arrow

नेपालमा बसेर के गर्नु ?

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८० भदौ १० आइतबार
article-rajendra-panthi-79.jpg

विश्वको मानचित्रमा हेर्दा नेपाल दक्षिण एसियामा रहेको सानो र सुन्दर देशको रुपमा देखिन्छ । यो देश विश्वका दुई सर्वशक्तिमान चीन र भारतको बीचमा रहेको छ । यो सगरमाथा र बुद्धको देश हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले के नेपाल सानो छ ? भन्ने आफ्नो निबन्धमा नेपाल आकारमा सानो भए पनि धेरै कुरामा विशाल छ भनेका थिए । तर ती विशालताका मापनका एकाइहरू आज आएर क्रमशः साँघुरिदै र खुम्चिँदै गएका छन् । 

आजको नेपाल क्षेत्रफलमा देवकोटाको युगभन्दा खासै फरक नभएता पनि विशालतामा भने उनले भनेजस्तो सानो तर स्वर्ग छ । अन्त्य छ तर आँखा छ, खुट्टा छ तर आफैँ विश्व छ; दूर छ तर दूरताको दिव्य जादू छ भन्ने कुरा कमजोर र साँघुरिँदै गएका देखिन्छन् । 

कुनै व्यक्तिको भावना र कल्पनाले मात्र देश स्वर्ग बन्न सक्दोरहेनछ । देश स्वर्ग बन्नका लागि योजना, सपना, समानता, मानवता, स्वतन्त्रता, खुशी, सौन्दर्य, राष्ट्रियता, समृद्धि, उत्पादन, रोजगार, भौतिक पूर्वाधार आदिले सम्पन्न हुनुपर्छ । 

कुनै देशका चिनारी भनेका सीमा र क्षेत्रफल मात्र हुन सक्दैनन् । देश भनेको त जनसंख्या, प्रकृति, समाज, पहिचान, परम्परा, अस्तित्व, आफ्नोपन, संस्कार, संस्कृति, भाषा, धर्म, पहिरन आदि धेरै कुराहरू रहेका हुन्छन् । यी सबै कुराको समष्टि नै देश हो । 

नेपाल भनेको केबल एक लाख ४७ हजार १८१ वर्ग किलोमिटरको भूमि मात्र होइन । अहिलेको युवा जनशक्ति नेपालमा किन बस्ने भनेर विदेशिदै गर्दा नेपाल भित्रको नेपाल भन्दा नेपाल बाहिरको नेपाल ज्यादा विस्तार, व्यापक र विशाल हुँदै गएको देखिन्छ । नेपाल स्वर्ग छ भनिएको छ तर यही स्वर्गलाई छोडेर आज नेपालीहरू दिनको करिब तीन हजारका दरले विदेशीएका छन्।वास्तवमा नेपाल भित्रको विशालता घट्दै जानु र नेपाल बाहिरको नेपाल बढ्दै जानु पक्कै पनि राम्रो र शुभ सङ्केत होइन ।

नेपाल सरकारको पछिल्लो आधिकारिक तथ्यांकअनुसार पनि करिब बाईस लाख नेपालीहरू बाहिर छन् । तर अन्य थुप्रै श्रोतका अनुसार नेपालको जनसंख्याको करिब एकतिहाई अर्थात् करिब साठीदेखि सत्तरी लाख नेपालीहरू बाहिर छन् भनिएको छ । 

नेपालीहरू संसारका प्रायः सबै मुलुकमा रोजगार, व्यवसाय, अध्ययन लागि स्थायी र अस्थायी रुपमा बसोबास गरिरहेका छन् । नेपालीहरू विदेशीने क्रम दिनहुँ बढेको बढैछ । आज खासगरी नेपालीहरू भारत, यूएई, मलेसिया, साउदी अरेबिया, कतार, दक्षिण कोरिया, अष्ट्रेलिया, रुस, जापान, फिनल्यान्ड, अमेरिका, क्यानडा, बेलायत आदि देशमा रोजगार तथा अध्ययनको लागि गएका छन् । 

अहिले पछिल्लो चरणमा त स्नातक, स्नातकोत्तर र पीएचडी अध्ययन गर्न भनी बाहिरिने विद्यार्थीको संख्या पनि अत्यधिक बढेको देखिन्छ । विद्यालयको शिक्षा सकेपछि विद्यार्थीहरू एकापसमा बिदाई हुने क्रममासमेत अब त खाडीमा भेटौँला वा तिम्रो जापानको यात्रा सफल रहोस् भनी भन्ने जस्ता शुभकामनाका सन्देशहरू आदानप्रदान गरेको  पाइन्छ । 

वास्तवमा यी शुभकामनाहरू अत्यन्तै मार्मिक र संवेदनशील छन् । विद्यार्थीहरूका यी भावनाहरूले देशको गरिबी र बेरोजगारीको यथार्थ अवस्थालाई उजागर गरेका छन् । यी भावनाहरू बहुदलीय प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भएको नेपाल जस्तो मुलुकको लागि र राज्यसत्ताको लागि पनि चोटिलो व्यङ्ग्य प्रहार पनि हुन् । 

बाह्र कक्षा पढ्दै गरेका ती कलिला विद्यार्थीले अब त खाडीमा भेटौँला भन्ने कुरा सामान्य हाँसिमजाकको कुरा मात्र होइन । विद्यार्थीहरूले हामीलाई राज्यले गुणस्तरीय शिक्षा र रोजगार दिन सक्दैन, त्यसैले हामी विदेशिन बाध्य छौँ भनेका हुन् । 

राज्य शिक्षा र रोजगारप्रति कत्ति पनि उत्तरदायी र जवाफदेही बन्न नसक्दा आज दिनहुँ हजारौं विद्यार्थीहरू बाहिरिन विवश छन् । आज विद्यार्थीहरू देश छोडेर बाहिर पढ्न जाँदा नेपालका कलेजहरू धमाधम बन्द हुने अवस्थामा पुगेको छन् । केही अध्ययनहरूले अहिलेकै रफ्तारमा नेपालीहरू विदेशिने हो भने आगामी बीस पच्चीस वर्षमा नेपालको जनसंख्या नेपालभित्र भन्दा नेपाल बाहिर बढी हुने अनुमान गरेका छन् ।

नेपालका गाउँघरहरू रित्तिदै छन् भने शहरहरू बृद्धाश्रम बन्दैछन् । वन पाखाहरू उजाड देखिन्छन् । डोजरे विकासका कारण बाढीपहिरोले वनपाखाहरू रित्तिएका छन् । गाउँका जग्गाजमीनहरू प्रायः बाँझै छन् । नयाँ उद्योग तथा कलकारखानाहरू खुल्न सकेका छैनन् । पुराना उद्योग पनि धमाधम बन्द हुँदैछन् । नेपाललाई कृषिप्रधान देश भनिन्छ तर अधिकांश कृषि उपज आयातबाट चल्नुपर्छ ।  उत्पादनमा वर्षैपिच्छे ह्रास आएको देखिन्छ । 

नेपालको वैदेशिक व्यापार सधैँ असन्तुलन रहेको छ । अहिले भर्खरै पनि नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा लगभग ९.४८ प्रतिशत र आयातको हिस्सा ९०.५२ प्रतिशत रहेको छ । 

गत आर्थिक वर्ष २०७९–८० मा मात्रै १६ खर्ब ११अर्ब ७३ करोड रुपैयाँको आयात र १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको मात्र निर्यात भएको थियोे । राजनीति र राज्यसत्ता भ्रष्टाचार, अनियमितता, जालझेल, षड्यन्त्रमा मात्र लम्पट भएका कारण देशको समृद्धि र उन्नति हुन सकेको छैन । 

देश अत्यन्तै पछाडि परिरहेको छ । अहिले देवकोटाले भनेका वाग्नर, शेक्सपियर, कालीदास, सान्डोले, हेलेन, केलर, टिसियन, टर्नरहरू नेपालभित्र भेटिन छोडेका छन् । नेपालका भानुभक्त, लेखनाथ, देवकोटा, भूमि, वीपीहरू जापान,जर्मनी र अमेरिकातिर भेटिन्छन् । आज नेपाली कला, साहित्य, भाषा, गीत र संगीत नेपालभन्दा नेपाल बाहिर व्यापक र विशाल हुँदै गएको देखिन्छ । 

नेपाली कला र साहित्यका प्रकाशन, ठूल्ठूला सम्मान, प्रतियोगिता र अन्य कार्यक्रम र गतिविधिहरू नेपालभित्र भन्दा नेपाल बाहिर ज्यादा भइरहेका देखिन्छन् । नेपाल भित्रको कार्यक्रम हुँदा पनि बाहिर गएकोले नेतृत्व गरेको देखिन्छ । आज नेपाल छोडेर नेपालीहरू संसारका हरेक ठाउँमा  बसोबास गर्छन् र तिनीहरूको संख्या बढिरहेको छ भन्ने कुरा देशको लागि पक्कै पनि सकारात्मक पक्ष होइन । 

यद्यपि देश बाहिर रहँदा नेपालीहरूले आ–आफ्नो भाषा, संस्कृति र परम्पराको जगेर्ना र संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका भने छन् । 

युवा जनशक्ति आफ्नो जन्मभूमिलाई छोडेर विदेशिनुको मुख्य कारण भनेकै बेरोजगार हुनु नै हो । विद्यार्थीहरूले विदेशी शिक्षा रोज्नुको कारण भनेको गुणस्तरीयता, समय सापेक्ष शिक्षा र रोजगारीको सहजता नै हो । केही वर्ष पहिले विद्यार्थीहरू छात्रवृत्तिमा पीएचडी गर्न मात्र विदेश जाने रहर र लहर थियो । 

ती विदेशमा पढेर नेपाल फर्कन्थे तर अहिले ती विदेशमा उच्चशिक्षा हासिल गर्न गएका अधिकांश नेपाली विद्यार्थीहरू नेपालमा आफ्नो भविष्य केही छैन भनेर फर्किदैनन् । उनीहरूको स्थायी बसोबास नै विदेशतिरै हुन्छ । उनीहरूले आफ्नो सबै परिवारलाई विदेशतिर तानिरहेका हुन्छन् । 

अहिले यो विस्तारै विद्यालय तहमा पुगेको छ । अहिले दश कक्षा पढ्ने विद्यार्थीहरूले विदेशको सपना बुन्दैछन् भने कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूले नेपालमा बसेर आफ्नो भविष्य उज्ज्वल छैन भन्दै विदेशिएका छन् । विदेश पढ्छन् अनि उतै रोजगार खोज्छन् र उतै पलायन हुन्छन् । 

नेपालको पछिल्लो एक तथ्यांक अनुसार वर्षमा करिब एक लाख बढीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको देखिन्छ । नेपाल राष्ट्र बैंकको एक तथ्यांक अनुसार आर्थिक वर्ष २०७९–८० को ११ महिनामा ७९ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको छ । 

यसरी नेपालको जनशक्ति र रुपैयाँसमेत बाहिरिँदा नेपालको अर्थतन्त्रमा यसले ठूलो नकारात्मक असर पुर्याएको देखिन्छ । उच्चशिक्षाको लागि बाहिर गएका ती विद्यार्थीहरू फर्कने सम्भावना अत्यन्तै न्यून हुन्छ । बरु उनीहरूले त आफ्नो अभिभावकलाई समेत उतै स्थायी बसोबासको लागि कानूनी प्रक्रिया मिलाइरहेका हुन्छन् । यही तरिकाले नै नेपाल बाहिर नेपालीको जनसंख्या तीव्र गतिमा बढ्दा नेपाल बाहिरको नेपाल थप फराकिलो हुँदैछ ।

नेपाली राजनीतिमा भित्रिएको चरम विकृति र विसंगतिका कारण स्वर्गजस्तो नेपाललाई नर्क तुल्य बनाउन खोजेको देखिन्छ । नेपालीहरूको विशाल भावनाको नेपाललाई साघुँरिदै लगेको देखिन्छ । नेपाल सरकारका सम्पूर्ण निकाय, अङ्ग र संयन्त्रहरू अविश्वासिला, काम नलाग्ने र  निष्क्रिय अवस्थामा पुगेका छन् । 

दलका शीर्ष नेताहरुले नै राजनीतिलाई पेशा र व्यवसाय बनाएर देशको सम्पत्ति ब्रह्मलुट गरेका छन् । वर्षौँदेखि नेता र कार्यकर्ताहरूले नेपाली जनतालाई भ्रममा पारेर अनेक किसिमका आश्वासनका पोका बाँडेर सत्तालाई आफ्नो पैत्रिक सम्पत्ति जस्तो बनाई देशलाई खोक्रो बनाउने काम गरे । प्रजातन्त्रको पुनः बहाली भएको चौँतीस वर्ष बितिसक्दा पनि जनताले सामान्य आधारभूत आवश्यकता पनि पाउन नसक्नु भनेको अत्यन्तै दुखलाग्दो अवस्था हो । 

आज देशले आन्तरिक र बाह्य गरी तेईस खर्ब ऋण बोकेको छ । आज प्रत्येक नेपालीको टाउकोमा करिब पचहत्तर हजार रुपैयाँ देशको ऋण रहेको छ । अर्थात् शिशु जन्मनासाथ उनको टाउकोमा ७५ हजार रुपैयाँको ऋण हुन्छ । देशमा नयाँ उत्पादन र रोजगारीका श्रोतहरू केही छैनन् र सम्भावनाका सङ्केतहरू पनि देखिँदैनन् । 

यही कारण नै नेपालीहरू निराश भएर बाँच्नकै लागि विदेशिएका छन् । देशमा थुप्रै पटक व्यवस्था परिवर्तन भए तर जनताको अवस्थामा उल्लेखनीय परिवर्तन हुन सकेन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको उपलब्धि भनेको केबल भ्रष्टाचार, अनियमितता, अपराध, तस्कर, बिचौली र माफियाबाट राज्यसत्ता चलाइनु र देशलाई असफल र अस्तित्वहीन बनाउन अनेक प्रयत्न गरिरहनु नै देखिन्छ ।

आज राजनीति भित्रको विकृति र राज्यसत्ता नै माफियाबाट संचालित भएको हुँदा संघीयता र पहिचानका नाममा नेपाली समाजको सामाजिक संरचनालाई बिथोल्ने काम गरिएको छ । नेपाल भित्रको विशाल नेपाललाई बिथोलिएको छ । भाषा र संस्कृतिप्रति हस्तक्षेप गरिरहेको देखिन्छ । 

कुनैबेला नेपाल जातीय, धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक विविधता र सहिष्णुता भएको देश भनेर चिनिएको थियो । नेपालीहरूमा गहिरो एकता र सद्भाव थियो तर अहिले यस्तो सम्बन्धलाई टुक्र्याउने र भत्काउने प्रयत्न भइरहेको देखिन्छ । यसले गर्दा पनि देशमा अस्थिरता र विदेशिने क्रम बढेको देखिन्छ । यसले विदेशी संस्कृति भित्रिने र नेपालको संस्कृति लोप हुने अवस्थामा आएको हो । 

राज्यले नै नेपालीलाई नेपालमा बस्ने वातावरण सिर्जना नगरेकै कारण बाहिरिने क्रम बढेको देखिन्छ । सर्वसुलभ शिक्षा, रोजगारको ग्यारेन्टी, आधारभूत आवश्यकताको परिपूर्ति, भौतिक पूर्वाधारको विकास गरिदिने हो भने कोही पनि आफ्नो जन्मभूमिलाई छोडी बसाइँसराइ नै गरी विदेश पलायन हुँदैन । आज विदेशिएका र विदेशिन लागेका हरेक नेपाली नागरिकलाई किन देश छोडेको भनेर प्रश्न गर्दाको एउटै उत्तर आउँछ – नेपालमा बसेर के गर्नु ?

यस प्रश्नको उत्तर जतिसक्दो चाँडो  खोज्नुपर्छ । समय धेरै व्यतित भइसक्यो । अब पर्खने बेला नै छैन । अब पनि पर्खन खोज्ने हो भने पछुताउनुको विकल्प केही छैन । नेपालमै बसेर धेरै गर्न सकिन्छ भन्ने वातावरण र विश्वास  सिर्जना गर्नुपर्छ । विदेश भनेको घुम्न जाने हो, स्थायी रुपमै बस्न नै जाने होइन भन्ने भावना जागृत गराउनु पर्छ । 

सपना र जपना हुने हो भने नेपालमै सुन फलाउन सकिन्छ । कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गर्ने, नेपाली युवालाई उत्पादन र रोजगारमा लगाउने अनि शिक्षालाई व्यावहारिक, व्यावसायिक र प्रयोगात्मक बनाएर समयानुकूल परिवर्तन गर्दै जाने, उद्योग, कलकारखानाहरू खोल्ने, भौतिक पूर्वाधारहरू पूरा गर्दै जाने हो भने विदेश पलायन हुने परम्परा रोकिन्छ ।

देश बनाउन राजनीतिक नेतृत्वकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । नीतिको केन्द्र राजनीति भएकोले जबसम्म राजनीति सुध्रिँदैन र एउटा गतिमा आउन सक्दैन तबसम्म अन्य नीतिहरूले काम गर्न सक्दैनन् । नेपालको समृद्धि र विशालताका लागि राजनीतिमा दर्शन, विचार, योजना, कार्यक्रम र नेतृत्वमा निष्ठा, इमान्दारिता, जवाफदेहीता र उत्तरदायित्व बोध हुनैपर्छ । कानूनी राज्यको स्थापना र परिपालना गरिनुपर्छ । भ्रष्टाचार, अनियमितता, ठगी, घुसखोरीलाई अन्त्य गर्नुपर्छ । 

संसारका कतिपय देशले छोटो समयमै कति ठूलो प्रगति गरेका छन् । आज हाम्रा छिमेकी मुलुकहरू भारत र चीन पनि विश्वका शक्तिशाली मुलुकमा गनिएका छन् । भारतले त दक्षिणी ध्रुबबाट चन्द्रयान चन्द्रमामा अवतरण गराएर इतिहास नै रचेको छ । हामी छिमेकीहरुले गरेको प्रगति देखेरै दङ्ग छौँ । हामीले विकासको नाममा भ्रष्टाचार मात्रै गर्यौँ । 

छिमेकी र विश्वका अन्य मुलुकहरूबाट विकासको पाठ सिकेर नेपाललाई एउटा समृद्ध मुलुक बनाउन अब ढिलो गर्नु हुँदैन । देशको मुख्य बाधक बनेका र असक्षम प्रमाणित भएका दलीयसत्ता र राज्यसत्तामा पटकपटक हालीमुहाली  गरिरहेका अहिलेका नेतृत्वहरूलाई सदाको लागि बिदा गर्नुपर्छ र नयाँ नेतृत्वलाई विशाल छातीसहित राजनीतिमा आउन र नेतृत्व गर्न प्रेरित गरी समृद्ध नेपाल बनाई बाहिरिएका नेपालीलाई घर फर्कन आह्वान गरिनुपर्छ । अनिमात्र विशाल नेपाल बन्छ र नेपालमै बसेर जे पनि गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । (भर्जिनिया,अमेरिका)
 



नयाँ