arrow

जातीय विभेदको घटना

गाउँघरमा दलित महिला कर्मचारीलाई टिक्नै गाह्रो

जातीय भेदभाव, यौनजन्य दुर्व्यवहार र लैङ्गिक हिंसा सहे मात्र सहज

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० पुष ५ बिहिबार
tulsa-mugu.jpg

मुगु । दुनियाँ कहाँबाट कहाँ पुगिसके अझै पनि हामी जातपात, संस्कार, चलन भन्दै अमानवीय कार्य गर्दै आएका छौ । कसैलाई पिडा हुने र दीर्घकालीन प्रभाव पार्ने नेपालका कानुन विपरीतका यस्ता कुसंस्कार अझै पनि दुर्गम गाउँ बस्तीहरूमा कायम रहिरहँदा त्यसोको प्रत्यक्ष सिकार कथित तल्लो जात भनिएकाहरू, निरीह व्यक्ती र महिलाहरू भइरहेका छन् । अरू त सिकार भए भए यस्ता कुसंस्कारबाट पढेलेखेका र सरकारी तथा गैर सरकारी क्षेत्रमा नोकरी गर्न दुर्गम गाउबस्तिमा खटिने महिला कर्मचारीहरू नै सिकार हुँदै आएका छन् ।

मुगु जिल्ला सोरु गाउँपालिका स्वास्थ्य चौकी खनायामा कार्यरत अनमी तुल्सा विश्वकर्माले आफू माथि भएको जातीय भेदभाव, लैगिक हिंसा र यौन दुर्व्यवहार बारे मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापा, सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाही, उपाध्यक्ष केशरजङ्ग शाही र पत्रकारहरूको अगाडि सार्वजनिक गरेसँगै ग्रामीण तथा दुर्गम क्षेत्रमा महिला कर्मचारी माथि हुने अनेकौँ हिंसा, भेदभाव र दुर्व्यवहार खुलासा भएको हो ।

अनमी विश्वकर्मा भन्छिन्, 'गाउँमा हुने भेदभाव, हिंसा, दुर्व्यवहार भनेर साध्य छैन अझ तल्लो जातका महिला कर्मचारीका पीडा अलगै छन् । महिला भनेपछि केटाहरूले राती राती फोनमा सताउने, फोन न उठाए गाली गलौच गर्ने , बास पाउन समस्या, महिनावारी भए अलग्गै बस्नु पर्ने , दूध, दही, घिउ कदैले नदिने न बेच्ने जस्ता समस्या भोग्नु पर्छ । ११ महिना अघि मुगु आउँदा स्वास्थ्य चौकी खनायामा पदस्थापन भयो त्यो बेला कुन जात थरीको हो कसैलाई चासो भएन स्वास्थ्य चौकी इन्चार्ज सरोज शाहीले आफ्नो घरमा बसाउनु भयो । दिनहरू बित्दै गए उहाँको आमाले मेरो जात विश्वकर्मा भएको थाहा पाएर कोठा छोड्न दबाब दिन थाल्नु भयो । गाउँ भरी खोजे कसैले दिएनन् । गाउँका महिला महिनावारी हुँदा घरभन्दा टाढा ६/७ दिनसम्म बस्छन् कसैलाई केही हुँदैन तर हामी बाहिरको महिला भएर हो या फरक जात भनेर हो युवाहरूले जिस्काउँछन् । एक चोटि स्टाफको जन्म दिनमा कोकसँग रक्सी मिलाई दिए छन् पाटी हो भनेर सामान्य रूपमा लिए त्यो बेलाको भिडियो बनाएर गाउँभरि देखाइएछ । सोरु गाउँपालिकामा सरुवाको लागि कति चोटि भने तर सुनुवाइ भएन । गाउँकै व्यक्ती प्रमुख प्रशासकीय अधिकृतमा वीरेन्द्र मल्ल भन्ने व्यक्ती हुनुहुन्थ्यो । उहाँले मातहतका कर्मचारीको अभिभावकत्व लिनु पर्नेमा उल्टै राती राती फोन गर्ने, दिउँसो कुनजर लगाउने यौनजन्य दुर्व्यवहार गर्न थाल्नु भयो । यतिसम्म जातीय भेदभाव हुन्छ गाउँमा एक चोटि सोरुकोटमा सामान किन्दा साहुजीले नाम सोध्यो सामान अलग्गै राखी लिन भन्यो र पैसा पनि मेरो हात नछोईकन भुईँमा राख्न लगाइ लियो यो बेला रोए मात्र । अर्काको ठाउँ मेरा लागि परदेश नै थियो जागिर खानु थियो कहीँ कतै भनिन ।'

उनले थपिन्, ' बिदाको समय घर दाङ जाँदा आफुले भोगेका सबै कुरा घर परिवारलाई सुनाए अरू कतै भनेको थिइन । सायद घर परिवारले सहन नसकेर कतै मिडियालाई भनी दिएछन् अहिले आएर भाइरल भयो । म त प्रतिनिधि पात्र मात्र हु यहाँ गाउँघरमा आउने महिला कर्मचारीले केही न केही दुख भोगेकै हुन्छन् अर्काको ठाउँ भएकाले सहेर बस्छन् । अझै पनि जति कानुन बनेपनी जति व्यवस्था फेरिए पनि जति बढे लेखे पनि पुरानै सोच, शैली, आचरण, चाल चलन यथावत् छ।'

 एक गैर सरकारी संस्थामा काम गर्ने महिला कर्मचारी भन्छिन्, ' तुल्सा दिदीले भनेको कुरा यथार्थ हो सबै महिला कर्मचारीले केही न केही हिंसा भोगेकै छौ । फिल्डमा जाँदा केटा कर्मचारीबाट यौनजन्य दुर्व्यवहार आफुले सामना गर्नु परेको छ थियो । आदर्शमा जति अधिकार र नारीवादका कुरा गरे पनि धरातलमा फरक छ । अझै महिलामैत्री वातावरण बन्न सकेको छैन ।'

उनले थपिन्, ' विभिन्न आयोग पास गरेर महिला कर्मचारी आउनु हुन्छ उहाँहरू ठुलो सपना देखेर जनताको सेवामा आउनु भएको हो । पालिकालाई महिलामैत्री बनाउन जनप्रतिनिधिहरूले भूमिका खेल्नु पर्ने र गाउँघरमा जातीय भेदभाव, लैङ्गिक हिंसा, यौनजन्य दुर्व्यवहार बारे सचेतना तथा कानुनी उपचार बारे जानकारी दिने दायित्व पहिलो स्थानीय सरकारको हो ।'

यता महिला कर्मचारी मात्र होइन जो कोहीलाई हुने जातीय भेदभाव, लैङ्गिक हिंसा, यौन दुर्व्यवहार स्थानीय प्रशासनका नाताले क्षम्य नहुने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । उनले कानुन बमोजिम कारबाहीको भागेदार हुनुपर्ने सबैलाई विश्वास दिलाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ