arrow

मिनी महाधिवेशनको झल्को

चुनाव प्रदेशको, लडाइँ विष्णु र शंकरको, कोशीमा को हावी ?

कोशीमा केपीदेखि विद्यासम्म र सुवासदेखि योगेशसम्मको खेल, आधादर्जन बढी आकांक्षी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
bishnu-poudel-shankar-pokharel-uml.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेले सात ओटै प्रदेशमध्ये लुम्बिनीपछि कोशी प्रदेशको अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ । सात प्रदेशमध्ये लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न हुँदा उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्षधरले झिनो मतले विजयी भएका छन् जसले गर्दा कोशीमा महासचिव शंकर पोखरेल पक्षले आफ्नो कब्जामा राख्नैपर्ने बाध्यता रहेका हुँदा महत्वका साथ हेरिएको छ । 

प्रदेशको नाम कोशी राखेपछि पहिचानका नाममा एमालेमाथि ठूलै प्रहार भैरहेको र त्यहाँ जनजाति समुदायले आफ्नो वर्चश्व कायम राख्नुपर्ने अर्को बाध्यता रहेका कारण पनि कोशी एमालेका लागि असजिलो बन्दै गएको छ । 

एमालेको गढ मानिएको कोशीमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनमा हस्तक्षेप नै गर्ने संभावना रहेको छ । कोशी प्रदेशको अधिवेशन असोज १२ र १३ गते निश्चित भएसँगै त्यो प्रदेशमा अध्यक्षका लागि नेताहरुले अध्यक्ष ओली, उपाध्यक्षहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, उपमहासचिव पुथ्वी सुब्बा गुरुङसम्म पहुँच मार्ग विस्तार गरेका छन् ।  

प्रदेश अध्यक्षलाई पोलिटब्युरो सदस्य सरहको मान्यता दिएपछि कार्यकारी पद रहेको प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य र पोलिटब्युरोसम्मका नेताहरुले आँखा लगाउँदै कोशीको नेतृत्वका लागि नेताहरुको रस्साकस्सी कायम रहेको छ । 

अन्य प्रदेशको तुलनामा कोशी प्रदेश एमालेका शक्तिशाली नेताहरुको क्षेत्र पनि हो । अध्यक्ष ओली, निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्ष नेम्वाङ, सचिव योगश भट्टराई, स्थायी समिति सदस्यहरु भीम आचार्य, शेरधन राई, लालबाबु पण्डित, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाङ्फे, विजय सुब्बा लगायतका नेताहरु यो प्रदेशमा नेतृत्व गरिरहेका छन् । 

कोशी प्रदेशको अधिवेशन गराउन एमाले सचिव रघुवीर महासेठ खटिएका छन् । उनले सकेसम्म अधिवेशनको नेतृत्व सर्वसम्मत रुपले चयन गराउने बताएका छन् । ‘सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन हुन्छ, सबैतिरबाट सर्वसम्मत नेतृत्वको कुरा उठिरहेको छ’, सचिव महासेठले भने । 

एमालेले अधिवेशनमा प्रतिनिधि चयनको मापदण्ड र क्षेत्र निर्धारणसमेत गरेको छ । सो अनुसार प्रतिनिधि चयनका लागि पालिकालाई निर्वाचन क्षेत्र तोकिएको छ भने कमिटीमा युवा सहभागीताको सुनिश्चितता गर्नुपर्ने निर्णय गरेको छ । 

सो अनुसार प्रदेशमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा र टोलमा एकतिहाई युवा प्रतिनिधित्वको सुनिश्चित गरेको छ । यो मापदण्डलाई आधार मान्दै अहिले हरेक प्रदेशमा नेताहरुको प्रतिनिधि छनोटलाई समेत ध्यानमा राखेर आफ्नो पक्षमा पल्लाभारी बनाउने योजना बनाउन थालेका बेला कोशी प्रदेशमा महासचिव पोखरेल पक्षधरुहरुले आफ्नो तर्फका प्रतिनिधि छनोटमा जोड दिइरहेका छन् ।

कोशी प्रदेशमा अहिलेसम्म पोलिटब्युरो सदस्य विशाल भट्टराईसहितका नेताहरुले आकांक्षा देखाएका छन् । एमालेका केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज विनोद ढकाल अहिलेका अध्यक्ष तुलसी न्यौपाने, मोरङका पुराना नेता घनश्याम खतिवडा र उपाध्यक्ष टिकाराम चेम्जोङले पनि अध्यक्षको चाहना राखेका छन् । 

उनीहरु सबै ओली पक्षधर भए पनि महासचिव पोखरेलको पक्षमा भने पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, कोशीका मुख्यमन्त्रीसमेत भएका हिक्मत कार्की लगायतका नेताहरुले लबिङ गरिरहेका छन् । 

कोशीमा सुवास नेम्वाङ मौन बसिरहेका छन् । पूर्व राष्ट्रपति विद्या भण्डारीको साथले अघि बढ्न खोजेका विशाल भट्टराई पनि मौन रहेका छन् । 

लुम्बिनी प्रदेशको निर्वाचनले अन्य प्रदेशमा पनि निर्वाचन गर्ने, प्रतिस्पर्धा गर्ने ढोका खोलिदिएकाले उनीहरु सबै मैदानमा आउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

कोशीका आकांक्षीहरुमध्ये ढकालको पृष्ठभूमि अनेरास्ववीयूको केन्द्रीय उपाध्यक्ष हुँदै मोरङको पार्टी सचिव, दुई पटक जिल्ला अध्यक्ष रहेका भए पनि उनलाई ओलीले तत्काल विश्वास गरिहाल्ने अवस्था नरहेको स्रोतको दाबी छ । 

वर्तमान अध्यक्ष न्यौपाने जिल्ला विकास समिति संखुवासभा सभापतिदेखि प्रदेश सांसद र प्रदेश मन्त्री भैसकेका छन् । चेम्जोङ चाँहि संघीय सांसद भैसकेका छन् । उनीसँग पार्टीको जिल्ला प्रमुखको रुपमा काम गरिसकेको अनुभव छ । खतिवडा भूमिगत कालदेखि नेकपा (एमाले) का समर्पित नेता हुन्  । 

उनी पनि संघीय सांसदसमेत भैसकेका व्यक्ति हुन् । विशाल भट्टराई स्ववीयू सभापति, अनेरास्ववियूको केन्द्रीय सदस्य, पार्टी सचिव, संघीय सांसद, केन्द्रीय सदस्य हुँदै अहिले झापा जिल्लाको इन्चार्जको रुपमा प्रकट भएको व्यक्ति हुन् । उनी सर्वसम्मत हुने अवस्थामा मात्रै अध्यक्षमा जाने तयारी छ । 

केन्द्रीय सदस्य नै प्रदेशको उम्मेदवार बनेपछि केन्द्रीय सदस्य पद स्वतः खारेजी हुने भनेपछि ढकाल वा खतिवडाले जित्ने अवस्था नहुने भयो भने प्रदेशमा ओर्लिन सक्ने संभावना निकै कमजोर छ । 

लुम्बिनी प्रदेशको अधिवेशन सकिएपछि बाँकी रहेका ६ प्रदेश र उपत्यकाले पनि अधिवेशनका लागि आ–आफ्नै तयारी अघि बढाएका छन् । त्यसैगरी मधेस प्रदेशको अधिवेशन असोज ५–६ गते गर्ने तयारी थियो तर त्यसलाई सारिएको छ ।  

असोज ८–९ बागमती प्रदेशको अधिवेशनको तयारी छ । १०–११ कर्णाली प्रदेश, असोज १२–१३ कोशी, असोज १५–१६ गण्डकी र असोज १९–२० उपत्यका विशेषको अधिवेशन तयारी छ । 

असोज २१–२२ गते सुदूरपश्चिम प्रदेशले अधिवेशनको तयारी गरेको छ । अहिलेको अवस्थामा देशभर नै पौडेल र पोखरेल पक्षधरबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

जसले गर्दा प्रदेश अधिवेशनले एमाले भित्र मिनी महाधिवेशनको झल्को दिन थालेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ