arrow

शिक्षक आन्दोलनले उब्जाएको सवाल

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८० असोज १३ शनिबार
rajendra-panthi-208.jpg

गत असोज ३ गते आठौँ संविधान दिवस मनाइरहँदा नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरू आफ्ना १८ बुँदे मागसहित काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका थिए । काठमाडौँमा तीन दिनको आन्दोलन पश्चात् नेपाल सरकारसँग ६ बुँदे सहमतिपछि आन्दोलन फिर्ता भएर केही शिक्षकहरू आफ्नो कार्यक्षेत्रमा फर्केका छन् । केही राहत शिक्षकहरू आफ्ना माग सम्बोधन नभएको भन्दै थप आन्दोलन गरेर शुक्रबार सहमति गरी फर्कने तयारीमा छन् । 

यसरी देशभरका सम्पूर्ण शिक्षकहरू विद्यालय नै बन्द गरी आन्दोलनमा उत्रिँदा यसले सामाजिक वा सार्वजनिक रुपमा नेपालको शैक्षिक अवस्था, शिक्षाक्षेत्र र शिक्षण पेशाका सवालमा चासो, चिन्ता, चिन्तन, छलफल, आलोचना, जिज्ञासा, टिप्पणी र बहसहरू भएका देखिन्छन् ।

गत भदौ २७ गते सरकारले प्रतिनिधि सभामा शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० दर्ता गरेपछि यस विधेयकमा रहेका कतिपय दफा र उपदफामा चित्त नबुझेपछि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिए । शिक्षकहरूका अधिकांश मागहरू जायज रहे तापनि कतिपय मागहरू नेपालको संविधानसँग बाझिने किसिमका छन् । नेपालको संविधानले स्थानीय तहलाई सबल, सक्षम, स्वायत्त, अधिकार सम्पन्न बनाउने भनेको छ । 

तर शिक्षकहरूका केही मागमा यससँग बाझिने कुराहरू देखिन्छन् । नेपालको शिक्षा प्रणाली र शैक्षिक अवस्थालाई गुणात्मक र परिमाणात्मक बनाउन व्यवस्थापिका संसदले यस विधेयकमा रहेका कमीकमजोरीलाई सच्याइ शिक्षा क्षेत्र र शिक्षकहरूको सेवा सुविधाका सम्बन्धमा गहन छलफल गरी तुरुन्त कानून बनाउनु पर्दछ । नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको आठ वर्ष र बहुदलीय प्रजातन्त्र पुनः प्राप्ति भएको चौतीस वर्ष बित्दा पनि पञ्चायतकालीन शिक्षा ऐन, २०२८ नै लागू गरिरहनु उपयुक्त होइन ।

शिक्षा ऐन, २०२८ पछिल्लो पटक २०७२ मा नवौँ पटक संशोधन गरी कार्यान्वयनमा आइरहेको छ । यति धेरै वर्षसम्म पनि यति महत्त्वपूर्ण विधेयकहरू निर्माण हुन नसक्दा नेपालको व्यवस्थापिका संसद नेपाली जनताप्रति कति जवाफदेही र उत्तरदायी रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । नेपालको संसदले यस्ता धेरै महत्त्वपूर्ण र अत्यावश्यक कानूनहरू निर्माण गर्न नसक्दा नेपालको संविधानसमेत पूर्ण रुपले कार्यान्वयन हुन सकेको छैन ।

नेपालको काठमाडौँमा यति धेरै संख्यामा शिक्षकहरूको आन्दोलन चलिरहँदा सामाजिक संजाल र मिडियाहरूमा प्रसारित समाचार र दृश्यहरूले मानिसहरूको ध्यान खिचिरहेको पनि देखिन्थ्यो । देशभरिका सामुदायिक विद्यालयहरू बन्द हुनाले विद्यार्थी, अभिभावक र सर्वसाधारणको ध्यान शिक्षकहरूको आन्दोलन कता जाँदैछ होला भन्ने कुरामा केन्द्रित नै थियो ।

आन्दोलनमा शिक्षकहरूले गरेका केही अस्वभाविक क्रियाकलाप र केही  घटनाहरू विभिन्न सञ्चार माध्यममा भाइरल हुँदै गएका पनि थिए । शिक्षक जस्तो समाजको जिम्मेवार र मर्यादित व्यक्तिलाई जो कोहीले गहिरोसँग हेरिनु र अवलोकन गरिनु, आलोचना वा विश्लेषण गरिनु पक्कै पनि अन्यथा मान्न सकिँदैन । केही शिक्षकहरू आन्दोलनकै क्रममा युट्युब, फेसबुक, टिकटक आदिमा भाइरल बनाइएका र बनेका थिए । 

यस आन्दोलनमा सामाजिक संजालमा अत्यधिक भाइरल शिक्षकले नेपाल सरकारका मन्त्रीहरूप्रति चोर औँला ठड्याउँदै काव्यात्मक र लयात्मक तरिकाले अभिव्यक्त गरिएका नाराहरूले आम सर्वसाधारणलाई विभिन्न तरिकाले आकर्षित गरेका छन् । ती नाराहरू यतिबेला टिकटकमा भाइरल बनेका छन् । ती नाराहरू निकै गम्भीर, विचारणीय, सोचनीय नै हुन् । जस्तो – तिमीलाई कसले पढायो ? हामी जस्ता गुरुले । मन्त्री कसले बनायो ? हामी जस्ता गुरुले । मन्त्री कसले फुस्काउँछ ? हामी जस्ता गुरुले ।

ती नाराहरूमा नेपालका मन्त्रीहरूप्रति आक्षेपका भावहरू अभिव्यक्त भएको पाइन्थ्यो– हामीमा तिमीहरूलाई पढाउने, बनाउने र फुस्काउने तागत छ । तिमीहरूले शिक्षकको आन्दोलन बारेमा के सोचिरहेका छौ ? उक्त अभिव्यक्तिमा मन्त्रीहरू भन्दा हामी धेरै माथि छौँ र हामी माथिका नै हौँ भन्ने भाव पाइन्थ्यो । 

हुनत लोकतन्त्रमा मन्त्री बनाउने र फुस्काउने सम्पूर्ण हात जनताकै हुन्छ । लोकतन्त्रमा जनता सर्वशक्तिमान हुन् भन्ने आशय ती अभिव्यक्तिमा थियोे । आफूहरू शिक्षक हुन पाएकोमा गौरवान्वित भएको महसुस गरिएको देखिन्थ्यो । विश्वमा शिक्षकको पेशालाई जति सम्मानित भनिए पनि नेपालको सन्दर्भमा राज्य, समाज, राजनीतिक दल र स्वयं शिक्षकहरूकै कारणले शिक्षण पेशा जति सम्मानित हुनुपर्ने हो त्यति हुन सकेको भने देखिँदैन । 

राज्यले नै नेपालका निजामती सेवामा रहेका कर्मचारी सरह शिक्षकलाई समान  व्यवहार गर्न सकेको छैन र उसले विभेद गरिरहेको छ । शिक्षकहरू पनि कतिपय सवालमा आफ्नो पेशाप्रति जवाफदेही र इमानदार बन्न सकेका पनि छैनन् । शिक्षकहरूले पनि हामी समाजमा सबैभन्दा जिम्मेवार र आदर्श पात्र हौँ भन्ने भावना जागृत गराउन नसक्नाले वा आफ्नो बौद्धिकताको प्रयोग र प्रस्तुति गर्न नसक्दा पनि शिक्षकको महत्ता कमजोर हुँदै गएको देखिन्छ ।

शिक्षकहरूको आन्दोलनमा शिक्षकहरूले राज्यलाई वा मन्त्रीहरूलाई केही प्रश्नहरू गर्दा आफूतिर पनि झन् ठूला–ठूला  प्रतिप्रश्न तेर्सिएका पनि देखिन्थे र यी प्रश्नहरूको उत्तर शिक्षकहरूले नै खोज्नुपर्ने देखिन्छ । पहिलो त शिक्षकले मन्त्रीलाई पढाउने, मन्त्री बनाउने र मन्त्री पद फुस्काउने कुरा गरिरहँदा यस्ता नालायक मन्त्री बनाउने कस्ता शिक्षक रहेछन् भन्ने टड्कारो प्रश्न उठ्छ । 

गुरुहरू नै राजनीतिक पार्टीका झोले बनेर नै यस्तै मन्त्री बनाएका त होइनन् ? आज गुरुहरूले आफ्नो कर्तव्यबाट टाढा भइ आँखा चिम्लेर यस्तैलाई बारम्बार मन्त्री बनाउँदा कतै गुरुहरूको अपमान र नेपालको शिक्षा क्षेत्र र देशको समृद्धिमा अवरोध आएको त होइन ? 

किन गुरुहरूले पढाएका र बनाएका यस्ता मन्त्रीले देशको बारेमा कहिल्यै चिन्ता र चिन्तन गर्न सक्दैनन् अनि आफ्नै गुरुको मान र सम्मान गरेका हुँदैनन् ? गुरुहरू नै विद्यार्थीहरूलाई पढाउने सवालमा कतै आफ्नो कर्तव्यबाट चुकेका त छैनन् ? 

कतै गलत शिक्षा दिएर अनुत्तरदायी विद्यार्थी त उत्पादन त भएनन् ? कतै गुरुले नै ती मन्त्रीलाई अनुशासन र कर्तव्यका पाठ पढाउन त बिर्सेका त होइनन् वा मन्त्रीहरूले नै अनुशासन उल्लंघन गरिरहेका त छैनन् ? भन्ने जस्ता थुप्रै प्रश्न गुरुहरूप्रति आशंकित हुँदै तेर्सिएका छन् ।

शिक्षकहरूले आन्दोलनका क्रममा आफूहरूलाई हामीहरू गुरुहरू हौँ, राज्यले हामीहरूलाई के सोचिरहेको छ ? भन्दै गरेका नाराहरू सामाजिक संजालमा भाइरल छन् । 

गुरु भनेको अत्यन्तै आदर र सम्मानित शब्द हो । तर नेपालका शिक्षकहरूले आफ्नो पेशामा रहँदा को कतिले साँच्चिकै गुरुहरूको भूमिका निभाएका छन् ? यो आजको अत्यन्तै महत्वपूर्ण विश्लेषणीय विषय हो भन्ने देखिन्छ । कतै गुरुहरू आफ्नो गुरुत्वको महत्त्वलाई बिर्सेर कुनै राजनीतिक पार्टीको झोले कार्यकर्ता त बनिरहेका छैनन् ? 

शिक्षकहरूले हामीहरू कत्तिको गुरु बन्न सकेका छौँ भन्ने कुरालाई अत्यन्तै गम्भीर भएर सोच्नुपर्छ जस्तो लाग्छ । यस शब्दलाई हामी आफैँ गुरुहरूले कत्तिको महत्व दिएका छौँ भन्ने कुरा विचार गर्नुपर्ने देखिन्छ । 

आफू गुरु बन्नै नसक्ने अनि अरुले गुरु भन्दियोस् भनेर सम्मानित हुन खोज्ने तरिकाले गुरुको महत्व हुन सक्दैन । गुरुका मापनका एकाइहरू थुप्रै छन् । गुरुहरू आफ्नो पेशा, आचरण, नैतिकता, अनुशासन र कर्तव्यमा सदा समर्पित र अडिग हुनुपर्छ । 

गुरु जस्तो व्यक्ति कुनै एउटा राजनीतिक दलको झोले कार्यकर्ता बनेर हिँड्ने अनि सबैले सम्मान गर्नुपर्छ भनेर ऊ सम्मानित कदापि हुन सक्दैन । जो कोहीले पनि आफ्नो पद, पेशा र प्रतिष्ठालाई जोगाउनै पर्छ । अहिलेको नेपालको विकृत राजनीतिमा राजनीतिक दलका झोले कार्यकर्ता बनेर शिक्षकहरू हिँड्ने हुनाले आन्दोलनकारी शिक्षकहरूको अभिव्यक्तिमा दलीय गन्ध स्पष्टै पाइन्थ्यो । त्यो आन्दोलनलाई बाहिर–बाहिर जति रङ्गरोगन गरे पनि नेपाल शिक्षक महासंघको नेतृत्व वा आयोजनामा भएको भनिए पनि त्यहाँ कांग्रेस, एमाले र माओवादी आदि राजनीतिक दलहरू निकट भ्रातृ संगठनहरूको उपस्थिति भएकै थियो । 

ती आन्दोलनकर्मी शिक्षकहरू नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन आदिका नामधारी विभिन्न राजनीतिक दलहरूका भ्रातृ संगठन हुन् भन्ने कुरा घाम जस्तै छर्लङ्ग नै छ । 

नेपालका अधिकांश शिक्षकहरू कुनै न कुनै राजनीतिक पार्टीका झोले कार्यकर्ता बन्न पुगेका छन् र उनैद्वारा परिचालित हुन पुगेका छन् भन्ने कुरा आम जनमानसका अगाडि छोपिन सक्दैन ।

लेखमा नेपाल शिक्षक महासंघद्वारा गरिएको भनिएको आन्दोलनले उठाएका मागहरूप्रति विरोध गर्न खोजिएको होइन । आज शिक्षक र प्राध्यापक जस्तो गरिमामय पदमा बसेका वा पुगेका व्यक्तिहरू किन दलको झोले कार्यकर्ता भन्दा पनि अझै तल्लो स्तरमा पुगिरहेका छन् भन्ने प्रश्न उठाउन खोजिएको हो । 

साथै नेपालका शिक्षक, शिक्षण पेशाको महत्त्व, नेपालको शिक्षा क्षेत्रको अवस्था र गुणात्मक शिक्षाका बारेमा केही प्रश्नहरू उठान गर्न खोजिएको हो । वास्तवमा राज्यले शिक्षक र प्राध्यापकहरूलाई सबैभन्दा राम्रो सुविधा दिनुपर्छ भन्नेमा कसैको दुईमत छैन जस्तो लाग्छ । 

राज्यले सबैभन्दा राम्रो सुविधा शिक्षकहरूलाई दिनुपर्छ भनिरहँदा शिक्षकहरूले पनि सबैभन्दा राम्रो सेवा दिन चुक्नु हुँदैन र कुनै दलको झोले कार्यकर्ता बन्नु हुँदैन । शिक्षक भनेका विश्वको कुनै पनि देशमा, ठाउँमा र समाजमा कुनै खास समाजले मानोस् वा नमानोस् सबैभन्दा सम्मानित पद हो । शिक्षक भनेपछि उसको अगाडि जो कोही झुक्दछ र उसलाई जो कोहीले निकै आदर र श्रद्धा गर्दछ । 

कुनै समाज वा देशलाई कुन गतिमा कसरी कता लैजाने हो भन्ने कुरा शिक्षकमा भर पर्दछ । देशलाई बनाउने वा बिगार्ने भन्ने कुरा शिक्षकको हातमा पनि हुन्छ । तर आज नेपालको यो हविगत अवस्था हुँदा नेपालका शिक्षकहरूले केही सोचिरहेका छन् ? विश्वविद्यालयहरूले राज्यलाई केही सल्लाह सुझाव दिए ?

के शिक्षकहरूले विश्वका विभिन्न मुलुकहरूको उन्नति कसरी भइरहेको छ भनेर अध्ययन गरेका छैनन् र ? के विश्वविद्यालयका प्राध्यापकहरूले आफ्नो पेशाको धर्म निभाएका छन् ? के राज्यलाई मात्र दोष दिएर उम्किन मिल्छ ? यस्ता थुप्रै प्रश्नहरू पनि उठाउनु पर्ने पनि देखिन्छ ।

विकसित देशहरूको शैक्षिक अवस्था र शिक्षा प्रणालीलाई कस्तो बनाउने भन्ने कुरा शिक्षक र प्राध्यापकको हातमा नै भएको देखिन्छ । विकसित देशहरूले देशको शिक्षा नीति कस्तो बनाउने, कस्ता कस्ता योजना ल्याउने भन्ने कुरा विद्यालयदेखि  विश्वविद्यालयका शिक्षक र प्राध्यापकहरूको सल्लाह अनुसार निर्धारण गर्दछन् । 

हाम्रो देशमा त स्कुल नदेखेको प्रधानमन्त्री, साक्षरसमेत नभएको मन्त्री अनि तिनीहरूकै झोले बनी काम गरेको दलको कार्यकर्ता नै विश्वविद्यालयको उपकुलपति र योजना आयोगको अध्यक्ष बनेका हुन्छन् र बनाइन्छन् । अनि देशको समृद्धि कसरी होस् ?

अब देशको समृद्धिको लागि अरुलाई मात्र दोष नदिई शिक्षक र प्राध्यापकहरूले आफ्ना कमीकमजोरीलाई सुधार्नै पर्छ । शिक्षकहरूले समाजलाई सही गोरेटोमा लैजान नेतृत्व गर्नैपर्छ । शिक्षकहरू राज्य नै असफल र असक्षम छ भन्दै धमिलो पानीमा माछा मार्ने प्रयत्न गरी क्षणिक व्यक्तिगत स्वार्थमा लाग्नु हुँदैन । 

एउटा शिक्षकले आफ्नो धर्म निर्वाह गर्न नसक्दा हजारौँ विद्यार्थीहरूको भविष्य अन्धकारमा पुग्छ । आजको वर्तमान परिवेशमा देशमा सुशासन र समृद्धि ल्याउनका लागि राज्य र राज्यका संयन्त्रहरूलाई सही गतिमा हिँडाउन शिक्षकहरूले अत्यन्तै गम्भीर भएर महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ ।

शिक्षक भनेका समाजका सम्मानित, आदर्शवान र मार्गदर्शक हुन् । तर शिक्षकले आफूले प्राप्त गरेको सामाजिक मर्यादाको बोझलाई कत्तिको ग्रहण गर्न सकेको छ र उसले आत्मसात् गरेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण पक्ष हो । शिक्षक नै सामाजिक मर्यादा विपरीत हिँडेको छ भने उसले सम्मान पाउन सक्दैन र आफ्नो पद र पेशाको गरिमा आफैँ गिराउँछ । 

कुनै व्यक्तिमा कुनै विचारप्रति आस्था हुनसक्छ । शिक्षकले पनि कुनै दल वा विचारमा आस्था राख्नु हुँदैन भन्न खोजेको होइन । नेपालको संविधान अनुसार शिक्षकलाई बोल्ने, लेख्ने, विचार अभिव्यक्त गर्ने र मताधिकार प्रयोग गर्ने अधिकार छ । तर कुनै दलको राजनीतिक कार्यकर्ता बन्ने अधिकार छैन । खासमा आज नेपालका शिक्षकहरू आफ्नो पेशाप्रति इमान्दार नबनी कुनै पार्टीको झोले र टीके कार्यकर्ता बन्दा समाजबाट अपमानित हुनु परेको कुरालाई मनन् गर्नुपर्छ । शिक्षकहरू आफ्नो पेशाका सवालमा राजनीतिक पार्टीको कार्यकर्ता भन्दा धेरै माथि उठ्नुपर्छ ।

राजनीतिमा शिक्षकको आवश्यकता छँदै छैन, राजनीति बुझ्नुहुँदैन वा राजनीतिबाट अलग्गै हुनुपर्छ भन्न खोजेको पनि होइन । नेपालको राजनीतिक र शैक्षिक आन्दोलनमा शिक्षकको भूमिका केही पनि थिएन भन्न खोजेको पनि होइन । नेपालमा राजनीतिक परिवर्तनको लागि शिक्षकहरूको ठूलो योगदान रहेको थियो । हिजो गाउँगाउँमा जनतालाई राजनीतिक जागरण र जनतामा चेतना जागृत गराउन शिक्षकहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

वास्तवमा शिक्षकहरूको पनि सक्रिय सहभागीता र आन्दोलनबाट आज नेपालमा संघीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था आएको हो । नेपालको इतिहासमा बेलाबेलामा राजनीतिक परिवर्तनका लागि शिक्षकको महत्त्वपूर्ण भूमिका रहे जस्तै अब देशमा आर्थिक, सामाजिक, शैक्षिक परिवर्तन र राजनीतिक स्थायित्वका लागि पनि शिक्षकहरू गुरुको महत्तालाई आत्मसात् गरी दलीय राजनीतिको पछाडि नलागी स्वतन्त्र तरिकाले देश बनाउन लाग्नुपर्छ । 

अब शिक्षकहरू दलका पछाडि लागेर झोले वा टीके कार्यकर्ता बन्ने होइन । शिक्षकहरू राजनीतिक दलहरूका अगाडि लागेर  दलहरूलाई पछाडि लगाउनु पर्छ । शिक्षकहरूले नै राजनीतिक नेतृत्वलाई  इमानदारी र अनुशासनको पाठ सिकाई देशलाई समृद्धि र समुन्नत बनाउन लगाउनु पर्छ ।

अबका दिनमा देशका सम्पूर्ण शिक्षकहरूले अत्यन्तै गम्भीर भएर सोची वर्षौँदेखि देशभित्र रहेको अन्याय, अत्याचार, कुशासन र चरम राजनीतिक विकृतिलाई अन्त्य गर्नुपर्छ । नेपालका विद्यालयहरूका पाठ्यक्रममा नैतिकता, अनुशासन र कर्तव्यका पाठहरू पढाउनुपर्छ । शिक्षकहरूले राज्यलाई धक्धकाएर कक्षा कोठाकोठाबाट अबको राज्य संचालन र नेतृत्व गर्न सक्ने असल, इमान्दार, अनुशासित, कर्तव्यनिष्ठ, उत्तरदायी र योग्य विद्यार्थीहरू उत्पादन गरिनुपर्छ । 

विद्यालयबाट नै देशमा देखिएको बेथिति र कुरीति विरुद्धमा जागरण ल्याउनु पर्छ । सम्पूर्ण शिक्षकहरू एक भई  शैक्षिक संस्था लगायत राज्यका सम्पूर्ण संयन्त्रभित्र घुसेको र घुसाइएको विकृत राजनीतिलाई मिल्काउनुपर्छ । शैक्षिक संस्थाहरूमा देशको समसामयिक अवस्था, शैक्षणिक क्रियाकलाप, बौद्धिक बहस र ज्ञानविज्ञानका कुराहरू हुनुपर्छ । 

आज नेपालका अधिकांश शिक्षकहरू यो पार्टी र त्यो पार्टीका बनेका छन् र बनाइएका छन् । शिक्षकहरूले स्वयं यो दलीय ट्यागलाई जतिसक्दो छिटो हटाउनु पर्छ । नेपालका राजनीतिक दलहरूले बाहिर बोल्दा शिक्षकहरूले राजनीति गर्नु हुँदैन भनेर जेसुकै भने तापनि भित्री रुपमा आफ्नो भ्रातृ संगठन अझै बलियो बनाई राजनीति गर्न खोज्छन् । तिनीहरूबाट शिक्षकहरू जोगिनुपर्छ । शिक्षकहरूले कुनै दल, समूह र नेतृत्वसँग दलीय सम्बन्ध नराखी आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न सक्ने हो भने गुरुको महिमा र महत्त्व धेरै झल्किन्छ र गुरुहरू सम्मानित भएर बाँच्न सकिन्छ ।

अहिले देश आर्थिक, सामाजिक, राजनीति, शैक्षिक आदि विभिन्न दृष्टिकोणले अत्यन्तै संकट अवस्थामा पुगेको देखिन्छ । विकृत राजनीतिले देशलाई थला पारेको छ । असक्षम र असफल प्रमाणित भएका नेतृत्वले बारम्बार राज्य संचालन गर्दा देशले राजनीतिक स्थिरता र समृद्धि पाउन सकेको छैन । 

बहुदलीय प्रजातन्त्र प्राप्ति भएको तीन दशक बितिसक्दा पनि नेपाली जनताको अवस्थामा उल्लेखनीय परिवर्तन हुन सकेको छैन । आज देशको करिब एक तिहाई जनसंख्या रोजगारीको लागि बाहिरिएको छ । राज्य संचालकहरू रेमिट्यान्सबाट मुलुक धान्न पाएकोमा मख्ख देखिन्छन् । 

देशमा भ्रष्टाचार, अनियमितता, घुसखोरी, तस्करले सीमा नाघेको छ । राज्यका कुनै पनि संयन्त्रहरू स्वतन्त्र तरिकाले काम गर्न सकेका छैनन् । जहाँतहीँ राजनीतिक हस्तक्षेप रहेको छ।रोजगारका अवसर नहुँदा दिनहुँ तीनहजार देशको दक्ष युवाशक्ति बाहिरिएको छ।विद्यार्थी नहुँदा कलेजहरू बन्द हुँदैछन् । चालु आर्थिक वर्षको साउन महिनामै विद्यार्थीहरू अध्ययन गर्न बाहिरिँदा पौने ११ अर्ब रुपैयाँ पनि बाहिरिएको छ । गत आर्थिक वर्षमा नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । 

यसरी विद्यार्थी र रुपैयाँ बाहिरिँदा नेपालको शिक्षा क्षेत्र र अर्थतन्त्रमा ठूलो प्रभाव पार्दछ । राजनीतिक नेतृत्व सधैँ सत्ताको दौडधुपमा मात्र लागेको देखिन्छ । देशमा यस्ता तमाम विकृतिहरू रहेको अवस्थामा शिक्षकहरू जस्तो जिम्मेवार, प्राज्ञिक र बौद्धिक वर्ग चुप लागेर बस्ने अवस्था छैन । कतै यिनै गुरुहरूका कारण विद्यार्थीहरु विदेश गएका त हैनन् ? कतै विद्यालय म्यानपावर उत्पादन गर्ने संस्था त बनिरहेको छैन ? 

अब नेपालको संविधानमा लेखिएका कुराहरूलाई कार्यान्वयन र प्राप्तिको लागि शिक्षकहरू आफ्नो पेशामार्फत नै कटिबद्ध हुनुपर्ने देखिन्छ । संविधानमा समाजवाद उन्मुख समाज निर्माण गर्ने भन्ने लेखिएको छ । समाजवाद उन्मुख समाजको लागि विद्यालयको पाठ्यक्रमदेखि विश्वविद्यालयको पाठ्यक्रमसम्म समयानुकूल परिवर्तन गरी कार्यान्वयनमा जानुपर्छ । यसका लागि शिक्षकहरूले राज्यलाई समय समयमा सल्लाह र सुझाव दिनुपर्छ । 

अहिलेको शिक्षा प्रणालीमा सैद्धान्तिक ज्ञानलाई ज्यादा महत्व दिएको देखिन्छ । अब जतिसक्दो छिटो वैज्ञानिक, प्राविधिक, व्यावहारिक, व्यावसायिक, सीपमूलक र रोजगारमूलक शिक्षालाई जोड दिनुपर्छ । शिक्षकहरू आफ्नो विषयमा सधैँ अपडेट हुनुपर्छ । अब परम्परित विषय र शैक्षणिक क्रियाकलापले विद्यार्थीहरूले २१ औँ शताब्दी अनूकुलको शिक्षा प्राप्त गर्न सक्दैनन् ।

आज संसार एउटा डिभाइस भित्र अटेको छ । जीवन, जगत, ज्ञान, विज्ञान, पठनपाठन, अध्ययन र अध्यापनसँगका धेरै सामग्रीहरू मोबाइल र कम्प्युटरमा भेटिन्छन् । कुनै दूरदराजमा पुस्तक पाइएन भनेर पढाई नै रोक्नु पर्ने अवस्था छैन ।  अब शिक्षकहरू आधुनिक प्रविधिसित जोडिनु पर्छ र विद्यार्थीहरूलाई अहिलेका समय सान्दर्भिक विषयहरू पढाउनु पर्छ । पढ्न लगाउनु पर्छ । 

विद्यार्थीलाई सदा परीक्षाको हाउगुजी देखाउनु हुँदैन । उनीहरूलाई जहिले पनि गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ । शिक्षकहरूले अहिलेका राज्य संचालकहरूलाई  यी र यस्ता कुराहरूमा अत्यन्तै गम्भीर भएर सोच्न बाध्य बनाउनु पर्छ । शिक्षक र प्राध्यापकहरूले आफ्नो पदको महिमालाई आत्मसात् गर्दै कर्तव्यको पूर्ण पालना गरी राज्यलाई नै सही बाटोमा ल्याएर नेपालको सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक अवस्थालाई सुधार्न अब अबेर गर्नु हुँदैन । (स्तम्भकार पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)
 



नयाँ