arrow

थरिथरिको राष्ट्रवाद

चिनियाँ नक्साबारे कम्युनिष्ट पार्टीहरु मौन, एमालेकै महासचिवको भ्रमणमा छैन एजेन्डा

नेपालको भूभागलाई चीनले नचिन्ने अवस्था आए पनि नेपालका कम्युनिष्ट पार्टीहरुले विज्ञप्ति निकालेर के भएको भन्ने जानकारीसमेत लिन चाहिरहेका छैनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
nepal-map-limpiyadhura-lipu.gif
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल यतिबेला चीनको सद्भावना भ्रमणमा छ । 

नेकपा विभाजन र कोभिड संक्रमणपछि एमालेको उच्चस्तरीय टोली पहिलोपटक चीन पुगेको हो । यसअघि माओवादीका नेता अग्निप्रसाद सापकोटाको नेतृत्वमा एउटा टोली चीन पुगेर नेपाल आएको थियो । 

तर महासचिव पोखरेल नेतृत्वको टोली चीन पुग्नुअघि नेपालको राष्ट्रियतासँग दीर्घकालीन महत्व राख्ने र स्वयं नेकपा एमालेको पनि चासो र महत्वको विषय रहेको नेपालको चुच्चे नक्सालाई बेवास्ता गरेर चीनले आफ्नो राजनीतिक र भौगोलिक नक्सा जारी गरेको छ । 

चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको बुच्चे नक्सा नराखेर जारी गरेको छ । नेपालको नयाँ नक्सालाई भारतले स्वीकार नगरिरहँदा चीनले पनि नेपालको पुरानै नक्सालाई स्थान दिएर आफ्नो नयाँ नक्सा सार्वजनिक गर्यो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७७ साल जेठ ७ मा नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभागलाई समेटेर नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो । 

नेपालको नयाँ नक्सालाई हालसम्म भारतले स्वीकार गरेको छैन । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले उक्त नक्सा सन् २०२३ को संस्करण भन्दै उल्लेख गर्नुका साथै चीनको प्राकृतिक स्रोत मन्त्रालयले जारी गरेको बताएको छ । 

चीनले आफ्नो नयाँ नक्सा जारी नेपालको नक्सालाई समेटे पनि नेपालको नयाँ चुच्चे नक्सालाई स्थान दिइएको देखिँदैन । 

चीनले निकालेको नयाँ नक्सामा नेपालको बुच्चे नक्सा राख्दासमेत वर्तमान गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड मौन बसेका छन् । 

प्रचण्ड मौन बस्दा नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले भने त्यसबारे कुटनीतिक नोट पठाउने बताइरहेका छन् । 

यस्तो बेलामा नेकपा एमालेका महासचिव पोखरेल पार्टीको तर्फबाट कुनै पनि प्रतिक्रिया नदिई चिनियाँहरुको निम्ता मान्न चीन पुगेका हुन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति चीन गएको हो । 

भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् ।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ । भेटमा नेपाल र चीनको द्धिपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने बताइएको छ । 

यसको अर्थ के हो भने चीनले जारी गरेको नक्साबारे जिज्ञासासमेत राख्ने कार्यक्रम छैन । ‘उहाँहरुले यस्तो विषयमा कुराकानी गर्नुहुन्न, विशुद्ध भ्रमण मात्रै हो’, एमाले स्रोतले भन्यो । 

यो विषयमा एमालेको आधिकारिक धारणा पनि सार्वजनिक भएको छैन । यसअघि यस्तै प्रकृतिको नक्सा भारतले जारी गर्दा एमाले लगायतका नेपालका कम्युनिष्ट घटकहरुले विरोध गरेका थिए । 

‘चीनको नयाँ नक्साबारे एमाले मात्र होइन नेपालका कम्युनिष्ट पार्टी नै मौन देखिएका छन्’, एक राजनीतिक विश्लेषको दाबी छ । 

यसअघि भारतले जम्मू, कश्मीर र लद्दाखलाई विभाजित भएको देखाउन जारी गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई औपचारिक रूपमा आफ्नो भूमिका रुपमा समावेश गरेको थियो । 

जबकि त्यतिबेला नेपालले नयाँ नक्सा जारी गर्ने तयारी गरेको बेला भारतको नयाँ नक्सा आएको थियो । 

२०७६ को कार्तिक १६ गते मा जारी गरिएको नक्सामा उसले सेना राख्दै आएको नेपाली भूमिलाई औपचारिक रूपमा आफ्नो नक्सामा राखेको हो । 

भारतको उक्त कदमको नेपालमा व्यापक विरोध भयो । सडकदेखि सदनसम्म विरोध भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएर सीमानाका बारेमा छलफल गरेका थिए । 

संसदमा यस विषयमा व्यापक चर्चा भयो । अझै हुने भएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका राज्यव्यवस्था तथा सुशासन समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समिति तथा दुवै सदनका सांसद सदस्य रहेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा पनि नेपाली भूमि भारतले आफ्नो नक्सामा राखेको विषयमा छलफल भएको थियो । 

संसदीय समितिहरूले मन्त्रीहरू, सरकारी अधिकारी तथा सीमाविद्हरूलाई बोलाएर उक्त भूमि फिर्ताको पहल गर्न र तत्काल कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

तर चीनले भारतको अरुणाचल प्रदेशलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ । चीनको प्राकृतिक संसाधन मन्त्रालयले गत सोमबार अरुणाचल र अक्साई चीनलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि  भारतमा व्यापक विरोधसमेत भएको छ । चाइना डेलीका अनुसार उक्त नक्सालाई ’२०२३ को चीनको स्टान्डर्ड नक्सा’ भनिएको छ । 

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर भनेर चिनिने) मा लेखेको छ, ‘चीनको २०२३ को स्टान्डर्ड नक्सा सोमबार सार्वजनिक भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ड्रइङ विधिको आधारमा बनाइएको हो ।’ 

चीनले बेला–बेलामा अरुणाचल प्रदेशका विभिन्न ठाउँलाई चिनियाँ नाम दिँदै पनि आएको छ । यही अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानाको नाम परिवर्तन गरेको थियो । 

चीनले अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमीन आफ्नो भएको दाबी गर्दै आएको छ । भारतले भने चीनले पश्चिमी क्षेत्रमा करिब ३८ हजार वर्गकिलोमिटर क्षेत्रमा अवैधानिक रूपमा कब्जा जमाएको आरोप लगाउँदै आएको छ । 

यो विषय भारत र चीनको भए पनि नेपालको भूभागलाईसमेत चीनले नचिन्ने अवस्था आए पनि नेपालका कम्युनिष्ट पार्टीहरुले विज्ञप्ति निकालेर के भएको भन्ने जानकारीसमेत लिन चाहिरहेका छैनन् । 

तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ जेठ ५ गते नयाँ नक्सा पास गरेर ७ गते सार्वजनिक गरेको थियो । 

सरकारको मन्त्रिपरिषदबाट स्वीकृत नक्साअनुसार निशान छाप परिवर्तन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधनको विधेयक दर्ता गरेको थियो ।

विधेयक माथिको दफावार छलफलपछि २०७७ जेठ ३१ गते संसदबाट नयाँ नक्सा अनुमोदन भएको थियो । 

यो नक्सा संसद्को दुई तिहाई भन्दा बढी मतले अनुमोदन भएको थियो । त्यतिबेला संसदमा उपस्थित सबै २५८ जना सांसदले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका थिए । 

अहिले भने कुनै पनि दलले चीनको नक्सामा नेपालको भूभाग समेटिँदा पनि मौन रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ