arrow

नेपालको (अ)राजनीति र एनसेल प्रकरण 

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८० मंसिर २३ शनिबार
rajendra-panthi-ncell.jpg

नेपालको राजनीति चरम अराजनीतिमा परिणत भएको देखिन्छ । नेपालका राजनीतिक दलहरू, तिनका नेतृत्व, तिनका क्रियाकलाप र कार्यशैलीमा कतै पनि राजनीतिक गन्ध नै छैन । राजनीतिमा त विचार, चिन्तन, देश, राष्ट्र, राष्ट्रियता, संस्कार, संस्कृति, सिद्धान्त, विश्वास, भरोसा, अनुशासन, उत्तरदायित्व, जवाफदेहिता सुशासन आदिलगायत थुप्रै विशेषता हुन्छन् । 

जब यी कुराहरू राजनीतिमा अन्त्य हुन्छन् । अनि देशमा अराजनीति र अराजकताको शुरूआत हुन्छ । राजनीति हरेक नीतिको केन्द्रबिन्दु र मुख्य अङ्ग भएको हुनाले राजनीति नै अराजनीतिमा परिणत भएपछि अन्य कुनैपनि नीतिले काम गर्न सक्दैनन् । अनि समाज र देशको उन्नति हुनै सक्दैन । नेपालको राजनीति अराजनीति हुनुको मुख्य कारण भनेको राजनीतिलाई पेशा र व्यवसाय बनाउनु नै हो । आज नेपालका सबैजसो राजनीतिक दलहरूको मुख्य उद्देश्य भनेको कमाउनेमात्र देखिन्छ । 

देशका बारेमा कसैलाई कुनै चिन्ता र चिन्तन नै छैन । कसैलाई पनि देशका बारेमा चिन्ता र चिन्तन नभएपछि देश कसरी बनोस् ? नेपालका पुराना र  मूलधारका दल भनिनेहरूले विगत ३४ वर्षदेखि राजनीतिलाई केवल सत्तादेखि सत्तासम्म र चुनावदेखि चुनावसम्मका लागिमात्र प्रयोग गरे । ३४ वर्षमा नेता धनी भए भने देश गरिब हुँदै गयो । 

केही मूलधार भनिने दलहरूले राजनीतिमा सिन्डिकेट लगाएर सत्ता कब्जा गर्ने, देशलाई लुट्ने, जनतालाई आश्वासनका पोका र सपनाहरू मात्र बाँड्ने काम भए । प्रजातन्त्र पुनः बहाली भएको तीन दशक बितिसक्दा पनि नेपाली जनताको जीवनस्तर र आर्थिक अवस्थामा तात्विक फरक हुन सकेको छैन । ‘घुमिफिरि रुम्जाटार’ भनेजस्तै सत्तालाई भागबण्डा लगाउने र  बाँडिचुँडी खानेमै नेपालका राजनीतिक दलहरू लागिरहेका छन् । कुनै सिद्धान्त, सपना र भिजन नभएका तथाकथित नेतृत्वको हातमा सत्ता र शक्ति पुग्नाले आज नेपाली जनताको अवस्थामा परिवर्तन हुन सकेको छैन । आज राजनीतिक नेतृत्वले सही तरिकाले  लोकतन्त्रको कार्यान्वयन गर्न नसक्दा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको  लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ । 

राजनीति दलको असक्षमता र सैद्धान्तिक स्खलनले गर्दा केही अवसरवादी र अराजकतावादीहरूले राजधानीकै मुटुमा आई गणतन्त्रको विपक्षमा नाराहरू घन्काइरहेका छन् । यो राजतन्त्रवादीको उठानभन्दा पनि गणतन्त्रमा आफूलाई नायक भन्नेहरूको असफलता र अवसानतिरको बाटो हो । वास्तवमा गणतन्त्रका विपक्षमा देखिएका नारा र जुलुसहरू आजका नेतृत्वका असक्षमताका पराकाष्ठा नै हुन् । 

आज अधिकांश नेपालीहरूमा अहिलेको शासन व्यवस्थाको विरोध भन्दा पनि अहिलेका शासकहरूप्रति असन्तुष्टि र आक्रोश रहेको छ । देशमा राजनीतिक चरम विकृति हुँदासमेत अहिलेको नेतृत्वमा होश खुल्दैन भने गणतन्त्र बाँचिरहला भन्न पनि सकिन्न । आज राज्य असफलताको बाटोतिर लागिरहेको देखिन्छ ।

नेपालको राज्य र राजनीतिक नेतृत्वहरू नै देशलाई अस्थिर बनाउन देशको खास मूल समस्यालाई एकातिर पन्छ्याएर अनेक किसिमका चटकेखेल, नौटंकी, नाटक, काण्ड, बितण्डा र लोकरिझ्याँइमा लागिरहेका हुन्छन् । भ्रष्टाचारमा एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्डको खेल शुरु हुन्छ । सरकारले भ्रष्टाचार आफैँ गर्ने, काण्डका बारेमा बाहिर हल्ला आयो भने छानबिन हुँदैछ भनेर जनता ढाँट्ने खेल रच्ने, सरकारले अब उत्पात काम गर्दैछ भनेर स्टन्टबाजी पनि गर्ने, सामाजिक सञ्जालदेखि मूलधारका मिडियासम्म अनावश्यक बहस चल्ने र  चलाउने, प्रधानमन्त्रीले नै अब सिनेमा देखाउने हो भनेर बकबास कुरा गर्दै हिँड्ने, आयोग र समिति बनाएको नाटक मञ्चन गर्ने अनि अर्को काण्ड शुरु गरेर पुरानो काण्डलाई थामथुम र गुपचुप पार्ने खेलमा सरकारको समय बितिरहेको हुन्छ । 

ससाना बालबच्चाले ‘टालाटुली बटुली कति राम्री पुतली’ भन्ने खेल खेले जस्तै सरकार पनि आफ्नो कुर्सी कसरी जोगाउने, सत्ता कब्जा कसरी गर्ने र ब्रम्हलुट कसरी गर्ने भन्ने दाउमामात्र समय व्यतित गरिरहेको हुन्छ । नेपालमा जुनसुकै दलको सरकार बन्दा पनि नेपाली जनताको चासोभन्दा पनि कुर्सी जोगाउने खेलमा समय खर्चिरहेका हुन्छन् । सरकारले जनचासो र देशको समृद्धिको सवालमा बहस, चिन्तन र चिन्ता नै गर्दैन । 

सरकार जहिले पनि अनावश्यक गफ गर्ने, भाषणमा मात्र ठूल्ठूला आश्वास दिने, प्रधानमन्त्री र मन्त्रीहरू लोकप्रियतामा मात्र रमाउन खोज्ने, यो काम गरेँ र त्यो काम गरेँ भन्दै हुँदै नभएका काममा स्टन्टबाजीमा मात्र रमाइरहेका देखिन्छन् । 

देशको मूल नेतृत्वमा नै देशको लागि कहाँ कसरी विकास र उन्नति गर्न सकिन्छ भन्ने चिन्ता भन्दा पनि कसरी देशबाट अधिकतम  लुट्न सकिन्छ र आगामी चुनावमा जित्न सकिन्छ भन्ने चिन्तामात्र रहेको छ । आज रुकुम र जाजरकोटमा भूकम्प पीडित जनताले घरबास नहुँदा दmुख पाइरहेका छन् । उनीहरूले गाँस, बास र कपासको जोहो गर्न सकेका छैनन् । 

चिसोको कारण दर्जन भन्दा बढीको ज्यान गएको छ । राज्यका उपल्लो तहका व्यक्तिहरू राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू राज्यको ढुकुटीबाट करोडौँ खर्चेर हेलिकप्टरमा पुगी फोटो खिचेर राजधानीमा आई उनीहरूको त्यो विवशता र पीडालाई बिर्सी अनेक काण्डको खेल निम्त्याएर ती जनताहरूको तमासा  हेरिरहेका छन् । नेतृत्वमा नै देशको मूल समस्याका बारेमा चिन्तन छैन, दलहरू एकआपसमा जनताका समस्याका बारेमा छलफल नै हुँदैन अनि देशको समृद्धि कसरी होस् । अनि ती भूकम्प प्रभावित जनताले राहत कसरी पाउन् । 

आज नेपाली (अ) राजनीतिमा भ्रष्टाचारको अर्को नयाँ काण्डले चर्चा पाएको छ । नेपालको एक दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले शेयर स्वामित्व खरिदबिक्रीमा अपारदर्शी गरेको र पूँजीगत लाभकरबाट जोगिन आफूले १ खर्ब ४३ अर्बमा किनेको सम्पत्ति ९६ प्रतिशत कम गराई ६ अर्ब ६५ करोडमा बेचेको भन्ने आरोप लागेको छ । एनसेल नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो । 

सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले सेवा प्रदान गर्दै आएको छ । टेलिकम कम्पनी एनसेलको २० प्रतिशत शेयर नेपालमै दर्ता रहेको कम्पनी सुनिभेरा क्यापिटलको स्वामित्वमा छ भने ८० प्रतिशत हिस्सा सेन्ट किट्समा दर्ता भएको रेनोल्ड होल्डिङ्स कम्पनीको नाममा रहेको छ । यसलाई सन् २०१६ मा मलेसियामा दर्ता भएको आजियाटाले खरिद गरेको थियो । 

अहिले आजियाटाले एनसेलमा रहेको आफ्नो सम्पूर्ण शेयर नेपाली मूलका सिंगापुरका नागरिक सतिशलाल आचार्यको बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट यूके लिमिटेड नामक कम्पनीलाई बेचेको छ । एनसेलको २० प्रतिशत शेयर रहेको सुनिभेरा क्यापिटल कम्पनी पनि सतिशलाल आचार्य र उनकै श्रीमती भावना श्रेष्ठ र तिनीहरूका परिवारकै स्वामित्व रहेको कम्पनी हो भनिन्छ । यसरी एनसेललाई  बेलायत र नेपालमा दर्ता भएका दुई कम्पनीको शेयर भएको कम्पनी भनिए तापनि यसका मुख्य लगानीकर्ताहरू गैर आवासीय नेपालीहरू सतिशलाल र भावना देखिन्छन् । सतिशलालका बारेमा समय समयमा मिडियामा विवादित आरोपहरू आइरहेका हुन्छन् । 

नेपालका मूलधारका दलहरूका शीर्षस्थ नेतृत्वहरूसँग सतिशलालको प्रत्यक्ष सम्बन्ध छ भनिन्छ । यसैले पनि अहिलेको एनसेलको खरिदबिक्रीमा नेपालका नेताहरूको कहीँ न कहीँ संलग्नता रहेको शंका गरिएको छ । प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले त आफूसँग प्रमाण नै रहेको बताएका छन् । सोही कारण उनले सर्वोच्च अदालतमा मुद्दासमेत हालेका छन् । 

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र अर्थ समितिले पनि एनसेलको शेयर खरिद बिक्रीमा अपारदर्शी र भ्रष्टाचार भएको हुन सक्ने शंका व्यक्त गरेकै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी लिन भनी समितिमै बोलाइएको छ । 

नेपालका ठूला वा साना दलका सबैजसो सबै तहका नेताहरूले यसमा ठूलै भ्रष्टाचार भएको आरोप लगाएका छन् । नेपाल सरकारले यसको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । यो समितिलाई ३० दिनको समय दिइएको छ । नेपालमा पुराना भ्रष्टाचारका काण्ड र त्यसपछि बनेका छानबिन समितिले बुझाएका प्रतिवेदन कार्यान्वयन नभएजस्तै यो पनि कार्यान्वयन हुन्छ भन्नेमा विश्वास गर्न सकिन्न ।

नेपालमा एनसेल स्थापना कालदेखि अहिलेसम्म आउँदा विवादरहित हुन सकेको छैन । एनसेल विवादरहित हुन नसक्नु भनेको कर छल्न खोज्नु नै मुख्य आरोप हो । एनसेललाई पटकपटक मुद्दा परेर उसले हारेर सरकारलाई कर तिरेका रेकर्डहरू पनि छन् । तर एनसेलले करको कुनै विषय भयो भने सरकारकाले तोकेको कर तिर्न तयार रहेको भन्दै कुनै पनि घोटाला नभएको दाबी गरेको छ । 

अहिलेको एनसेलको खरिद बिक्री रहस्य वास्तवमा के हो ? त्यसका बारेमा अझै खुलासा हुन बाँकी छ । समितिले बाहिर ल्याउला वा गुपचुप होला त्यसका लागि त पर्खनै पर्छ । तर नेपालमा राजनीतिक, व्यवसायिक आदि विभिन्न प्रकारका   बिचौलीहरूको कनेक्सन शीर्षस्थ नेताहरूको भान्सा र बेडसम्म पुगेको हुन्छ भन्ने कुरा कसैले लुकाएर लुक्न सक्दैन । 

यो एनसेलको काण्डमा पनि बिचौलीको कनेक्सन नेपालका शीर्षस्थ नेतासम्म पुगेको छैन होला भन्न सकिन्न । केही नेताहरुले त शीर्ष नेतृत्वकै कारणले गर्दा यो काण्ड भएको दाबी गर्छन् । अझ नेता र कर्मचारी प्रशासनको माथिको आशीर्वाद बिना यस्ता काम हुनै नसक्ने दाबीसमेत भइरहेका छन् । 

आज बिचौली र दलालको हातमा राज्यका सम्पूर्ण संयन्त्रहरू नियन्त्रित, निर्देशित र परिचालित भएका छन् । यसैले पनि नेपालको राजनीति अराजनीतिमा परिणत भएको छ । राजनीति गर्ने भनिएका दल र नेताहरू बिचौलीको चङ्गुलमा फसेका छन् । बिचौलीले एउटा काण्ड होइन सयौँ काण्ड गराएर देशको खर्बौँ सम्पत्ति लुटेका छन् । सबै दलका प्रायः सबै नेताहरू बिचौलीको कब्जामा छन् । 

नेपाली नेताहरू उनैद्वारा पालिएका छन् । उनैको निमन्त्रणामा विदेश सयर गर्छन्् । उनैको सहयोगमा चुनाव जित्छन् । बिचौलीले मन्त्री बनाउँछन् र बिचौलीले नै प्रधानमन्त्री बनाउँछन् । नेपालको कानून,सत्ता र शक्ति नै बिचौलीको नियन्त्रणमा रहेको देखिन्छ । 

अनि यस्तो अवस्थामा देश कसरी बन्छ ? लोकतन्त्र कसरी बच्छ ? नेपाललाई समृद्ध मुलुक बनाउन र लोकतन्त्र बचाउन अहिलेका असक्षम प्रमाणित भएका  शीर्षस्थ नेतृत्वहरूलाई तुरुन्त बिदा गरी नयाँ पुस्ताले नेतृत्व सम्हाल्नुपर्छ । अझै पनि अहिलेका नयाँ पुस्ताहरू लोकप्रियताको नाममा रमाउनै खोज्ने र पुराना पुस्ताका अगाडि सासै फेर्न डराउने र नेतृत्वमै पुगेर पनि मरिचसरी खुम्चेर बस्ने हो भने भोलि देश असफल भयो भनेर पछुताउनु बाहेक केही हुनेछैन । (भर्जिनिया, अमेरिका)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ