- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अहिले नेपाली डायस्पोराको आकार द्रूत गतिमा व्यापक र विस्तार हुँदै गएको छ । नेपाल बाहिर नेपालीहरू संख्या ६० देखि ८० लाखको संख्यामा रहेका छन् भनिन्छ । अहिले नेपाल देशभित्र नेपालीको संख्या घट्ने र देश बाहिर नेपालीको संख्या बढ्ने क्रम निरन्तर चलिरहेको छ ।
विभिन्न ठाउँमा प्रकाशित तथ्यांक अनुसार नेपालको जनसंख्याको करिब एकतिहाई नेपाली नेपाल बाहिर छन् । दिनहुँ करिब दुई हजारदेखि तीन हजार नेपालीहरू रोजगार र अध्ययनका लागि बाहिरिएका छन् । अहिले भर्खरै नै बाहिरिएको युवा जनशक्ति फर्कने पक्षमा छैन ।
नेपाल मान्छे निर्यात गर्ने मुलुक भनेर चिनिन पुगेको देखिन्छ । मान्छेहरू बाहिरिँदै जाँदा गाउँ रित्तिदै गएका छन् भने शहर ज्येष्ठ नागरिक मात्र बस्ने आश्रम जस्ता भएका छन् । विद्यार्थी अभावका कारण शैक्षिक संस्था र कलेजहरू बन्द हुँदै गएका छन् ।
केही विश्लेषकहरू त यही तरिकाले नेपालीहरू बाहिरिने हो भने अबको २०–२५ वर्षमा नेपाल खाली नै हुन्छ भनेर अनुमान गरेका छन् । नेपालका राजनीतिक दलहरू र सरकारले यसको बारेमा केही पनि सोचेकोसमेत देखिँदैन । सरकार चलाउने नेतृत्वहरू जहिले पनि कुर्सी जोगाउने खेलमा मात्रै लागिरहेका देखिन्छन् ।
उनीहरूलाई नेपाल र नेपाली जनताको बारेमा कुनै चासो, चिन्ता र चिन्तन नै छैन । देश बल्लतल्ल रेमिट्यान्सबाट चलेको देखिन्छ । त्यही रेमिट्यान्समा लुछाचुँडी गरिरहेका हुन्छन् । आर्थिक वर्ष २०७९–८० मा रेमिट्यान्स १२ खर्ब रुपैयाँ रहेको थियो । नेपालको २०८०–८१ को बजेट नै १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । जसमा करिब १२–१३ खर्ब रुपैयाँ त रेमिट्यान्सबाट आउँदो रहेछ ।
यसरी देश चलाउने मुख्य श्रोत नै रेमिट्यान्स रहेको देखिन्छ । विदेश गएका युवाले रेमिट्यान्स पठाउन बन्द गर्ने हो भने देश नै नचल्ने अवस्थामा देखिन्छ । यस्तो अवस्थामा नेपाली युवा जनशक्तिलाई अब नेपालमै रोक्न र विदेशीएका नेपालीलाई नेपाल फर्काउन विश्वभर फैलिएको नेपालीहरूको छाता संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को महत्त्वपूर्ण भूमिका र योगदान हुनपर्ने देखिन्छ ।
नेपालीका लागि नेपाली भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित एनआरएनए प्रवासी नेपालीहरूको साझा र छाता संस्था हो । अहिले यो संस्थामा पछिल्लो प्राप्त तथ्यांक अनुसार स्थापनाको दुई दशक बित्दा विश्वका ८७ मुलुकमा राष्ट्रिय समन्वय परिषद् गठन गरी एक लाख छ हजार ९ सय १२ पञ्जिकृत सदस्य रहेका छन् । विश्वभर फैलिएको यस्तो ठूलो विशाल संस्थामा अहिलेको सदस्य संख्या भने अत्यन्तै न्यून देखिन्छ ।
यो संख्या हेर्दा सबै प्रवासी नेपालीहरूलाई यो संस्थाले अझै संगठित गर्न नसकेको देखिन्छ । यति विशाल आकार ग्रहण गरेको संस्थामा बिसौँ लाख सदस्य हुनुपर्ने हो । संस्थाको विकास हुँदै जाँदा पछिल्लो चरणमा यो संस्थामा केही गुट र उपगुटमा विभाजित भएर संस्था नै विभाजित पनि भएको छ ।
केही समूहले यसैको नाममा अर्को समानान्तर संस्था पनि चलाएको देखिन्छ । यो संस्थाको ११ औँ महाधिवेशन यही असोज ३० देखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुन गइरहेको छ । अबको महाधिवेशनबाट आउने नेतृत्वले नेपालको समृद्धिको लागि महत्त्वपूर्ण एजेन्डासहित प्रस्तुत हुनुपर्ने देखिन्छ ।
आज देश सामाजिक, राजनीतिक, धार्मिक, साँस्कृतिक र आर्थिक दृष्टिकोणले अत्यन्तै सङ्कट र अराजकतातिर जान थालेको देखिन्छ । अहिलेको राजनीतिक नेतृत्वले यो अराजकतालाई रोक्न र आर्थिक पक्षलाई सकारात्मक गतिमा लैजान कुनै सम्भावना नै देखिँदैन ।
प्रजातन्त्र प्राप्ति भएको तीन दशक बित्दा पनि उल्लेखनीय उपलब्धि हुन सकेको छैन । नेपालमा व्यवस्था परिवर्तन भयो तर नेपाली जनताको अवस्था परिवर्तन हुन सकेन । संविधानमै समाजवाद उन्मुख समाज निर्माण गर्ने भनेर लेखिए पनि संविधानकै कार्यान्वयन हुन सकेको छैन ।
राजनीतिक अस्थिरताकै कारण केही शक्तिले व्यवस्थामाथि नै प्रश्न उठाउन थालेका छन् । नेपाली जनतामा चरम निराशा देखिन्छ । केही व्यक्ति वा समूह लोकप्रियताका नाममा सामाजिक अराजकता निम्त्याउन खोज्दैछन् । नेपाली समाज यस्तो बेलामा भीडको पछाडि नलागेर लोकतन्त्र बचाउन र देशको अस्तित्व जोगाउन निकै संयमित हुनुपर्ने देखिन्छ । देश बनाउन चाहिने अधिकांश ऊर्जावान र दक्ष युवाशक्ति बाहिर नै रहेकाले यसलाई फर्काउन एनआरएनएले पहल गर्नुपर्ने देखिन्छ ।
विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध र एउटै छातामुनि ल्याउन, उनीहरूको हकहितको संरक्षण र सम्बर्द्धन गर्न र उनीहरूको सम्भाव्यता र श्रोतलाई नेपालको हितमा लगाउन यो संस्थाको स्थापना भएको देखिन्छ ।
यो संस्थाको विकास र विस्तारसँगै यसमा नेपालको विकृत राजनीतिक गन्ध भित्रिएर संस्था कमजोर हुँदै गएको पनि देखिन्छ । यो संस्थाभित्र नेपालको विकृत राजनीति घुस्नाले गत १० औँ महाधिवेशनमा व्यक्तिका आधारमा पद सिर्जना गरी तीन वटा अध्यक्ष बनाइ विश्व रेकर्ड नै राखियो ।
नितान्त सामाजिक संस्था हुँदाहुँदै पनि कुनै व्यक्ति वा केही समूहको स्वार्थका कारण संस्थालाई गुट र उपगुट बनाइएको देखिन्छ । एउटा सामाजिक संस्था विस्तार हुँदै जाँदा त्यसमा स्वच्छ रुपमा मतविमत देखिनु स्वभाविकै भए पनि सामाजिक संस्थामा राजनीतिक दलको हस्तक्षेप हुनु सकारात्मक पक्ष होइन ।
यस्तो पवित्र सोचका साथ स्थापना भएको संस्थालाई अब कत्ति पनि ढिलो नगरी नेपालको विकास र समृद्धिमा अग्रसर हुनुपर्छ । नेपाली राजनीतिमा भित्रिएको विकृति, अराजकता र भ्रष्टाचारले आज देश संकट अवस्थामा पुगेको छ । अझै त्यही विकृति यस्तो संस्थामा भित्रियो भने संस्था नै रहन सक्दैन । त्यसैले यस्तो सामाजिक संस्थालाई नेपाली विकृत राजनीतिबाट टाढै राख्नुपर्छ ।
अहिले विश्वभर छरिएर रहेका करिब असी लाख प्रवासी नेपालीको आस्था र भरोसाको केन्द्र बन्नुपर्ने एनआरएनए निश्चित व्यक्ति र निश्चित समूहलाई मात्र बोकेर हिँडेको र सांगठानिक रुपमा कमजोर र खुम्चिँदै गएको भन्ने आरोप लागेको छ । यो संस्थाभित्र यो व्यक्ति त्यो पार्टीको र ऊ व्यक्ति यो पार्टीको भनेर टीका लगाइ पदको भागबण्डा गरिएको पनि देखिन्छ ।
एनआरएनए विदेशमा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने नेपाल सरकारको प्रतिनिधिमूलक आधिकारिक संस्था हो । यो संस्थालाई सन् २०१३ मा नेपाल सरकारले एउटा कानून नै बनाइ गैर आवासीय नेपाली सम्बन्धी ऐन–२०६४ जारी गरी औपचारिक रुपमा सामाजिक संस्था भनी मान्यता पनि दिएको छ । त्यसैले पनि यो संस्थाले सरकारको एउटा हिस्सेदार अङ्ग बनी नेपाललाई बलियो र समृद्ध बनाउन विभिन्न भूमिका निर्वाह गर्नुपर्छ ।
स्थापनाको शुरुआती चरणमा यो संस्थाले राम्रो काम गर्दै आइरहेको थियोे । तर अहिले आउँदा यसले सामाजिक, आर्थिक र सांगठनिक काममा त्यति सक्रिय भएको र संस्थालाई मजबुत बनाउन लागेको पनि देखिँदैन । विदेशमा रहेका नेपालीका के कस्ता समस्या छन् तिनलाई के कसरी समाधान गर्न सकिन्छ भनेर नेपाल सरकार र सम्बन्धित सरकारलाई समय समयमा घच्घचाउनु पर्नेमा यो संस्था आफैँ थला परेजस्तो पनि देखिन्छ ।
यो संस्थाले नेपालमा पूँजी निर्माण गर्न प्रवासी नेपालीको ज्ञान, सीप र आम्दानीलाई नेपाल भित्र्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । नेपालीलाई नेपालमा नै रोक्ने उपायहरूका बारेमा सरकारसँग छ्लफल गर्नुपर्छ । यो संस्थाले हरेक प्रवासी नेपालीलाई अप्ठ्यारो पर्दा मेरो संस्था छ है भन्ने अनुभूति र भरोसा दिनुपर्छ ।
यो संस्था नेपालका राजनीतिक दलहरूको भ्रातृसंस्था बन्नु हुँदैन । कुनै पनि देशमा नेपालीलाई गाह्रो र साँघुरो पर्दा वा सुख दुःखमा यो संस्थाले साथ दिनुपर्छ । संस्थाको नेतृत्व सम्हाल्ने पदाधिकारीहरू राजनीतिक दलका नेता जस्तो बन्ने होइन । प्रवासी नेपालीहरूको अभिभावक बन्नुपर्छ ।
अबको नेतृत्वले घरदेश वा परदेश नेपालीहरू पदका लागि मरिहत्ते गर्छन् भन्ने कुरालाई चिर्नुपर्छ र संस्थाको उद्देश्य अनुरुप प्रवासीका माझ भिज्न सक्नुपर्छ र काम गरेर देखाउनुपर्छ । पदका लागि पद होइन कामका लागि पद हुनुपर्छ । अबको नेतृत्वले यस संस्थालाई थप विस्तार गरेर बलियो बनाइ नेपाली विकृत राजनीतिबाट मुक्त भइ प्रवासी नेपालीहरूको हकहित र नेपालको उन्नति र प्रगतिको लागि कटिबद्ध हुनुपर्छ ।
नेपाल सरकारकै प्रतिनिधित्व गर्ने संसारभरि फैलिएको यस्तो विशाल संस्था पवित्र र पारदर्शी हुनुपर्छ । नेपाल जस्तो विकासोन्मुख देशको लागि यस संस्थाले जनशक्ति र आर्थिक श्रोत जुटाउन ठूलो भूमिका निर्वाह गर्नसक्छ । यो संस्थाले काम नै गर्न नसकेको भन्ने होइन । नेतृत्व ज्यादा पदमुखी र राजनीतिक प्रभावमा परेको देखिन्छ ।
यस संस्थामार्फत नेपालका विभिन्न ठाउँमा सामाजिक, आर्थिक, शैक्षिक, पर्यटकीय क्षेत्रमा विकास र परोपकारका काम पनि हुँदै आएका छन् । यसद्वारा २०७२ को भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकमा ५७३ वटा घरहरू निर्माण गरिएका थिए ।
कोभिडको बेलामा विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई राहत प्रदान गरिएको थियोे । राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेकोमा सहयोग गर्दै आएको देखिन्छ । यस संस्थाले नेपालमा पूर्वाधार, उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको नेपाल डेभलपमेन्ट फन्डको स्थापना गर्ने प्रक्रियामा रहेको देखिन्छ ।
यसै संस्थामार्फत नेपालको संविधान २०७२ को धारा १४ मा व्यवस्था भएअनुसार गैर आवासीय नेपालीलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न पनि पहल गरिरहेकै देखिन्छ ।
गैर आवासीय नेपाली संघले प्रवासी नेपालीहरू र नेपाल सरकारका बीचमा सेतुको काम गर्नुपर्छ । आज लाखौँ नेपालीहरूले आफ्नो सीप र क्षमता विदेशमा बेचिरहेका छन् । प्रवासी नेपालीहरूको मेहनत र परिश्रमबाट धेरै देशहरू विकसित भएका छन् ।
विश्वका धेरै मुलुक बनाउन नेपालीको रगत र पसिना बगेको देखिन्छ । यी पसिनाहरू आफ्नै माटो र आफ्नै जन्मभूमिमा बगाउने सहजीकरण यो संस्थाले बनाइदिनुपर्छ । देशभित्र उद्योग, कलकारखाना खोल्न र अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा सेवाको आयात र निर्यात गर्न गैर आवासीय नेपाली संघले सबै प्रवासीलाई प्रेरणा र सहयोग गर्नुपर्छ ।
एनआरएनए पनि पैसावाला र पावरवालाको मुठ्ठीमा सीमित भएको छ भन्ने आरोप लागेको छ । यो आरोपलाई चिर्न अबको नेतृत्वले सबै असन्तुष्ट समूहलाई सम्बोधन हुने किसिमको योजना र कार्यक्रम ल्याउनुपर्छ । सबै देशमा रहेका समन्वय परिषद्लाई क्रियाशील बनाइ आवश्यकता अनुसार राज्य र शहरमा समेत संस्थालाई विस्तार गर्नुपर्छ । संस्थाको उद्देश्य अनुसार जीवन्तता दिनुपर्छ । व्यक्तिको इच्छा अनुसार संस्था चलाइनु हुँदैन । आज संस्थाभित्र कुनै खास मुद्दा भन्दा पनि नेतृत्वको अहम्का कारण संस्था कमजोर भएको देखिन्छ ।
यसलाई कमाइ खाने भर्याङ बनाएको आरोप पनि लागेको छ । यसैको नाम बेचेर होटेल, अस्पताल, बैँक र उद्योगधन्दा चलाइएका छन् भनिन्छ । यी सबै किसिमका आरोपलाई जतिसक्यो चिरेर अबको नेतृत्वले पारदर्शी र उद्देश्यमूलक संस्था चलाउनुपर्छ । यो संस्था निष्कलङ्कित, आर्थिक पारदर्शी, पूर्वाग्रहरहित, विधानसम्मत चल्ने, अनुशासित र सबै सदस्यलाई संस्थाप्रति अपनत्व हुने किसिमको हुनुपर्छ ।
देशले विभिन्न किसिमका संकट भोगिरहेको अहिलेको जटिल अवस्थामा एनआरएनएले नेपाल सरकारसँग समन्वय र सहकार्य गरी विश्वभरि छरिएका क्षमतावान प्रवासी नेपालीहरूलाई नेपालको आर्थिक समृद्धिको खाका कोर्न लगाइ विभिन्न योजना र कार्यक्रमहरू संचालन गर्न प्रेरित गर्नुपर्छ ।
विदेशमा रहेका नेपालीहरूको हरेक किसिमको पूँजीलाई नेपालमा भित्र्याउन पहल गर्नुपर्छ । नेपालको राजनीतिक विकृतिलाई मुक्त पार्न र नेपाललाई समृद्ध मुलुक बनाउन सबै प्रवासीहरूले पनि साँच्चै नै गहन तरिकाले सोच्ने बेला आएको छ । अब हरेक किसिमको क्षमतावान जनशक्ति बाहिर बसेर होइन, आफ्नै देशमा फर्केर नेपालको समृद्धिको लागि एक जुट हुनुपर्ने देखिन्छ । (भर्जिनिया,अमेरिका)