arrow

वीपी नै मेरो राजनीतिक प्रेरणाको स्रोत – देउवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
sherbahadur-deuba-2080-05-24b.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक वीपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन् । 

पार्टीले आयोजना गरेको आजदेखि प्रारम्भ भएको तीन दिने ‘वीपी साहित्य महोत्सव’ को उद्घाटन समारोहमा उनले वीपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरे । 

सभापति देउवाले भने, “उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधैँ अजर र अमर नक्षेत्रको रुपमा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडेका छौँ ।”

वीपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको उल्लेख गर्दै उनले नेपालका सबै राजनैतिक दलहरुले कुनै न कुनै दृष्टिकोणले आज पनि वीपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएको बताए । 

महोत्सवले वीपीले प्रतिपादन गरेको राजनीतिक विचार, उनका साहित्यिक कृति, उनले भोग्नु परेका सङ्घर्षमय जीवन गाथा र उनको सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणलगायतका विविधि पक्षमा आजको युवा पुस्तालाई गहिरो ज्ञान बाँड्नेमा सभापति देउवाले विश्वास व्यक्त गरे ।

“वीपी सादा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । हामीले उहाँलाई भेट्दा तिमीहरु ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थ्यो । उहाँले मार्क्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग र आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई आवश्यक ठान्नुहुन्थ्यो”, सभापति देउवाले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ