काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले केही बेरमै पशुपतिनाथ मन्दिरमा लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्दैछन् ।
बिहान ९ बजेदेखि सुरु हुने उनको पूजाका लागि पशुपतिनाथ मन्दिर वरिवरि निकै शान्त वातावरण रहेको छ ।
पशुपति क्षेत्र वरिपरि गल्लीगल्लीमासमेत सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।
सर्वसाधारणको उपस्थिति न्यून छ भने सडकमा सवारीसाधन समेत गुडेका छैनन् । बिहान ८ः१५ बजेदेखि नै पशुपति क्षेत्र शान्त छ ।
दर्शनार्थीलाई पशुपति दर्शन गर्नसमेत दिइएको छैन ।
पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले उनको स्वागतमा विशेष स्वस्ति वाचन गर्ने कार्यक्रम छ ।
गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उनको स्वागत गर्नेछन् ।
राष्ट्रपति मुखर्जी गौशाला चोकबाट पशुपति परिसरमा प्रवेश गरेपछि उनको स्वागतमा धिमे बाजा, पञ्चेबाजालगायत बाजागाजा एवम् मौलिक धुन प्रस्तुत गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
स्थानीयवासी एवम् दर्शनार्थीले पशुपति परिसरमा उभिएर राष्ट्रपति मुखर्जीको स्वागत गर्नेछन् ।
यो विशेष पूजालाई मध्यनजर गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
राष्ट्रपति मुखर्जी पशुपति दर्शन विधिअनुसार पशुपति परिक्रमा गरी गर्भगृहमा प्रवेश गरेर विशेष पूजा सकी फर्केपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि कोषकातर्फबाट उनलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिनेछ ।
भारतीय राष्ट्राध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्न लागेका हुन् । यसअघि पूर्वराष्ट्र«पति के आर नारायणन्ले विसं २०५५ जेठमा पशुपतिमा फर्माइसी पूजा गरेका थिए ।
पशुपतिनाथ मन्दिरलाई द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारत एवम् विश्वभरका हिन्दू धर्मावलम्बीको विशेष आकर्षणको केन्द्र भन्ने गरिएको छ ।
राष्ट्रपति मुखर्जीले कम्तीमा एक घण्टा पशुपतिमा पूजा गर्ने पनि जनाइएको छ ।