arrow

तीजको महिमा र हटाउनु पर्ने विकृति

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८० भदौ ३१ आइतबार
article-rajendra-panthi-208.jpg

तीज हिन्दू महिलाहरूको एक महान् पर्व हो । यो पर्व सनातन परम्परादेखि चल्दै आएको हो । यो पर्व हिन्दू महिलाहरूले खासगरी नेपाल र भारतमा मनाउँछन् । 

अहिले त यो पर्व हिन्दूहरू बसोबास गर्ने संसारभरि नै मनाइन्छ । यो पर्व हरेक वर्ष भाद्र शुक्लपक्ष तृतीया तिथिमा मनाइन्छ । यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ । खासगरी तृतीया तिथिको नामबाट नै यसलाई तीज भनिएको भन्ने श्रुति परम्परा पनि छ । यसलाई हरितालिका तीज पनि भन्ने गरिन्छ । 

तीजको परम्परा र मान्यताका बारेमा हिन्दूशास्त्र र पुराणहरूमा विभिन्न किसिमका कथा, वर्णन र चर्चा गरिएका छन् । हिन्दूशास्त्रमा बताइए अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भइ उनले महादेव पति पाएको दिनलाई उत्सव मानेर तीज पर्वको शुरूआत भएको भन्ने मुख्य मान्यता रहेको छ । 

यही मिथकलाई आधार र विश्वास गर्दै महिलाहरू साउनको शुरूआतसँगै हरियो रङ्गका चुरा, मेहन्दी र पहिरन लगाउँछन् । हरियो रङ्ग वर्षायामको हरियालीको प्रतीक पनि हो । हरियो रङ्गले उर्वरता, समृद्धि र नयाँ शुरूआतको प्रतिनिधित्व पनि गर्दछ । अहिले यो पर्व पौराणिक मान्यता र परम्परालाई मात्र आधार नमानी नारी शक्ति, समानता र अधिकार अनि प्रकृतिसँग पनि जोडिएको देखिन्छ । 

हिन्दूधर्म परम्परामा तीज एउटा महिलाको विशेष पर्वका रूपमा मानिँदै आएको थियो । समय, काल र युग परिवर्तन हुँदै जाँदा मान्यता, परम्परा, संस्कृति, प्रचलन पनि केही परिवर्तन हुँदै गएका देखिन्छन् । 

तीजको परम्परा र इतिहासलाई केलाउँदा यसका मौलिकतामा पनि परिवर्तन हुँदै गएको देखिन्छ र यसमा केही विकृतिहरू भित्रिएका छन् । तीजको खास मौलिकता भनेको तीजको तीन दिनमा अविवाहित महिलाले राम्रो वा उपयुक्त वर पाउनको लागि भगवानसँग  प्राथना गर्नु, विवाहित महिलाले आफ्नो वर र सन्ततिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नु, भगवानको भजनकीर्तन गर्नु, चोखो र शुद्ध भोजन ग्रहण गर्नु, माइतीघर जानु, मीठो मसिनो खानु, हरिया र राता कपडा लगाउनु, सामर्थ्य अनुसार गरगहनाबाट सिँगारिनु, घरमाइतीका सुखदुःख साटासाट गर्नु, भगवान वा नारी वेदनाका गीत गाई नाचगान गर्नु आदि नै हुन् ।

तीजको परम्परामा द्वितीयाका दिन माइतीघरमा सबै दिदीबहिनीहरू जम्मा भइ दर खान्छन् । यस दिनलाई दरखाने दिन पनि भनिन्छ । नेपाली परम्परा र प्रचलनमा दरमा पनि दूध, चामल र घ्यू मिसाई पकाइएको खीरलाई विशेष महत्त्व दिएको पाइन्छ । दरसँगै तामाको तरकारी, करेला, काँक्रा आदिको अचार खाने गरिन्छ । 

भारतमा मालपुआ, घेवर, खीर, आलु टिक्की खाने प्रचलन रहेको छ । भारतका पनि गुजरात, मध्यप्रदेश, आन्ध्रप्रदेश, छत्तीसगढ, जयपुर, राजस्थान, बृन्दावन, चण्डीगढ, पञ्जाब, महाराष्ट्र आदि ठाउँमा यो पर्व धुमधामसँग मनाइन्छ । तीजको दिन निराहार र निर्जला व्रत बसी विभिन्न मठमन्दिर गइ भगवान शिवको आराधना र पूजा गर्ने प्रचलन रहेको छ । 

तृतीयाका दिन नुहाइधुवाई गरी मन र शरीरलाई शुद्ध र सफा बनाइ भगवान् शिवको पूजाआराधनापछि भगवानका गुणगान गाइएका, आफूले जीवनमा भोगेका वेदना र पीडाका गीतहरू र अन्य सामाजिक विषयवस्तुका गीतहरू गाएर महिलाहरू समूह बनाइ नाचगान गर्ने प्रचलन र परम्परा हो ।

तीजमा गाइने गीत पनि पौराणिक भजनकीर्तन हुँदै लोकगीत परम्पराबाट नै विस्तार हुँदै आएका हुन् । नारीहरू भगवानको उपासना गरी व्रत बस्ने, भगवानका गीतहरू गाउने, भजनकिर्तन गर्ने परम्पराबाट यी तीज गीतहरू विकसित भएका देखिन्छन् ।

तीज गीतमा विस्तारै लोक र समाजका विविध पक्षहरू झल्किन थाल्दछन् । समाजको सामाजिक, आर्थिक, राजनैतिक परिवर्तन हुँदै जाँदा गीतको विषयवस्तुमा पनि परिवर्तन हुँदै गएको छ । 

समयको गतिसँगै  मानवीय सङ्कट र संवेदनाहरू स्वभाविक रूपमा फरकफरक हुँदै गएका छन् । सामाजिक संरचनामा समाजको बनावट, भूगोल, जातजाति, वर्ग, पेशा, लिङ्ग आदिको प्रभाव स्वभाविक रूपमा देखिँदै जान्छन् र यसले व्यक्तिगत र सामाजिक जीवनमा प्रभाव पार्दछ । ती भावनाहरू तीज गीतमा प्रतिबिम्बित हुँदै गएका छन् ।

तीजका चार दिनमध्ये तेस्रो दिन माइतीघर र घर छिमेकमा भेटघाट गर्ने, रमाइलो गर्ने, विभिन्न परिकार बनाउने र खाने गरिन्छ भने चौथो दिन पञ्चमी तिथिका दिन पुराणमा बताइए अनुसार तालतलैया, खोलानदीमा गइ गाईको गोबर, माटो र खरानी लगाएर स्नान गरी ३६५ ओटा दत्तिवनले दाँत माझ्ने, सप्तर्षिको पूजा गर्ने प्रचलन रहेको छ । यस्तो किसिमको गंगास्नान र दत्तिवन प्रयोग गर्नाले  वर्षभरि थाहा नभइ गरिएका पापहरू नष्ट हुने विश्वास रहेको छ । 

ऋषि भनेका मानव पुर्खा हुन् । ऋषि पञ्चमीमा सात ऋषिको पूजा गरिन्छ । विष्णु पुराणमा बताइए अनुसार वशिष्ठ, कस्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र, भारद्वाज सप्तऋषि हुन् र ऋषि पञ्चमीको दिन यी सात ऋषिसहित देवी अरून्धतीको पनि विधान अनुसार पूजा गरिन्छ । 

ऋषिपञ्चमी व्रत भनेको महिलाहरू रजस्वला हुँदा कहिँ कतै नबारिएको रहेछ भने त्यसको प्रायश्चित्तका लागि गरिने व्रत हो पनि भनिन्छ । पञ्चमीको दिन सप्तऋषिको पूजा गरिसकेपछि पृथ्वीमा नरोपी उम्रिएको अन्न, फलफूल, कन्दमूल, सामा, कागुनो खानुपर्छ भन्ने प्रचलन रहेको छ । 

यसरी भाद्र शुक्ल तृतीयादेखि पञ्चमीसम्म विभिन्न कार्यहरू गरी मनोरञ्जनका साथ तीज पर्व मनाइन्छ । तीजको पौराणिक वा सामाजिक मान्यता वा परम्पराहरूलाई अहिलेको आधुनिक आँखाले हेर्दा केही कुराहरू अपत्यारिला र विरोधाभासयुक्त पनि छन् । 

समयको माग र गतिसँगै कतिपय संस्कार र मान्यताहरू छोडिँदै गएका छन् भने कतिपय नयाँ मान्यताहरू स्थापित भएका पनि छन् । अहिलेको तीज पर्वमा पनि परम्परागत भन्दा केही नयाँ मान्यताहरू थपिएका छन् भने केही विकृतिहरू भित्रिएका छन् । 

पहिलेको चार दिनको महिलाको तीज अहिले चार महिना लामो बनेको छ । असार लाग्दा नलाग्दै तीज गीत भनिएका गीतहरू सामाजिक संजाल र मिडियामा बज्न थाल्छन् । 

चार महिनाको लामो तीजले गर्दा खर्च असाध्यै बढेको छ । नेपाली लोक र मौलिक परम्पराका गीतहरू भन्दा छाडा, दोहोरी र झ्याउरे गीतहरू गाइएका छन् । तीज गीत भनिएका गीतमा विषयवस्तु, शब्द चयन, भाका, स्वर, प्रस्तुति, सङ्गीत र सन्देश नै तीजगीतसँग मिल्दैनन् । 

तीज गीतको मौलिकता र विशेषता नै हराउँदै गएको देखिन्छ । तीज गीतमा पुरूषका गीतहरू हाबी हुँदै गएका छन् । तीज नारी वा महिलाको पर्व हुनेमा अहिले त तीज गीत भनिएका गीतहरू पुरूषका धेरै छन् र ती पनि दोहोरी छन् । 

तीजका मौलिक गीतहरू लोप भएका छन् । जस्तोसुकै भाका र विषयका दोहोरी गीतलाई तीज गीत भनिएको छ । तीज गीतमा त महिलाका सुख दुःखका कथा बेथा, वेदना, पीडा, आक्रोश, माग हुनुपर्छ । पुरूषले व्यावसायिक गीत गाइदिएर मौलिक र वास्तविक तीजगीतको संरक्षण हुनै सक्दैन ।

कतिपय ठाउँमा नारीका गीत र नाचहरू पनि मौलिकताभन्दा अश्लील, भद्दा र छाडा देखिन्छन् । यिनलाई सुधार्नु पर्छ । हिजो पुराणमा जे लेखिएका थिए तिनलाई हुबहु मान्नुपर्छ भन्न खोजेको चाहिँ होइन । समयसापेक्ष परिवर्तन गरिनुपर्छ नकि जबर्जस्त होइन । 

कतिपय संस्कार र संस्कृति स्वभाविक आफैँ परिवर्तन हुँदै पनि जान्छन् । अहिलेको आधुनिक नारीवादी आँखाले हेर्दा पनि तीजमा नारीको गीत गाउने अधिकारलाई पनि बन्चित गरिएको देखिन्छ । तीज पर्वलाई नारीहरूले संघर्ष गरी सफलता प्राप्त गरेको विशेष दिनको रूपमा र अधिकार प्राप्तिको लागि विचार, वेदना र विद्रोहका स्वरहरू अभिव्यक्त गर्ने पर्वकै रूपमा पनि स्थापित गरी मौलिकताको समेत  संरक्षण हुने गरी मनाउन सकिन्छ ।

अहिलेको दर खाने परम्परा र पहिरनमा पनि अत्यन्तै विकृति भित्रिएको छ । तीज आयो भनेपछि महिनौँ पहिलेदेखि नै पार्टी प्यालेस र होटेलमा महिलाहरूको विभिन्न समूहको नाममा जम्मा भइ अत्यधिक खर्च गर्ने प्रचलन बढेको छ । 

महिलाको पहिरनमा पनि अङ्ग प्रदर्शन गरिएको देखिन्छ । शरीरका अङ्गहरू पहिरनले छोप्ने भन्दा देखाउने धेरै हुन्छन् । आज हामी धार्मिक र सांस्कृतिक अतिक्रमणको प्रभावमा परिरहेका छौँ । 

हाम्रो जस्तो गरिब मुलुकमा पश्चिमी सभ्यताको अन्धानुकरण गरी देखावटी र भड्किलो खर्च गर्दा समाज उन्नतितिर होइन, अवनतितिर जान्छ र हाम्रा पहिचान र मान्यताहरू समाप्त हुन्छन् । 

एकदिनको दर खाने प्रचलन आज महिनौँभरि भएको छ । यसले व्यक्तिको अनाहकमा खर्च बढ्छ भने समय बर्बाद गरेको हुन्छ । कुनै पनि समाज वा राष्ट्रका लागि धर्म, पर्व, संस्कृति, परम्परा, पहिरन, भाषा भनेका मौलिक सम्पत्ति र पहिचान हुन् । 

तिनलाई बिगार्न र भत्काउन खोजियो भने सामाजिक अराजकता निम्तिन्छ र सिङ्गो देशको अस्मिता, पहिचान र अस्तित्व नै समाप्त हुनसक्छ । कुनै पर्व वा संस्कारका राम्रा पक्षलाई ग्रहण गरी नराम्रा पक्षलाई त्याग्नुपर्छ र आफ्नो मौलिकतालाई संरक्षण गर्नुपर्छ । 

अहिले चलिआएको यही तीजको विकृतिलाई नै तीज भनेर मान्दै जाने हो भने भोलि हाम्रो तीज पर्व नै बाँच्न सक्दैन । सामाजिक संस्कृति, विश्वास, आस्था र मूल्यमान्यता भनेका समाजलाई बाँध्ने वा अनुशासनमा राख्ने कुराहरू पनि हुन् । 

जब मूल्यमान्यता र आस्थामा विचलन आउँदछ अनि समाज अराजकतातिर जान सक्छ । चाडपर्व भनेका सामाजिक एकता, सद्भाव र अनुशासनका प्रतीक हुन् । 

धार्मिक, सांस्कृतिक, सामाजिक अनुशासन नमान्दा वा कसैको प्रभावमा पर्दा राष्ट्रमाथि नै विभिन्न किसिमका हस्तक्षेप र आक्रमण हुन सक्छन् । यसले सामाजिक र सांस्कृतिक विचलन हुँदै अराजकता निम्त्याउँछ अनि हाम्रो अस्थित्व नै समाप्त पार्न सक्छ । 

यसैले हामी कुनै पर्व मान्ने नाममा परम्पराभन्दा भिन्न नयाँ पर्व मान्नु हुँदैन । यसले हाम्रा पर्व लोप हुन सक्छन् । तीजको पर्वमा देखिएको विकृतिका बारेमा आलोचना र खण्डन गर्दा कतिपयले पितृसत्तावादी सोचबाट प्रभावित भएको भनेर आरोप लाग्न पनि सक्छ तर त्यो होइन । 

म यसलाई सामाजिक, धार्मिक र सांस्कृतिक आँखाले हेरेको छु । सामाजिक विकृति पुरूषले निम्त्याउँछन् भने पनि त्यो पनि गलतै हो र सक्दो खण्डन र विरोध गर्नैपर्छ । 

सामाजिक मर्यादा विपरीत गरिएका हरेक क्रियाकलापको आलोचना, खण्डन र विरोध गर्नुपर्छ । यसैले हाम्रो धर्म र संस्कार अनुसार चलिआएका हरेक पर्वलाई त्यही पर्वका रूपमा मान्नुपर्छ । 

अबदेखि तीजलाई तीजकै रूपमा संरक्षण गरी मानौँ । अन्त्यमा सम्पूर्ण हिन्दू नारीहरूमा हरितालिका तीजको शुभकामना । (भर्जिनिया, अमेरिका)
 



लोकप्रिय समाचार
नयाँ