arrow

हामी सभापतिमाथि भएको आलोचना सुन्न सक्दैनौँ, अब प्रधानमन्त्री बन्दिन भन्नुपर्छ – महामन्त्री शर्मा 

logo
हरि पन्त, 
प्रकाशित २०८० पुष ३ मंगलबार
bishwaprakash-sharma-2080-0.jpg

पोखरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीको सभापतिमाथि भएको आलोचना युवाहरुले सुन्न नसक्ने भन्दै सभापतिले अब प्रधानमन्त्री नबन्ने घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा भइरहेको प्रथम सम्मेलनमा बोल्दै नेता शर्माले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारका पालामा राम्रा काम पनि गरेको भन्दै ती कामको जश लिँदै अब भने प्रधानमन्त्री बन्दिन भन्न सक्नुपर्ने बताए । 

उनले देउवा फेरि प्रधानमन्त्री बन्ने भन्ने कुराले समाजमा नकारात्मक सन्देश गएको भन्दै देउवाले गरेका राम्रा काम पनि छायाँमा परेको भन्दै सभापतिमाथिको आलोचना सुन्न नसक्ने बताएका हुन् । 

महामन्त्री शर्माले भने, ‘देउवाले अब प्रधानमन्त्री बन्दिन भन्नुपर्छ । धेरै राम्रा राम्रा काम गर्नुभएको छ ती सबै केही कुराले छोपिएको छ । हामी सभापतिमाथि भएको आलोचना सुन्न सक्दैनौँ ।’

उनले कांग्रेस सरकारले अघि बढाएका योजनाहरुलाई निरन्तरता दिन सरकारलाई घच्घच्याउनु पर्नेमा जोड दिए । उनले एयरपोर्टले ऋणमाथि ऋण थप्दैछ भन्दै बेलैमा सोच्न पनि आग्रह गरे । 

उनले अबका आयोजना अघि बढाउदा ऋण नलाग्ने गरी अघि बढाउनु पर्नेमा जोड दिए । महामन्त्री शर्माले सम्मेलनले राजनीतिक रुपान्तरण गर्न आवश्यक रहेको भन्दै उमेर होइन अजेन्डा अघि बढाउन पनि सुझाव दिए । 

उनले अबको नीति १, २, ३, ४ अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।  

कांग्रेसभन्दा अगाडि नागरिकका समस्या 

उनले गण्डकी अन्य प्रदेश भन्दा धेरै अघि बढेको, सम्भावनाको हिसाबले समुन्नत रहेको भन्दै कांग्रेस बलियो भन्ने भन्दा पनि नागरिकको समस्या र मुद्दा पहिलो भएकोमा जोड दिन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे । 

उनले जनतामा पुरानो भावनाको र नयाँ विश्वासको कांग्रेस बनाउनुपर्नेमा पनि जोड दिएका छन् । 

नेता शर्माले जनतासँगको दूरी घटाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै भने, ‘कांग्रेससिहत अन्य दलहरु रूपान्तरण हुन आवश्यक छ । देशमा उत्पन्न वितृष्णाका बारेमा सबैले ध्यान दिनुपर्छ । यसलाई चिरेर जानुपर्छ ।’

संस्थागत भन्दा व्यक्ति हावी हुनु हुन्न 

उनले अन्तरविश्वास पार्टीभित्र हुनुपर्ने र यो नै बीपी कोइरालाको पनि नीति रहेको बताए । उनले पार्टीमा संस्थागत भन्दा व्यक्तिगत नीति हावी हुन नहुनेमा जोड दिँदै भने ‘महासमितिमार्फत संस्थागत नीतिका साथ नयाँ दिशामा पार्टी अघि बढाउनुपर्छ ।’

उनले अब महासमितिको मिति सर्नु हुँदैन पनि भनेका छन् । अहिलेसम्म महासमिति बैठक तीन पटक सरिसकेको छ । सरेको मिति अनुसार फागुन ७ देखि हुने कार्यक्रम तय भएको छ । 

उनले अगाडि भने, ‘ठूला ठुला संकट पार गरेर आएको दल हो कांग्रेस, अहिले संकट होइन समस्या छ । समस्या समाधानमा लाग्नुपर्छ ।
संघीयता बलियो बनाउन सबै लाग्नुपर्छ, यो पनि समस्या हो समाधानमा ध्यान दिउँ।’

उनले कांग्रेसलाई मिसन ८४ नलागेको बताए । उनले भने, ‘सबैले मिसन ८४ भन्दैछन्, तर कांग्रेस चिन्तामा छैन । मिसन ८४ को भूत कसैले नपालौँ । अहिलेको अवस्थामा चिन्ता गरौँ । भूकम्प पीडितका समस्याका बारेमा चिन्ता गरौँ ।

नेता शर्माले कुश्मामा रेल आउँछ भन्ने केपी ओलीले हिँडेर यात्रा गरेको भन्दै आलोचना गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ