arrow

ढकमक्क सयपत्री

पालिका किसानमैत्री नभएपछि लुहासुरका पुष्प व्यवसायी मर्कामा

logo
नारायण वली,
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
lokendra roka.jpg

रुपन्देही । घोराही उपमहानगरपालिका वडा नं १४ लुहासुरमा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ । ५ वर्ष पहिले जलजला पुष्प खेती नाम राखेर घर अगाडि करेसाबारीबाट शुरु गरेको फूलखेतीलाई हाल २ बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ ।

जिल्लालाई सयपत्री फूलमा ‘व्यावसायिक फूलखेती’ गरेर नमूना बनाउने योजनाका साथ बैदेशिक जीवनलाई बिट मारेर स्वदेशै केही गर्छु भन्ने उद्देश्यले फूलखेतीलाई अगाडि बढाएका लोकेन्द्र रोका मगरले हालसम्म पालिकाबाट कुनै प्रोत्साहन एवं बजारीकरणमा सहयोग नपाएको बताउँछन् । 

किसान मगर भन्छन्, बर्सेनि तिहारका लागि भारतबाट करोडौँ लागतमा आयात गर्नुपर्ने बाध्यतालाई चिर्दै नेपाली मुद्रालाईसमेत बाहिरिन नदिने गरी स्वदेशमै जोखिम मोलेर फूलखेतीमा होमिँदा पालिकाबाट प्राविधिक न, बजारीकरण सहजीकरणात्मक नीति निर्माणमा कुनै सहयोग नगरेको दुःखेसो पोखे । 

यस्तै दुःखेसो छ, घोराही उपमहानगरपालिका १३ डुम्मरगाउँकी फूलखेती किसान ईन्दिरा बुढाको । १५ कठ्ठा क्षेत्रफल जग्गामा फूलखेती गरेकी बुढा भन्छिन्, 'महिला उद्यमी भएर गाउँमै केही गर्छु भनेर लगानी लगाएर लागेँ । यो लगानी आफ्नो व्यक्तिगत नामका लागि मात्रै नभएर सिंगो पालिकासँग जोड्दै घोराहीलाई प्लाष्टिकका मालामुक्त र परम्परागत सयपत्री फूलको मालालाई प्रोत्साहन गर्दै तिहार र अन्य कुनै पनि कार्यमा प्रयोगगरी मौलिकता जोगिने थियो ।'
 
“यसवर्ष आफ्नो मात्रै झण्डै ३० हजार सयपत्रीका माला उत्पादन हुने अनुमान छ', किसान मगरले भने, 'यस वर्ष हावापानी राम्रो भएकाले फूलको उत्पादन पनि सोचेजस्तै भएको छ । यद्यपि स्थानीय पालिकाले प्लाष्टिकका मालालाई बजारमा बिक्री वितरण गर्न निरुत्साहित गर्याे भने स्थानीय उत्पादन सयपत्री मालाले राम्रो बजारीकरण पाउने विश्वास लिएको छु ।' 

'पोहोर साल मालाको माग धान्न धौधौ भएको थियो, त्यसैलाई मध्यनजर गरी यसपाली जग्गाको क्षेत्रफल पनि बढाएर गरेको हुँ ।  यस वर्ष बारीमा ढकमक्क सयपत्री फुलेका छन् । विडम्वना, हालसम्म कोही कसैले पनि अग्रिम मालाको अर्डर गरेका छैनन्', उनले भने । 

घोराही १४ का अर्का फूलखेती किसान दीपेन्द्र खड्काले घोराहीलाई फूलैफूलको पालिका बनाउने योजनाअनुरुप पालिकाभित्रका विभिन्न वडाका झण्डै ७, ८ जना कृषकहरु व्यावसायीक रुपमा लागिपरेको जनाए । 'अधिकांशले जग्गा लिजमा लिएर फूलखेतीलाई विस्तार गरेका छौँ, बजार भाउ र मौसम हाम्रा मुख्य चुनौती हुन् ।'

व्यावसायीकरुपमा फूलखेतीमा तल्लिन भएका सोही पालिका अन्तर्गत हापुरका ससी बिकले डेढ बिगाह, वडा नं ४ सुनपुरका भिमप्रकाश वलीले ५ कठ्ठा र वडा नं १५ भरतपुरका दशरथ साउदले डेढ बिगाह क्षेत्रफलमा फूलखेतीलाई आयआर्जन र कृषिलाई उत्कृष्ट बनाउनेगरी अगाडि बढेका छन् ।

उनीहरु भन्छन्, 'फूलखेतीमा परामर्श र प्राविधिकको व्यवस्था आफै गरेका छौँ ।'

सयपत्री फूलबाटै आत्मनिर्भर बन्ने आफूहरुको योजनालाई उपमहानगरले कुनै सहयोग नगरेको दुःखेसो पोख्दै उनीहरुले आर्थिक सहयोग नचाहिने तर पालिकाभित्र आयातित र प्लाष्टिकका मालालाई बिक्री वितरणमा रोक लगाएर स्थानीय सयपत्रीलाई प्रोत्साहन गरिदिए फूलखेतीलाई टेवा पुग्ने बताए । 

यस वर्ष घोराहीका किसानहरुबाट करिव १ लाख भन्दा बढी सयपत्रीका माला उत्पादन हुने अनुमान गरिएको छ । भारतबाट आएको मालालाई प्रतिकिलो १ सय ५० रुपैयाँ पर्ने र स्वदेशी उत्पादनका मालालाई प्रतिकिलो ३ सय रुपैयाँ पर्ने किसानहरुको भनाइ छ । घोराहीमा फूलखेतीमा एक करोड लगानी लगाइएको उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ