arrow

देउवा निवासमा बसेको कांग्रेस बैठकले यस्तो निकाल्यो निष्कर्ष [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
deuba-niwas.jpg

काठमाडौँ । नेपाली कांग्रेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ । 

बुधवार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सङ्घीय गणतन्त्र विरोधी गतिविधिलाई निस्तेज पार्न पनि संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको हो । 

संविधानको कार्यान्वयन नभएकाले सङ्घीय गणतन्त्रमाथि टीकाटिप्पणी हुने गरेकाले त्यसको पूर्ण कार्यान्वयनको पक्षमा क्रियाशील हुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

उनले भने, ‘नेपाली कांग्रेस हामी आफ्नै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको पक्षमा छांै । र, यो संविधानको पूर्ण कार्यान्वयन नभईकन यसका बारेमा टीकाटिप्पणी गर्नु उपयुक्त होइन भन्ने निष्कर्ष छ । र, आज हामी त्यही निष्कर्षमा पुगेका छौं । र, अहिले संविधान कार्यान्वयनमा देखिएको जेजे समस्याहरू छन्, त्यसलाई नै हामीले राजनीतिक रूपमा उठेका प्रश्न भनेका छौं । सङ्घीयताका कुराहरू, सङ्घीयतामा प्रदेशलाई अधिकार दिने कुराहरू, केही कानुनहरू निर्माण गर्न बाँकी छन् । संविधानको पक्षमा नेपाली कांग्रेस प्रतिबद्ध छ । यसलाई कार्यान्वयनमा क्रियाशील भएर लाग्छ भन्ने आजको बैठकले निष्कर्ष निकालेको छ । ’

त्यसैगरी बैठकले पश्चिम नेपालका भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि एकै किस्तामा बजेट दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । 

अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै किस्तामा दिन सरकारलाई सुझाव दिइएको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । 

बैठकमा पार्टी उपसभापति समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खडका र अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावितहरूको राहतका लागि सरकारले गरेका कामबारे बैठकलाई जानकारी गराएका थिए । 

बैठकमा कांग्रेस नेताहरूले भूकम्प प्रभावित क्षेत्रका मानिसहरूको चिसोले ज्यान जानेक्रम शुरु भएकाले त्यसो हुन नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको एजेन्डाबारे पनि छलफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ