arrow

पाँच राउण्ड गोली हानेर काकासँग एक करोड फिरौती मागे भतिजले, तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
pakrau9.jpg

मकवानपुर । मकवानपुरमा रु एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् । 

तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए । 

प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए । 

फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन् । तीनैजना आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

प्रहरी उपरीक्षक रिजालका अनुसार पक्राउ परेको समूहले सूर्यप्रसादको घरमा पाँच राउण्ड गोली प्रहार गरेको थियो । 

घटनाको मुख्य योजनाकार निश्चल रहेको उजले बताए । 

“निश्चलले नै सूर्यप्रसादको घरमा गोली हान्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक रिजालले भने । 

उनीहरुले चलाएको गोलीबाट मानवीय क्षति भने भएको छैन । 

“फिरौती रकम माग्न तर्साउने उद्देश्यले घरको भित्तामा गोली हानेको पाइएको छ”, उनले भने– “फिरौती नदिए जे पनि हुनसक्छ भनेर आरोपितहरुले फोनबाट धम्की दिएको खुलेको छ ।” 

प्रहरीले योजनाकार निश्चलको साथबाट पेस्तोलसहित २० थान गोली बरामद गरेको छ । 

आरोपितहरुले हेटौँडा–४ मा कोठा भाडामा लिएर लागुऔषधको कारोबारसमेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले तीनैजनाको साथबाट दुई मोटरसाइकल, दुई ग्राम खैरो हिरोइन, पाँच थान मोबाइल र रु ५० हजार बरामद गरेको छ । 

पक्राउ परेका तीनै जनामाथि प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ