arrow

कांग्रेसलाई धोका दिएर एमालेसँग सहकार्य गर्न माओवादी हिसाब किताबमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १६ शनिबार
prachanda-deuba-oli-2080-02-13.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा सहयात्रा गरिरहेका दलहरुलाई धोका दिने छिद्रहरु खोज्न थालेको छ । नेपाली कांग्रेसले आफूहरुलाई दुःख दिन थालेको भन्दै उनीहरुले धोका दिएर एमालेसँगको सहकार्यलाई अंकगणितमा हिसाब गर्न थालेका छन् । 

माओवादीको उच्च स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही दिनअघि पार्टीको हाइकमाण्ड नेताहरुको गोप्य बैठकमा एमालेसँग नजिक हुने उपाय सहितको अंक गणित प्रस्तुत गरेका हुन् । 

उनले एमालेको ७६ माओवादीको ३२, रास्वपाको २१ र राप्रपाको १४ सिट मिलाएर सरकार बनाउन सकिने तथा यसका लागि एमालेसँगको सहकार्यलाई अघि बढाउन पार्टीभित्रकै नेताहरु खटाउन प्रस्ताव गरेका थिए । 

‘उहाँले एमालेसँग मिलेर सरकार बनाउने अंक गणित प्रस्तुत गर्नुभएको छ’, स्रोतले भन्यो ‘केपी ओलीले मानेको खण्डमा एक वर्ष अझै ओलीसँग मिलेर सरकारमा रहन सक्नेगरी यस्तो अंक गणित ल्याएका हुन् ।’

चीनसँग नजिक रहेका श्रेष्ठले यो विषयलाई प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणसँग पनि जोडेर हेरिएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनअघि बसेको गठबन्धन दलहरुको बैठकमा सरकारको समीक्षा गर्नुपर्ने र मन्त्रीहरु परिवर्तन गर्नुपर्ने भए उनीहरुको कामको आधारमा मूल्यांकन गरेर परिवर्तन गर्ने प्रस्ताव राखेका थिए । 

तर प्रचण्ड र नारायणकाजी श्रेष्ठले प्रचण्डको चीन भ्रमणअघि केही पनि नगरौँ, भ्रमण सकेर आएपछि सरकार र समग्र विषयमा समीक्षा गरौँ भनेर पन्छिएका थिए । 

कांग्रेसले सरकारको समीक्षा गरौँ भन्ने प्रस्ताव राखेको दुई दिनपछि प्रचण्डले त्यसको सार्वजनिक रुपमै प्रतिरक्षा गरेका थिए । 

‘राम्रो काम गरिरहेको छु हेरौँ कसले हटाउँदो रहेछ’, उनले भनेका थिए । समाजवादी मोर्चाको भेलामा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘मलाई अब केही लिनुदिनु छैन । जे छ राष्ट्र, जनता र क्रान्तिको लागि उपलब्धिको रक्षाको लागि बाँकी जीवन सम्पूर्ण रुपमा लगाउन बाहेक सोचेको छैन । यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन । कतिपयले सरकार जोगाउन यसो गर्यो उसो गर्यो भन्छन् वाइयात हो । मैले सरकारको नेतृत्व गर्दा १५ दिन भएपछि ठीकै छ, एक महिनाको भएपनि ठीकै छ । जे गर्छु राम्रो काम गर्छु राम्रो काम गर्दा गर्दै कसले हटाउँदा रहेछन् नेपाली जनताले हेर्छन् । फेरि मलाई सरकार छाड्न गाह्रो मान्ने मान्छे पनि होइन,’ चेतावनीयुक्त भाषामा यस्तो अभिव्यक्ति दिएका थिए । 

साथै उनले पानी पर्न छाडेपछि सडकमा मान्छे उतारेर आन्दोलन गर्ने पनि बताएका थिए । 

शनिबार पार्टीको कार्यक्रममा पनि सोही अभिव्यक्ति दिएर प्रचण्डले कार्यकर्तालाई उराल्ने काम गरेका छन् । जबकि आफैँ सरकारको नेतृत्व गर्ने अनि आफूले नै कार्यकर्ता सडकमा उतारेर कुन पुरुषार्थ प्रचण्डले देखाउन खोजेका हुन् भन्ने प्रश्न पनि उब्जिएको छ । 

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारको समीक्षा गरौँ भन्ने प्रस्ताव गरेका कारण पनि सरकारमा बसेर उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।  

कांग्रेस सांसद डा. सुनील शर्मा पक्राउ परेदेखिनै देउवाले गृहमन्त्रीको कामकारबाहीबारे समीक्षा गर्ने प्रस्ताव गरेका थिए ।

तर प्रधानमन्त्रीले सबै विषयहरु गठबन्धनभित्र छलफल गरेर मात्रै टुंग्याउने आश्वासन दिएका थिए । ‘त्यसो होइन राम्रो काम जति माओवादीको भागमा नराम्रो गरेको जति कांग्रेसको भागमा राखेर दुष्प्रचार गर्ने तपाईहरुको यो चरम स्वार्थ देखियो’, देउवाले गठबन्धनको बैठकमा राखेको धारणा उद्यृत गर्दै एक नेताले भने । त्यसपछि प्रचण्डले चीन भ्रमणबाट आएपछि समीक्षा गरौँ भनेर पन्छिएका थिए । 

उता प्रचण्ड चीन भ्रमणमा जानुअघि एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा २२ सदस्यीय टोली चीन गएको छ । 

त्यसअघि माओवादीका नेताहरु पनि चीन भ्रमणबाट नेपाल आइसकेका छन् । माओवादीभित्र वर्षमान पुन लगायतका नेताहरु अहिले पनि एमालेसँग सहकार्य गरेर जानुपर्ने पक्षमा रहेका छन् । 

श्रेष्ठ पनि एमालेप्रति नरमनीति राख्ने नेतामा पर्छन् । उनलाई राष्ट्रिय सभाको सांसद पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकै जोडबलमा बनाइएको थियो ।

गृहमन्त्री हुँदा पनि कतिपय सूचनाहरु ओलीलाई दिने गरेको र ओलीसँग निरन्तर संवादमा रहने गरेको स्रोतको दाबी छ ।

‘मैले एकाध पटक ओलीजीसँग एमाले र माओवादी मिलेर सरकार बनाम भनिसकँे ओली त्यति सकारात्मक बनेको देखिँदैन, अन्य साना दलहरुसँग मोर्चा गर्नुभन्दा एमालेसँग गर्नु नै दीर्घकालीन फाइदा हुन्छ, ’ श्रेष्ठले माओवादीको उच्च नेताहरु सम्मिलित बैठकमा भनेका थिए । 

सो बैठक एक साताअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्रोतले दाबी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ