्ता समाप्त भएको थियो ।
राजा वीरेन्द्रको वंशनाश हुँदासमेत अर्को पुस्ता पनि राजा भएकै हुन् । उनको कार्यकाल र कार्यशैली पनि हेरिएको हो । अब नेपालमा ज्ञानेन्द्र र पारस अनि हृदयेन्द्रलाई राजा बनाएर देशमा आमूल परिवर्तन हुन्छ भन्नु पुनः अर्को राजनीतिक अराजकता निम्त्याउनु बाहेक केही होइन ।
पूर्वराजाको शासनशैली गलत भएर नै गणतन्त्र ल्याइएको थियो त । आज हामीले समयको गतिसँगै राजतन्त्रलाई मिल्काएर संसारकै उत्कृष्ट शासन व्यवस्था अँगालिसकेका छौँ । शासन व्यवस्थाको दृष्टिकोणले संसारमा गणतन्त्रभन्दा राम्रो व्यवस्था अरु देखिएकै छैनन् । अहिलेको समयमा नेपालको गणतन्त्रको विकल्पमा राजतन्त्रका बारेमा छलफल र बहस गर्ने बेलै होइन ।
गणतन्त्र आएको १७ वर्ष त भएको छ तर व्यवस्थाका बारेमा प्रश्न उठाउने समय नै आएको छैन । अहिले त गणतन्त्रलाई सफल र बलियो बनाउन के के गर्नुपर्छ भनेर बहस चलाउनु पर्छ र गणतन्त्रमा देखिएका कमजोरीलाई हटाउँदै जानुपर्छ । संविधानमा व्यवस्था भएको संघीयता, निर्वाचन प्रणाली र समावेशी आदि सवालमा भने बहस गर्नुपर्ने देखिन्छ ।
खासगरी अहिलेको सडकमा देखिएको भनिएको असन्तुष्ट, आक्रोश र आन्दोलन गणतान्त्रिक व्यवस्थाको असफलताको परिणाम नभई राजनीतिक दलहरूको अनैतिक क्रियाकलाप र नेतृत्वको असफलता र कमजोरीको परिणाममा देखिएको हो ।
सिङ्गो व्यवस्थाको असफलता होइन । कार्यान्वयन तहको असक्षमता हो । राजनीतिक नेतृत्वले गणतन्त्रलाई सही तरिकाले कार्यान्वयन गर्न नसक्दा यसमाथि प्रश्न उठाउन खोजिएको छ।नेपालका मूलधार र पुराना राजनीतिक दलहरू सिद्धान्त र आस्थामा प्रतिबद्ध नभई सत्तालाई व्यक्तिगत सम्पत्ति जस्तो बनाई गणतन्त्रलाई लुटतन्त्र र भिडतन्त्रमा परिणत गर्नाले नेपाली जनतामा असन्तुष्ट र आक्रोश देखिएको हो ।
नेपाली जनतामा अहिले नै गणतन्त्रको विकल्प राजतन्त्र हो भन्ने छैन । केही थोरै समूहले आम जनमानसको भावनामाथि खेलेर सस्तो लोकप्रियताको लागि पुनः आफैँ राजा बन्ने दाउमा आन्दोलनको नाटक गरेको देखिन्छ । आज गणतन्त्रमा पनि एउटा राजा हटाएर हजारौँ राजा बनेको हुनाले पनि देश लुट्न त कम हुने थियो भन्ने हेतुले लोकतन्त्रका नयाँ राजाहरूलाई तर्साउन बरु एउटै राजा ठीक भन्न खोजिएको हो । नकि गणतन्त्रको विकल्प राजतन्त्र हो भन्न खोजिएको होइन ।
अहिले नेपालीको आक्रोश भनेको गणतन्त्रका नयाँ राजाहरूको विरुद्धमा हो । हिजो एउटै राजा पाल्दा त कम खर्चिलो थियोे, आज गणतन्त्रका हजारौँ राजा पाल्दा अत्यधिक खर्चिलो हुन गयो र देश झन् पछि झन् गरिब हुँदै गयो भन्ने आम नेपालीको धारणा, आशय र चिन्ता छ । नेपाली जनतालाई गणतान्त्रिक व्यवस्थाप्रतिको वितृष्णा होइन कि गणतन्त्रमा देखा परेका नयाँ राजाहरूप्रतिको अविश्वास र घृणा हो ।
नेपाली राजनीतिमा चरम विकृति देखिएकोले त्यसैको परिणाम स्वरूप केही समूहले यो भन्दा त राजतन्त्र नै ठीक हो भनेर आफू नै नयाँ राजा बन्न खोजेको देखिन्छ । आज देशमा यो विकराल अवस्था आउँदासमेत नेतृत्व र दलहरू सच्चिएनन् भने राजतन्त्र त होइन, राजनीतिक विकृतिको पराकाष्ठा हुन गई देश असफल मुलुक बन्न सक्छ । नेपाल असफल राष्ट्र हुँदा कुनै शक्ति वा व्यक्ति विशेष श्रीपेच लगाएर वा नलगाई कोही राजा नबन्लान् भन्न पनि सकिन्न ।
नेपाली जनताहरूको पर्खाइ र लडाइँ धेरै लामो भयो । तर जनताको चाहना अनुसारका उल्लेखनीय प्राप्ति हुन सकेनन् । त्यसैले अहिले सडकमा मात्र नभएर घरघरमा असन्तुष्टि र आक्रोशहरू अभिव्यक्त भएका छन् । नेपालमा सक्रिय राजतन्त्र अन्त्य भएको ३४ वर्ष भयो भने संवैधानिक राजतन्त्र अन्त्य भएको पनि १७ वर्ष भएको छ ।
आम नेपालीहरूलाई यति कुरा थाहा छ कि राजतन्त्रले पनि नेपालको समृद्धिको लागि कुनै फूमन्तर गर्न सक्दैन । नेपाली जनताले २४० वर्षको राजतन्त्र पनि बेहोरेकै हुन् । राजालाई भगवान विष्णुको अवतार मानेर पूजा गरेकै हो । २४० वर्ष राजालाई पूजा गर्दा के पाइयो त ? सुशासन, समानता, आधारभूत आवश्यकता, भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी आदि पाइएको भए किन राजतन्त्र फाल्न पर्थ्यो र ?
नेपाली जनतालाई विकास र समृद्धि चाहिएको छ । हिजोका राजाले जनताका सपना पूरा गरिदिएका भए राजतन्त्र मिल्काउनु पर्ने थिएन । अहिले सस्तो लोकप्रियताका लागि कोही आफै राजा बन्न जनतालाई उचाल्ने र उकास्ने काम भएको देखिन्छ ।
अहिले नचाहिने बकबास कुरा गरेर गणतान्त्रिक व्यवस्था नै गलत हो भन्नु देशमा सामाजिक र राजनीतिक अराजकता निम्त्याउनु बाहेक केही होइन । कुनैबेला मिल्काएको राजालाई ल्याएर यहाँ कसरी विकास हुन्छ ? राजा ल्याउने नाममा अर्को कुनै व्यक्ति विशेष राजा बन्ने खेल रचिँदैछ । कसैले आफ्नो दलको पहिचान गराउन राजावादी भनिरहेका छन् भने कसैले आफैँ राजा बन्न जनविद्रोहको नामकरण गरेर आन्दोलन गर्न खोज्दैछन् ।
नेपाली जनताहरू यस्तो बेलामा अत्यन्तै सचेत र सजग हुनुपर्ने देखिन्छ । यहाँ राजतन्त्रको राजा चाहिएको छैन गणतन्त्रको राजनेता चाहिएको छ । यहाँ व्यवस्था असफल भएको होइन, नेतृत्व असफल भएको हो । नेपालको गणतन्त्रमा एउटा असल, दूरदर्शी, इमानदार राजनेता चाहिएको छ । नेपाल आमाले देश बनाउन राजनेता खोजेकी छिन् भने आम नेपाली जनता पनि राजनेता खोजिरहेका छन् ।
नेपालको इतिहासमा राजतन्त्रको अन्त्य र गणतन्त्रको प्राप्तिको लागि धेरै नेपालीहरूको रगत बगेको छ । धेरैले बलिदान दिएका छन् । नेपालीहरू व्यवस्था परिवर्तनका लागि धेरै पटक लडे अनि मरे । आज व्यवस्था परिवर्तन भन्दै लड्दा पुस्तौँपुस्ता बितेका छन् । अब पनि फेरि व्यवस्थाकै लागि मर्ने र मार्ने काम कदापि गर्नु हुँदैन ।
हामीले संसारकै सबैभन्दा राम्रो र उत्कृष्ट व्यवस्था प्राप्त गरेका छौँ । व्यवस्था भनेको साधन मात्र हो, साध्य होइन । हामीले प्राप्त गरेको गणतान्त्रिक व्यवस्थालाई सही तरिकाले कार्यान्वयन र प्रयोग गर्न नसक्दा आज हामी नेपालीहरू पछाडि परिरहेका छौँ । देश समृद्ध हुन नसक्नु व्यवस्थाको दोष होइन । व्यवस्था परिवर्तन भई जनताको अवस्थामा परिवर्तन हुन नसक्नु नेतृत्वको कमजोरी हो ।
अहिले व्यवस्थाको विरोध गर्नुको सट्टा व्यवस्था सम्हाल्ने र नेतृत्व गर्ने व्यक्ति र दललाई सच्चाउनको लागि आन्दोलन गर्नुपर्छ । यो व्यवस्था सम्हाल्न नसकेका र पटकपटक असक्षम प्रमाणित भएका व्यक्तिहरूलाई सत्ता सम्हाल्न दिँदा गणतन्त्र नै असफल जस्तो भएको हो । कुनै खराब व्यक्तिले राम्रो व्यवस्था सम्हाल्न नसकेको हो ।
अब हामी कहिँकतै बहकिएर कसैको पछाडि नलागी यही गणतन्त्रलाई नै बलियो बनाउनु पर्छ । जति गणतन्त्रमा हाम्रा हक र अधिकार प्राप्त र सुरक्षित हुन सक्छन् अन्य व्यवस्थामा कदापि हुन सक्दैनन् । यो गणतन्त्रलाई बलियो र जीवन्त बनाउन नेपालका राजनीतिक दलहरू र तिनका नेतृत्वलाई जतिसक्दो छिटो सच्च्याउनु पर्छ ।
लोकतन्त्रलाई हुत्याएर आफू नै अधिकारबाट बन्चित भएर देशको सामाजिक, आर्थिक र राजनीति विकास हुन सक्दैन । अहिलेको गणतन्त्रलाई फालेर राजतन्त्रको बाटो पहिल्याउन खोज्नु भनेको हामीले आफैँ उल्टो बाटोे तय गर्नु हो । अहिले नेपालको गणतन्त्रमा दलतन्त्र, लुटतन्त्र, भिडतन्त्र, गुटतन्त्र, व्यक्तितन्त्र, नातातन्त्र भित्र्याइएको छ ।
गणतन्त्रमा जति पनि विकृति भित्रिएका छन् यी सबैलाई लोकतान्त्रिक प्रक्रियाबाटै नै मिल्काउनु पर्छ । नेपालको गणतन्त्र भित्र भित्र्याइएका विकृतिलाई अन्त्य गर्नुपर्छ । यही गणतन्त्रमै रहेर नेतृत्वलाई सच्याउनको लागि जनताहरूले आन्दोलन गर्नुपर्छ । गणतन्त्रको नाम पारेर जनताको रगत चुसेर भ्रष्टाचारीहरू ढाडिएका छन् ।
यी ढाडिएका भ्रष्टाचारीलाई कानूनको कठघरामा उभ्याउनु पर्छ । लोकतन्त्रको आत्मा भनेको निर्वाचन हो । गलत गर्नेहरूलाई निर्वाचनमा दण्ड दिनुपर्छ । निर्वाचनमा भ्रष्टाचारीहरू उम्मेदवार बन्न आएका छन् भने तिनलाई धुलो चटाएर पठाउनुपर्छ । आँखा चिम्लेर जो कोहीलाई मतदान गर्नु हुँदैन । योग्य उम्मेदवार रोजेर मतदान गर्नुपर्छ ।
नेपालको गणतन्त्रलाई बलियो र देशलाई समृद्ध मुलुक बनाउन सबैभन्दा पहिले त राजनीतिक दलहरू र नेतृत्वमा विचार, आस्था र सिद्धान्त हुनुपर्छ । नेपालका राजनीतिक दलहरूले आफ्नो नामको पछाडि जोसुकै वा जेसुकैलाई जोडे तापनि तिनीहरूमा अहिले वैचारिक स्खलन रहेको देखिन्छ । अहिलेका दलहरू जसरी हुन्छ सत्ता प्राप्तिका लागि निर्वाचन र सत्तामा सिन्डिकेटलाई प्रणाली अपनाएका छन् ।
अब आस्था, सिद्धान्त, विचार नभएका झोले र टीके अनि कम्पनी सरहका आन्तरिक लोकतन्त्रको प्रयोग गर्नै नसक्ने यी तथाकथित् राजनीतिक दलहरूका पसल बन्द गराउनु पर्छ । आम नेपाली युवा जनशक्ति कुनै दलको टीके वा झोले कार्यकर्ता बनेर त्यसैले दिन्छ कि खाउँला भन्दै हिडेर आफ्नो स्वाभिमान गुमाउनु हुँदैन भने आउँदो पुस्ताको सपनालाई मार्नु पनि हुँदैन ।
आज नेपालका मूलधार भनिएका राजनीतिक दलभित्रको गुटबन्दी, चाकरी, चाप्लुसी र नातावादले गणतन्त्र नै अप्ठेरोमा परेको छ । केही दलभित्र पसेका नयाँ पुस्ताहरू पनि दलभित्र रूपान्तरण र पुस्तान्तरणका मुद्दा उठाउलान् । यिनीहरू मरिचसरी खुम्चिएर चाउरिएका र निस्सासिएका जस्ता देखिन्छन् । अझै पनि पुराना दलभित्र नयाँ पुस्ताले विद्रोह गरी पुरानो नेतृत्वलाई नसच्याउने हो भने दलहरू सकिन्छन् ।
आजका राजनीतिक दलहरूमा नयाँ पुस्ताको औकात र हैसियत पनि देखेर यी पनि असक्षम रहेछन् भनी राजावादीहरू जाग्न खोजेका देखिन्छन् । आज नेपालका दलहरूमा आन्तरिक लोकतन्त्र र विचार पनि नहुनाले गणतन्त्र अप्ठेरोमा परेको हो । गणतन्त्रलाई बलियो र मजबुत बनाउन नेपालमा रहेका पुराना र नयाँ दलहरू लोकतान्त्रिक परिपाटीमा हिँड्नु पर्छ ।
देशमा मनपरि गरेर, गफ चुटेर र एकअर्कोलाई तथानाम गाली गरेर, जनतालाई केवल आश्वासनका पोकामात्र बाँडेर गणतन्त्र बलियो र जीवन्त हुन सक्दैन । राजनीतिक नेतृत्वले जनताका पीरमर्का र वेदनालाई बुझ्नुपर्छ र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ अनिमात्र गणतन्त्र बलियो हुन्छ र यसका विरुद्धमा कोही उठ्न सक्दैनन् । (भर्जिनिया, अमेरिका)