लिबाङ (रोल्पा)। विगतका वर्षहरुमा तिहारका बेला सधैं निरास र मलिन अनुहारमा देखिने ह्वामा ९ बाजाका तिलवीर कामी यसवर्ष भने निकै खुशी र उत्साहित देखिन्छन् । कुनै समयमा आय आर्जनको बाटो नहुँदा मुस्किलले एक छाक पेटभरी खाएर जीवन गुजार्दै आएका कामीको जीवनमा छोटो समयमै ठूलो परिवर्तन आएको छ ।
साँझ बिहानको छाक टार्नकै लागि केहीवर्ष अगाडिसम्म अरुको वाख्रा चराउदै वन वनमा बिरहका गीत गाउँदै हिड्थे उनि । सम्पत्तीको नाउमा एक त भिरालो जमीन त्यसमा पनि जंगलको वीचमा उनको सानो घर थियो । आयश्रोतका बाटाहरु नहुँदा उनलाई दैनिक जीवन यापन गर्न हम्मे हम्मे पर्ने गरेको कामीको भनाई छ । साँझ खायो बिहान के खाने बिहान खायो साँझ के खाने भन्ने कुरा नै उनको सबै भन्दा ठूलो चिन्ताको विषय बनेको थियो त्यतीबेला । चाडपर्वका बेला होस् वा अन्य समयमा घरमा पाहुना आउँदा एकातिर आफूला्ई खुशी लाग्ने भएपनि अर्को तिर दुःखी हुने गरेको उनले बताए । उनका अनुसार चोर्न मिल्दैन पाहुँनालाई भोकै राख्न पनि भएन यसै कुराले पाहुना आउदा कामीको मन साह्रै पिरोलिरहन्थ्यो ।
सानो परिवार भएका कामीकी श्रीमतीको केहीवर्ष पहिले मृत्यू भइसकेको छ भने हाल उनको परिवारमा दुइ छोरा, एक छोरी, बृद्ध भाउजु र उनि छन् । बृद्ध भाउजुले कुनैपनि काममा सघाउन नसक्ने उहाको भनाइ छ । तरपनि सानै परिवार चलाउन गाह्रो भएका कामीलाई पाहुना आउँदा शिरमाथि पहाड खसेजस्तो हुन्थ्यो । यसरी दुःख सुखका वीच जीवन गुजार्दै आएका कामीले आज भन्दा केही वर्ष पहिले गाउँकै दिलै पुन मगरको ३ वटा भेडा र ४ वाख्रा गरी जम्मा ७ वटा वस्तुभाउ अधियामा लिएर पाल्न सुरु गरेको बताए।
त्यसै समयमा उनको गाविसमा गरिवी निवारण कोषको कार्यक्रम लागु भएको स्मरण गर्दै उनले आफूपनि कोषको वाजा सामुदायिक संस्थामा कोषध्यक्षको रुपमा आबद्ध हुने अवसर पाएको बताए । त्यसपछि उनको जीवनमा बिस्तारै सफलता र खुशीका रेखाहरु कोरिन थाले । कोषले उक्त समूहलाई आय आर्जनका लागि अनुदान दिएपछि उनले वाख्रा पालनको लागि १८ हजार रुपौंया ऋण लिएर केही समयपछि अधियामा पालेका ७ वटै भेडावाख्रा आफनो बनाए । त्यसपछिका दिनमा बिस्तारै बिस्तारै उनको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन थालेको गरिवी निवारण कार्यक्रमका सामाजिक परिचालक मूलमान मगरले जानकारी दिए ।
कामीले हाल सम्म दैनिक खर्च, छोराछोरीको विद्यालय खर्च, औषधी उपचार खर्च लगायत अन्य सम्पूर्ण खर्च कटाएर करिव ५० वटा जति भेडाबाख्राबाट ४ लाख बढी आम्दानी गरिसकेका छन् भने अझै उनिसंग केही भेडाबाख्राहरु बाँकी नै छन् । यसरी उनले सामुदायिक संस्थाबाट लिएको ऋण पनि सबै फिर्ता गरीसकेको जानकारी दिदै भने गरिवहरुकै लागि संचालन भएको यो कार्यक्रमले मलाई मात्र नभइ म जस्ता गरीवहरुलाई साँच्चै ठूलो गुण लगाएको छ । यो कार्यक्रम हाम्रो जीवनमा मात्र होइन हाम्रा छोरानातिको पाला सम्म पनि पुस्तौ पुस्ता चलिरहोस् ।
यसरी जिल्लामा २०६३ साल बैशाखबाट सहयोगी संस्था माफृत संचालनमा रहेको कार्यक्रम हाल जिल्लामा ५ वटा सहयोगी संस्था मार्फत ४२ गाविसमा बिस्तार भइसकेको गरिवी निवारण कोषका कार्य प्रवन्धक दीपक के.सी.ले जानकारी दिए । उनका अनुसार यसै आर्थिक वर्षभित्र यो कार्यक्रम जिल्लाका सबै गाविसमा संचालनमा ल्याउने लक्ष्य लिइएको छ ।
यो कार्यक्रमले गरिवीको रेखामुनी रहेका गरीव घरधुरी पहिचान गरी उनीहरुको मागमा आधारित रहेर आयआर्जन र भौतिक पूर्वाधारका कार्यक्रमहरु संचालन गर्दै आएको छ । जस अन्तर्गत जिल्लामा आय आर्जन तर्फ पशुपालन, तरकारी खेती, किराना पसल, आदि संचान हुँदै आएको छ भने भौतिक पूर्वाधार तर्फ सिंचाई, खानेपानी, सानालघु जलविद्युत, विद्यालय भवन, बाटोघाटो, पुलपुलेसो आदि निर्माण कार्य सम्पन्न गर्दै आएको छ । यस कार्यक्रमबाट जिल्लामा हालसम्म ५ सय ४५ सामदायिक संस्थामा आबद्ध १६ हजार २ सय ५७ घरधुरी लाभान्वीत भइसकेको के.सी.ले बताए ।
भनिन्छ मेहनतको फल जति मीठो हुन्छ मेहनत गर्न त्यति नै कठिन हुन्छ । तर लगनशील भएर आफ्नो काममा इमान्दारीताका साथ लागे अवश्य सफलता हात पार्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् कामी । वर्षेनी घरपरिवार छोडरे खाडी मुलुकमा जाने युवा वर्गका लागि उहाँ गतिलो उदाहरण बनेको देख्न सकिन्छ । यसरी नै हरेक रोल्पालीले देशमै श्रम खर्चिन सकेमात्र नयाँ नेपालको परिकल्पना साकार बन्न सक्नेमा दुइ मत छैन ।